२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

ब्राजिलमा विमान दुर्घटना, पाइलटसहित ६१ जनाको मृत्यु

ADV
मध्यान्ह
२०८१ साउन २६ गते ११:२७
ब्राजिलमा विमान दुर्घटना, पाइलटसहित ६१ जनाको मृत्यु

साओ पाओलो : ब्राजिलको राजधानी साओ पाउलोमा भएको विमान दुर्घटनामा ६१ जनाको मृत्यु भएको छ । विमानमा ५७ यात्रु र चार चालक दलका सदस्य थिए । 

विमान सञ्चालन गर्ने भोपास एयरलाइन्सका अनुसार यो ट्वीन इन्जिन भएको टर्बोप्रप विमान ब्राजिलको दक्षिणी सहर परानाको कास्केभेलबाट साओ पाउलो सहरको ग्वारुल्होस विमानस्थलका लागि गइरहेको थियो । तर विमान भिन्हेडो सहर नजिकै दुर्घटनामा परेको हो ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा एटीआर ७२–५०० विमान आकाशमा अनियन्त्रित भई घुमिरहेको र सिधै तल खसेको देखिन्छ । विमान खसेको वरपर धेरै घरहरू देखिएका छन् । तर, एउटा घरमा मात्रै क्षति पुगेको अधिकारीहरूको भनाई छ । जमिनमा कोही पनि घाइते भएनन्।

फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइटराडार२४ का अनुसार विमान शुक्रबार बिहान ११:५६ बजे कास्कभेलबाट उडेको थियो । डेढ घण्टापछि विमानको अन्तिम संकेत प्राप्त भएको थियो।

ब्राजिलका राष्ट्रपति लुइस इनासियो लुला डा सिल्भाले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । साओ पाउलो राज्यका गभर्नर टार्सिसो गोम्स डे फ्रेटासले तीन दिनको शोकको घोषणा गरेका छन्।

सन् २००७ पछि ब्राजिलमा भएको यो सबैभन्दा ठुलो विमान दुर्घटना हो । २००७ मा साओ पाउलोमा टीएएम एक्सप्रेस विमान दुर्घटनामा १ सय ९९ जनाको मृत्यु भएको थियो। एयरलाइन्स कम्पनी एटीआरले विमान दुर्घटनाको अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएको छ ।

ब्राजिलको नागरिक उड्डयन एजेन्सीले उक्त विमान सन् २०१० मा निर्माण भएको र राम्रो अवस्थामा रहेको बताएको छ ।
-एजेन्सीको सहयोगमा 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise