
नेपालमा पछिल्ला वर्षमा मानसिक स्वास्थ्य समस्याबाट प्रभावित हुने व्यक्तिहरूको संख्या बढ्दो क्रममा छ । आर्थिक असुरक्षा, हिंसा, बेरोजगारी, वैदेशिक रोजगारीका कारण हुने पारिवारिक विछोड, मानसिक स्वास्थ्य सेवामा सीमित पहुँच तथा जनचेतनाको कमी यसका प्रमुख कारण हुन् । यस्ता कारणले व्यक्तिमा तनाव बढ्नु, अत्यधिक चिन्ता हुनु, डिप्रेसनलगायत विभिन्न मानसिक समस्या देखा पर्न सक्छन् । समस्या थप जटिल बन्दै गएमा व्यक्तिले आत्महत्याजस्तो गम्भीर कदमसमेत चाल्न सक्ने अवस्था सिर्जना हुन सक्छ ।
हालको अवस्थामा सामाजिक सञ्जालको अत्यधिक प्रयोग, साइबर बुलिङ, अरूसँग निरन्तर तुलना गर्ने प्रवृत्ति, छिटो सफलता प्राप्त गर्ने चाहना, धैर्यको कमी तथा भविष्यप्रतिको अनिश्चितताले विशेषगरी किशोर–किशोरी र युवाहरूको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेको देखिन्छ । मानसिक स्वास्थ्य निदान तथा प्रवर्धन गर्न व्यक्ति आफैं, उसको परिवार, समाज र समग्र राष्ट्रको भूमिकामा निर्भर रहन्छ ।
मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य स्थापनार्थ नेपाल सरकारको नीतिगत व्यवस्था भएता पनि त्यसको कार्यन्वयन अवस्था कमजोर छ । पर्याप्त बजेटको अभावमा नीतिगत रूपमा बोले तापनि कार्यक्रम र यससम्बन्धी जनस्तरमा हुनुपर्ने गतिविधि, बहुपक्षीय सरोकारवाला निकायबीचको पारस्परिक समन्वय र एकीकृत कार्यक्रमको अभाव देखिन्छ । फलस्वरूप सबैले आ–आफ्नो तहबाट कार्यक्रम गरेको भए पनि यसको प्रतिफल सोचेजस्तो आउन सकेको छैन । कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश स्तरको आफ्नै मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति बनाई सिएमसी नेपाललगायत विभिन्न स्वास्थ्य विकास साझेदारसँगको सहकार्य समन्वय र साझेदारीमा रणनीतिको कार्यान्वयन तहमा गएको छ । तर, पर्याप्त बजेट अभाव, दक्ष जनशक्तिको अभाव र अन्तरमन्त्रालयबीच हुनुपर्ने समन्वय र सहकार्यको अभावले मानसिक स्वास्थ्य, मनोसामाजिक परामर्श सेवा आत्महत्या रोकथामलगायत विषयमा यसले आशातीत उपलब्धि ल्याउन सकेको छैन । त्यसका अलावा आत्महत्या र आत्महानिको समाचार सम्प्रेषण र प्रकाशनमा सञ्चारकर्मीले कभरेजका नाममा यस्ता घटनालाई संवेदनशील रिपोर्टिङमा ध्यान नदिनुले पनि समस्या थपेको छ । अब राज्य वा यस क्षेत्रमा काम गर्ने संघसंस्था मात्रै नभई मानसिक स्वास्थ्य र आत्महत्या रोकथाम जनस्वास्थ्य प्रमुख सरोकारको विषय बनाई एकीकृत कार्यक्रम बनाई विद्यालय, समुदाय र कार्यस्थलबाट नै सम्बोधन गरिनुपर्ने देखिन्छ । मानसिक स्वास्थ्य कुनै एक व्यक्तिको मात्र जिम्मेवारी वा स्वास्थ्य संस्थाले मात्र समाधान गर्न सक्ने विषय होइन । यसको संरक्षण, समस्या पहिचान, उपचार तथा पुनःस्थापनामा व्यक्ति स्वयं, परिवार, समुदाय र राज्य सबैको साझा भूमिका हुन्छ ।
व्यक्तिको भूमिका
मानसिक स्वास्थ्यको पहिलो जिम्मेवारी व्यक्ति स्वयंमा निहित हुन्छ । आफ्नो भावनात्मक अवस्था बुझ्ने, तनाव तथा मानसिक समस्याका संकेतहरू समयमै पहिचान गर्ने, व्यक्तिगत सीमा निर्धारण गर्ने, स्वस्थ जीवनशैली अपनाउने तथा आवश्यकता पर्दा विशेषज्ञ वा विश्वासिला व्यक्तिको सहयोग खोज्ने व्यक्तिको महत्वपूर्ण दायित्व हो । नियमित व्यायाम, पर्याप्त निद्रा, सन्तुलित आहार तथा सकारात्मक सोचले मानसिक स्वास्थ्य सुदृढ बनाउन मद्दत गर्छ ।
परिवारको भूमिका
परिवार मानसिक स्वास्थ्यको सबैभन्दा नजिकको सहयोगी प्रणाली हो । परिवारबाट प्राप्त माया, सहयोग, सम्मान, सुरक्षा र भावनात्मक साथले व्यक्तिको आत्मविश्वास बढाउँछ तथा कठिन परिस्थितिसँग सामना गर्ने क्षमता विकास गर्छ । परिवारका सदस्यहरूबीच खुला कुराकानी, आपसी समझदारी र सहयोगी वातावरणले मानसिक स्वास्थ्य समस्याको रोकथाम तथा सुधारमा महत्वपूर्ण योगदान पुर्याउँछ ।
समाजको भूमिका
मानसिक स्वास्थ्यप्रति सकारात्मक धारणा विकास गर्न समाज र समुदायको महत्वपूर्ण भूमिका हुन्छ । मानसिक समस्यासँग जोडिएको कलंक, भेदभाव तथा सामाजिक बहिष्करणले प्रभावित व्यक्तिलाई उपचार र पुनःस्थापनाबाट वञ्चित गर्न सक्छ । त्यसैले समुदाय स्तरमा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि, मनोसामाजिक सहयोग, साथी सहयोग तथा आवश्यक सेवा र स्रोतहरूको पहुँच विस्तार गर्नु आवश्यक छ । सहयोगी र समावेशी समाजले मानसिक स्वास्थ्य प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्छ ।
राष्ट्रको भूमिका
राष्ट्रले मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्य सेवाको महत्वपूर्ण अंगका रूपमा प्राथमिकता दिनुपर्छ । यद्यपि नेपालमा मानसिक स्वास्थ्य सेवा विस्तार हुने क्रममा रहे पनि पर्याप्त जनशक्ति, पूर्वाधार तथा औषधिको अभावका कारण सेवा सबै नागरिकसम्म प्रभावकारी रूपमा पुग्न सकेको छैन । त्यसैले प्रभावकारी नीति निर्माण, पर्याप्त बजेट विनियोजन, दक्ष जनशक्ति उत्पादन, गुणस्तरीय सेवा विस्तार, आवश्यक औषधिको सुनिश्चित उपलब्धता तथा मानसिक स्वास्थ्य सेवालाई प्राथमिक स्वास्थ्य सेवासँग एकीकृत गरी सञ्चालन गर्नु आवश्यक छ ।
(शर्मा मनोविद् हुन् ।)