२०८३ कार्तिक १० गते मङ्गलवार / Oct 27 , 2026 , Tuesday
२०८३ कार्तिक १० गते मङ्गलवार

वामपन्थी, जेनजी र कक्रोच आन्दोलन

Nada
दामोदर अर्याल
२०८३ साउन १० गते ०६:०५
Shares
वामपन्थी, जेनजी र कक्रोच आन्दोलन

सन १७८९ तिर फ्रेन्च राष्ट्रिय सभामा राजा र चर्चको पक्षमा बोल्ने पुरातनवादीहरू दायाँतर्फका कुर्चीहरूमा बसे । त्यसैगरी जनताको आवाज बोल्दै तत्कालीन व्यवस्थाको विपक्षमा र सामाजिक समानताको पक्षमा बोल्ने क्रान्तिकारीहरू बायाँतर्फका कुर्चीमा बसे । त्यो सिट व्यवस्थापनलाई एउटा प्रतिक मान्दै राजनीतिमा वाम शब्दको प्रयोग हुन थालेको भनिन्छ । तर, वामपन्थी हुनु भनेको पक्षधरताले मात्र निर्धारण गर्ने कुरा होइन । यो त तत्कालीन सांस्कृतिक, आर्थिक, सामाजिक र राजनीतिक प्रबन्धहरूलाई विस्थापित गर्दै त्यसको ठाउँमा समानता र सहभागितामा आधारित नयाँ प्रबन्धहरूको स्थापना गर्न प्रयत्न गर्ने एउटा सोच हो । यो सोच मानव समाजका सबै कालखण्डमा प्रकट भएको छ र हुन्छ । 

शब्दका हिसाबले फ्रान्सेली राष्ट्रिय सभाबाट उत्पत्ति भयो होला, यसको व्याख्या माक्र्स तथा अन्यले पनि गरे होलान् । तर, मानिस अभ्युदयको प्रारम्भिक कालदेखि नै उसको मस्तिष्कमा वामपथ निरन्तर छ । अर्थात्, ऊ निरन्तर पुराना चिजको ठाउँमा नयाँ चिज खोजिरहन्छ । नेपालको जेनजी र भारतको कक्रोच आन्दोलनको अन्तर्यमा पनि पुरानाप्रतिको रोष र नयाँको खोजी देखिन्छ, जुन आमवामपन्थी चरित्र नै हो ।

अनुमान गरौं, कुनै एउटा कालखण्डमा जंगलभित्र निरन्तर हिँडिरहने सेपियन्स जाति र ऊभित्रको कुनै एउटा सदस्यले पहिलोचोटि ओढारमा अथवा नदी किनारमा स्थायी छाप्रा बनाएर बसौं भनिरहँदा त्यो प्रस्ताव तत्कालीन अवस्थामा परम्पराविरोधी कुरा नै थियो । त्यो कम जोखिम र कम क्रान्तिकारी विचार थिएन । अहिलेका मान्छेहरूको स्वभावलाई ध्यानमा राखेर निष्कर्ष निकाल्ने हो भने तत्कालीन सेपियन्सहरूको संस्थापन पक्षले त्यो नयाँ कुरा गर्ने सदस्यलाई अत्यन्त ठुलो सजाय दियो होला भन्ने लाग्छ । तर, बिस्तारै त्यो विचार फैलिँदै गयो होला, सेपियन्सहरू अधिकांशले पनि महसुस गर्दै गए होलान् । त्यो विचारमा त्यहाँ बहुमत/अल्पमत पनि भयो होला । अथवा ठुलै हिंस्रक विद्रोह पनि भएको हुन सक्छ । अन्ततः विचार स्थापित भयो, मान्छेहरू घुमन्तेबाट स्थायी बसोवासतर्फ लागे । 

स्पार्टाकसले रोम साम्राज्यका विरुद्धमा गरेको सशस्त्र विद्रोह पनि तत्कालीन समाजको दृष्टिकोणमा एउटा भयंकर ठुलो दुस्साहस र पागलपन थियो होला । तर, मानवजातिको इतिहासमा स्पार्टाकसको त्यो कर्म र विचार असाधारण महत्वको छ । त्यसले दासयुग समाप्तिका लागि एउटा जबरजस्त सिद्धान्त र विचार निर्माण गर्‍यो । त्यो बेलामा माक्र्सवाद र वामपन्थ भन्ने शब्द उत्पत्ति भएको थिएन, तर उनी सोच र कर्मका हिसाबले एउटा महान् क्रान्तिकारी वामपन्थी विद्रोही नै थिए । 

