२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

लुकाउन खोजिएको संकट

ADV
२०८१ साउन २५ गते ०६:५०
लुकाउन खोजिएको संकट

प्रतिनिधि सभाको चौथो ठूलो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक समीक्षामा जुटेको छ । पार्टीभित्र देखिएको समस्या पहिचान गर्नेगरी सुरु भएको समीक्षालाई रास्वपाले ‘क्लोज क्याम्प’ भनेको छ । सभापति रवि लामिछाने सहित नेताहरु सहभागी भएर केन्द्रीय क्लोज क्याम्प सञ्चालन गरेको रास्वपामा प्रदेश तहको छलफल सुरु भएको छ । प्रदेश तहको छलफललाई पनि रास्वपाले क्लोज क्याम्प नै भनेको छ । सबै प्रदेशमा क्लोज क्याम्प गर्ने रास्वपाको तयारी छ । क्लोज क्याम्पहरुबाट पार्टीमा देखिएको समस्या पहिचान गर्ने नेताहरुले बताएका छन् । रास्वपाले समीक्षालाई बृहत बनाउनुमा बितेको डेढ वर्षभित्रै उसले खेप्नु परेको संकट कारण रहेको बुझ्न गाह्रो पर्दैन । पार्टी गठनको सात महिनाभित्रै अप्रत्यासित मत पाएर राष्ट्रिय शक्ति बनेको रास्वपाले संसद्मा लगातार संकट खेप्नु परिरहेको छ । 

रास्वपाको सवैभन्दा ठूलो समस्या स्वयं सभापति लामिछाने देखिएका छन् । छोटो समयमै सांसद र चौथो राजनीतिक शक्तिका नेता बन्न पुगेका सभापति लामिछानेले सुरुमा नागरिकता मुद्दा खेप्नु परेको थियो । अमेरिकाबाट फर्केपछि नागरिकता नवीकरण नगरेको मुद्दामा लामिछानेले उपप्रधान एवं गृहमन्त्री सहित सभापति र सांसद पद समेत गुमाउनु परेको थियो । सर्वोच्च अदालतले नागरिकता नवीकरण गर्न आदेश दिएपछि सबै पदबाट मुक्त भएका रवि लामिछानेले फेरि उपचुनावको सामना गर्नु पर्‍यो । यद्यपि उपचुनाव उनलाई थप शक्तिको स्रोत बन्यो । किनकि उपचुनावबाट लामिछाने दोस्रोपटक अझै फराकिलो मतान्तर सहित विजयी भए भने रास्वपाले थप एक सिट बढाएको थियो । 

लगत्तै अर्का सांसद ढाकाकुमार श्रेष्ठको अडियो सार्वजनिक भयो । मन्त्री बन्न ब्यापारीसँग बोलेको अडियो सार्वजनिक हुँदा रास्वपाको आलोचना भयो । यद्यपि ती सांसदलाई नै रास्वपाले निलम्बन गर्‍यो । सांसद हुँदा प्रशंसा पाएका सुमना श्रेष्ठ मन्त्री बन्दा विवादित बनिन् । विदेशी पतिसँग जोडेर उनको आलोचना भएको थियो । फेरि रास्वपाबाट उपसभापति बनेकी इन्दिरा रानामगर विवादित भइन् । अमेरिकी राजदूतावासलाई लेखेको पत्रका कारण उपसभामुख विवादित भएकी थिइन् । यतिमै रास्वपाको काण्ड सकिदैन । सहकारी ठगी प्रकरणमा सभापति लामिछाने संलग्न भएको आरोपमा लामै समय संसद् अवरोध भयो । यस्ता अनेक आरोप खेपिरहेको रास्वपाले आफ्नै महामन्त्री हटाउने निर्णय गरेको छ । यसरी एकपछि अर्को संकटमा परिरहेको रास्वपाले आन्तरिक समस्या हल गर्न भनेर क्लोज क्याम्प चलाइरहेको छ । पार्टीभित्रको समस्या पहिचान गर्न भनिरहेको छ । जबकी समस्या सार्वजनिक रुपमै प्रष्ट छ । त्यसैले सुधार माथिबाटै गरिनुपर्नेमा कुनै अलमल छैन । तर तलका समितिहरुमा समस्या पहिचान गर्न खोजिदैछ, जुन उल्टो काम हो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise