२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

संघको अध्यक्षमा करिब आधा दर्जन व्यवसायी आकांक्षी

सबै १७ पदमा प्रतिस्पर्धा गर्ने स्वतन्त्रको भनाइ

Nada
२०८३ जेठ २१ गते ०६:१५
Shares
संघको अध्यक्षमा करिब आधा दर्जन व्यवसायी आकांक्षी

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी नेतृत्वका लागि अध्यक्षसहित पदाधिकारी उम्मेदवारका आकांक्षीहरूको जोडघटाउ सुरु भएको छ ।

ncell

केही व्यवसायीले संघमा प्रबन्ध समिति गठन गरी नयाँ कार्यसमितिको निर्वाचन गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले दिएको पछिल्लो निर्देशन अदालतको आदेशबाट बदर गराउने चर्चा चलाएपछि बुधबार साँझसम्म आकांक्षी व्यवसायीहरूले औपचारिक रूपमा उम्मेदवारी घोषणा भने गरेका छैनन् । 

संघको प्रबन्ध समितिले बुधबार पत्रकार सम्मेलन गरेर जेठ २४ गते नयाँ कार्यसमितिका लागि मतदान गराउने बताएको छ । प्रबन्ध समितिका सदस्य राजेन्द्र भण्डारीले जिल्ला प्रशासनको निर्देशनअनुसार निर्वाचनसहितको विशेष साधारण सभाको प्रक्रिया द्रूतगतिमा अगाडि बढेको जानकारी दिए ।

सम्मेलनमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै भण्डारीले प्रबन्ध समितिले कुनै पनि पक्ष वा विपक्षमा नलागि निष्पक्षरुपमा निर्वाचन सम्पन्न गर्ने उल्लेख गर्दै चुन्ने र चुनिने आफ्नो अधिकार प्रयोग गरेर नयाँ नेतृत्व निर्माण गरिने कार्यमा सरिक हुन सबै व्यवसायीहरुसँग अपिल गरे । प्रबन्ध समितिका सदस्य मधुकर रिजालले सञ्चालन गरेको पत्रकार सम्मेलनमा समितिका अन्य सदस्यहरु जनक रावल, धनलाल जैसी, बिनोदजंग केसी र सोमबदादुर लो तामाङ पनि उपस्थित थिए ।

यसअघि संघको चुनावी प्रतिस्पर्धामा नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन, एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाली कम्युनिस्ट पार्टी निकट गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्च र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन मुख्य प्रतिस्पर्धी रहेकोमा यसपटक सरकार निकट मानिने स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूह पनि थपिएको छ । 

स्वतन्त्र व्यवसायीको उपस्थितिले यसअघिको निर्वाचना प्यानल बनाएर प्रतिस्पर्धा गरेका घटकहरू शक्ति पुनःमूल्यांकनको अवस्थामा देखिन्छन् । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको असन्तुष्ट पक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समिति पनि प्रत्यक्ष–अप्रत्यक्ष रूपमा संघको राजनीतिभित्र उत्तिकै सक्रिय खेलाडीका रूपमा देखिएका छन् ।

संघको निर्वाचनको सन्दर्भमा काठमाडौंका विभित्र क्षेत्रमा भेलाहरू भइरहेका छन् । बुधबार सिनामंगलस्थित व्यवसायी र धौलाश्री समाजको भेला भएका थिए । ती भेलाको उद्देश्य उम्मेदवार छान्नेभन्दा संघमा प्रतिनिधि पठाउने विषयमा केन्द्रित रहेको व्यवसायीहरूको भनाइ छ ।

संघको आगामी निर्वाचनमा एसोसिएसनका तर्फबाट विघटित कार्यसमितिका द्वितीय उपाध्यक्ष देवकुमार खोखाली, मञ्चका तर्फबाट पू्र्वप्रथम उपाध्यक्ष डिक बहादुर खत्री ‘कुमार’ र पूर्वतृतीय उपाध्यक्ष तथा मञ्चका महासचिव मिलन कट्टेलमध्ये एक, एकता समितिका तर्फबाट अध्यक्ष तथा पूर्वप्रथम उपाध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीसहित संघका पूर्वमहासचिव मेघनाथ भुर्तेललगायतको चर्चा बढेको छ ।

स्वतन्त्र व्यवसायीका अध्यक्ष कृष्णप्रसाद ढकालले आफूहरूले ७ पदाधिकारी र १० सदस्य गरी निर्वाचन हुने सबै १७ पदमा उम्मेदवार उठाउने  मध्यान्हलाई बताए ।

कतिपयले संघको विधानअनुसार उक्त संस्थामा अध्यक्षको उम्मेदवार हुन मापदण्ड पुग्ने व्यवसायीको अभाव रहेको टिप्पणी गरेका छन् । तर अध्यक्ष ढकालले अध्यक्षको उम्मेदवार बन्न चाहिने मापदण्ड पुगेका ८ जना व्यवसायी आफूहरूसँग रहेको दाबी गरे । संघको अध्यक्षको उम्मेदवार बन्न कम्तीमा एक कार्याकाल कोषाध्यक्षदेखि माथिल्दो पदमा काम गरेको व्यवसायी हुनुपर्ने व्यवस्था छ ।

संघको गत निर्वाचनमा लोकतान्त्रिक एसोसिएसन र गणतान्त्रिक मञ्चसँगको तालमेलका आधारमा बनेको प्यानलको अध्यक्ष उम्मेदवार निवर्तमान अध्यक्ष भुवनसिंह गुरुङ रहेका थिए ।

अर्कोतर्फ प्रगतिशील मञ्च, लोकतान्त्रिक एसोसिएसनको असन्तुष्ट पक्ष र एकीकृत संगठनबीचको तालमेलमा संयुक्त व्यवसायी समूह बनेको थियो । सो समूहको अध्यक्ष उम्मेदवार संघका पूर्वमहासचिव तथा मञ्चका पूर्वअध्यक्ष नरेश गेलाल रहेका थिए ।

प्रतिद्वन्द्वी गेलाललाई ६१ मतान्तरले हराउँदै अध्यक्षमा गुरुङ विजयी भएका थिए । गुरुङले ४२८ मत ल्याउँदा पराजित गेलालले ३६७ मत ल्याएका थिए ।

यस पटक यो चुनावी गणित परिवर्तन भएको धेरै व्यवसायीको भनाइ छ । अध्यक्षको टुंगो लागेपछि महासचिवसहित अन्य पदको टुंगो लगाइने बताइएको छ । संघको विधानअनुसार बहुमत पदाधिकारीले राजीनामा दिएपछि कार्यसमिति स्वतः विघटन भएको यसपटकको घटनाले यसअघि संघको सदस्यमा विजयी र उम्मेदवार भएका व्यवसायीले कोषाध्यक्ष र सचिवभन्दा माथिल्लो पदमा मात्रै उम्मेदवार बन्ने बताएका छन् । संघमा पदाधिकारीले कार्यसमिति सदस्यको मर्यादा नगर्ने र जिम्मेवारी पनि नदिने भन्दै उनीहरूले सदस्यमा नदोहोरिने बताएका छन् ।

सम्बन्धित खबर