मानिस यथास्थितिमा बस्न सक्दैन । ऊभित्र निरन्तर परिवर्तन खोजिरहने आनुवांशिक गुण हुन्छ । त्यसबाहेक लोभ लालच, निजी स्वार्थ र भगवान् बन्ने चाहना पनि उसले सँगसँगै बोकेको छ । यो पनि जन्मजात नै हो । त्यसैले मानव जातिको हरेक कालखण्डमा निजी स्वार्थ र सामूहिक स्वार्थका बीचमा लडाइँ भएको छ र यो भई नै रहनेछ ।

मान्छे आफैंले दासयुग बनाएको हो, मान्छे आफैंले दासयुग भत्काएको पनि हो । सामन्ती व्यवस्था निर्माण गर्दा लाखौं मान्छेहरू मारिएका छन् । फेरि यसलाई समाप्त गर्न पनि त्यतिकै संख्यामा हताहत भएको छ । सामन्ती समाजलाई समाप्त पारेर पुँजीवादी संसार पनि मान्छेकै चेतनामा बनेको हो । हरेक युगको परिवर्तन तत्कालीन संस्थापनलाई च्यालेन्ज गरेर नै भएको छ । आज कक्रोच र जेनजीहरूले हाम्रो संसदीय लोकतान्त्रिक व्यवस्था, विद्यमान आर्थिक नीतिहरू र दलीय प्रणालीको यो घिनलाग्दो स्वरूपलाई च्यालेन्ज गरिरहँदा कतै उनीहरूले हाम्रो समाजलाई नयाँ विश्वव्यवस्थातर्फ लैजाने संकेत त गरिरहेका छैनन् ? यदि साँच्चिकै यो कुरा हो भने म निर्धक्क भन्न सक्छु, कक्रोच र जेनजीहरूले कार्लमाक्र्सको फोटो नबोके पनि उनीहरू आजका हाम्रो युगको सच्चा वामपन्थीहरू हुन् । 

मान्छे निरन्तर परिवर्तन किन चाहन्छ ? यसको एउटै उत्तर हो, आवश्यकता । आवश्यकता युगअनुसार फरक हुन्छ । हिजोको आवश्यकता र आजको आवश्यकता फरक छ । यो पुस्तापिच्छे फरक पनि हुन्छ । हामी नवयुवा हुँदा हाम्रो आवश्यकता विचारका आधारमा संगठित हुन पाउनुपर्ने, वाक्÷प्रेस स्वतन्त्रता र जनताको मतद्वारा सरकार निर्माण गर्नेजस्ता कुरा थिए । ती माग प्राप्त गर्नका लागि आन्दोलन गरिएकै हो, जेल र निर्वासन भोगिएकै हो । तर, आज जेनजी र कक्रोचहरू थप मुद्दाका साथ प्रस्तुत भएका छन् । दलभित्र केही मान्छेको निरन्तर कब्जा, पैसा खर्च गर्न नसक्नेहरू निर्वाचित हुन नसक्ने परिपाटी र कर्पोरेट हाउसबाट प्रेस कब्जाजस्ता नयाँ मुद्दा उनीहरूसँग छ । कक्रोचहरूले गोदी मिडियाहरूको अकारण विरोध गरेका होइनन् । त्यसबाहेक सुशासन र रोजगारीलाई उनीहरूले महत्व दिए ।

हाम्रोजस्तो देशमा हुने आन्दोलन प्रायः राजनीतिक पार्टीहरूकै झन्डाअन्तर्गत हुने परम्परा छ । जेनजी र कक्रोचहरूले यो परम्परा तोडे । उनीहरूको आन्दोलन झन्डा बोकेर होइन, असन्तुष्टि सँगालेर आएको छ । झन्डा नदेखेपछि अथवा आन्दोलनको जिम्मा लिने आधिकारिक मान्छे नभेटेपछि सायद केपी ओलीहरू सशंकित भएका हुन सक्छन् । केपी ओलीहरू भन्छन्, ‘त्यो विध्वंस र उत्पातको नेपथ्यमा विदेशी छन् ।’ यो भनाइ मानवजातिको विकास र विद्रोहको इतिहासप्रतिको अनभिज्ञता हो । मनभित्र असन्तुष्टि बोकेको मान्छेहरूले झन्डा खोज्दैन, केवल विद्रोह गर्छ । जेनजी र कक्रोच आन्दोलनमा त्यस्तै देखिएको छ । आमविद्रोहका तमाम सूचकहरू त्यहाँ भेटिन्छन् ।

शिक्षाको तीव्र्र व्यापारीकरणले उब्ज्याएको असन्तुष्टि, स्वास्थ संस्था नाफा आर्जन गर्ने क्षेत्र बनेकोमा उत्पन्न भएको आक्रोश, कृषि उत्पादनको उचित मूल्य नपाएर तन्नम बनेका किसानहरूको बेखुसी, बेरोजगार युवाहरूको रिस र वित्तीय संस्थाबाट पिल्सिएका बेहाल उद्योगपतिहरूको गुनासो सबै एकै ठाउँमा मिसिएपछि एउटा ठुलो र अनियन्त्रित धमाका भयो, जसलाई अहिले हामी जेनजी र कक्रोच भनेर चिन्दै छौं । माथिका यी सारा समस्या विश्व पुँजीवादले हाम्रोजस्तो अल्पविकसित मुलुकहरूमा थोपरेको नवउदारवादी नीतिकै उपज हुन् । नवयुवाहरूको आक्रोश कहँ न कहीँ विश्व पुँजीवादप्रतिकै नाराजगी हो भनेर भन्न सकिन्छ । यदि यो साँच्चै हो भने यी आन्दोलनले नयाँ विश्वव्यवस्था माग गरेका हुन सक्छन् ।

आज संसदीय राजनीतिका पुराना खेलाडीहरू यो आन्दोलनलाई अपनत्व ग्रहण गर्ने र नेतृत्व गर्नेभन्दा पनि भूराजनीतिको उपज भनेर बेवास्ता गर्ने र कतिपय सन्दर्भमा विरोधमा उत्रिने असफल प्रयत्न गर्दै छन् । भारतका मोदी हुन् वा नेपालका ओलीहरूको यथास्थितिवादी मुकुन्डो यो आन्दोलनले नराम्रोसँग उदांगो बनाएकोमा उनीहरूको आक्रोश हुन सक्छ । तर, समाज पानीजस्तै हुन्छ, यसले आफ्नो आकार आफैं तय गर्छ ।

विश्व पुँजीवादले उत्पन्न गरेको समस्याबारे त जेनजी र कक्रोचहरूको विरोध देखियो । तर, सिधा हिसाबले उनीहरू नयाँ विश्व व्यवस्थाका पक्षमा छन् कि छैनन् ? यो भन्न अहिले हतारो हुन सक्छ । तर, साँच्चै छन् भने उनीहरू अहिले सत्तामा पुग्ने त कुरै छाडौं, भयानक दमनमा पर्न सक्छन् । अथवा उनीहरूको आन्दोलन र मुद्दा अपहरणमा पर्न सक्छ । नेपालमा यो देखियो । यहाँ हिजो जेनजी आन्दोलनलाई संगठित गर्नेहरू अहिले पनि सडकमै छन् । जेनजी आन्दोलनलाई प्रयोग गरेर अरू कोही नै सत्तामा पुगेको छ । भारतको कक्रोच आन्दोलनको पनि यही हविगत हुन सक्छ । तर, जसरी स्पार्टाकसहरूको विद्रोह असफल भए पनि त्यसले स्थापित गरेको सत्यले मानव इतिहासलाई प्रभावित पार्‍यो, ठिक त्यसैगरी जेनजी र कक्रोच आन्दोलनले पनि यस भेगको वाम आन्दोलनलाई दिशा प्रदान गर्नेछ । यति कुरामा चाहिँ हामी आश्वस्त हुनैपर्छ ।

अन्त्यमा भनांै, मानवजातिले सजिलोसँग बाँच्नका लागि इतिहासमा लाखौंपटक आन्दोलन गरेको छ । ती सबै आन्दोलनमा कार्लमाक्र्सका फोटाहरू थिएनन् र हुदैनन् । स्पार्टाकसलाई पनि वामपन्थी भन्ने शब्द थाहा थिएन । पहिलोचोटि आगो पत्ता लगाउने र ढुंगाको हतियार बनाउने मान्छेले पनि महावीर पुनले झैं आफूलाई वैज्ञानिक भनेनन् । तर, पनि तिनीहरू प्राचीन वैज्ञानिक नै थिए । त्यसैगरी जेनजी र कक्रोचहरूले पनि आफूलाई वामपन्थी भनेका छैनन्, तर उनीहरूका मुद्दा वाम विचारबाट प्रेरित छन् र यसले यस भेगमा आमूल परिवर्तनको माग गरेको छ । जय आन्दोलन ।

(अर्याल नेकपा(संयुक्त)का केन्द्रीय प्रचार विभाग प्रमुख हुन् ।)

सम्बन्धित खबर