
काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको वर्तमान कार्यसमिति स्वतः विघटन भएको निष्कर्षसहित संघलाई पुनः निर्देशनात्मक पत्र पठाएको छ ।
प्रशासनले संघलाई पठाएको दोस्रो पत्रमा वैशाख १५ गते पेस गरिएका राजीनामापत्रहरूको अध्ययनपछि संघको विधानअनुसार कार्यसमितिका दुईतिहाइभन्दा बढी पदाधिकारीले राजीनामा दिएको देखिएको उल्लेख गरेको छ । पत्रमा संघको विधानको दफा २६ (४) (ख) अनुसार यस्तो अवस्थामा वर्तमान कार्यसमिति स्वतः विघटन हुने व्यवस्था रहेको जनाइएको छ ।
यसअघि जेठ १२ गते पनि प्रशासनले यस विषयमा निर्देशनसहित पत्राचार गरेको स्मरण गराउँदै हाल पुनः आवश्यक प्रक्रिया अघि बढाउन भनिएको छ । प्रशासनले कार्यसमिति विघटनपछिको व्यवस्थापनका लागि सल्लाहकार समितिको निर्णयबाट गठन गरिएको प्रबन्ध समिति विधानसम्मत देखिएको समेत स्पष्ट पारेको छ ।
पत्रमा प्रबन्ध समितिलाई विशेष साधारण सभा आह्वान गरी विधानको व्यवस्था कार्यान्वयन गर्न र नयाँ नेतृत्व चयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ । साथै, जेठ १८ गतेअघि नै नयाँ कार्यसमितिको निर्वाचन प्रक्रिया सुरु भइसकेको भए त्यसलाई निरन्तरता दिन पनि भनिएको छ ।
जिल्ला प्रशासन कार्यालयले प्रबन्ध समितिले गर्ने निर्णय, गतिविधि तथा सम्बन्धित विषयहरूको जानकारी नियमित रूपमा लिखित रूपमा कार्यालयलाई उपलब्ध गराउन निर्देशन दिएको छ । साथै, निर्वाचन तथा अन्य प्रशासनिक प्रक्रियामा कुनै व्यक्ति वा समूहले अवरोध सिर्जना नगर्न र त्यस्तो गतिविधि भए तत्काल प्रशासनलाई जानकारी गराउन आग्रह गरिएको छ ।
यसपटकको पत्रको बोधार्थ युवा, श्रम तथा रोजगार मन्त्रालयलाई समेत पठाइएको छ । यसअघि यस्ता पत्रहरू प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालालाई मात्र बोधार्थ दिइएको थियो ।
उता संघका अध्यक्ष भुवनसिंह गुरुङ पक्षले भने जिल्ला प्रशासन कार्यालयको पछिल्लो पत्रलाई ‘अधुरो र अस्पष्ट’ भएको टिप्पणी गरेको छ । गुरुङ पक्षले पत्रमा कानुनी तथा प्रक्रियागत विषय स्पष्ट नभएको भन्दै त्यसबारे आफ्नो असहमति रहेको जनाएको छ ।