२०८३ कार्तिक १० गते मङ्गलवार / Oct 27 , 2026 , Tuesday
२०८३ कार्तिक १० गते मङ्गलवार

रित्तिँदो गाउँ, भरिँदो विमानस्थल

Nada
भूपेन्द्र थापा ‘माधव’
२०८३ साउन ११ गते ०६:०५
Shares
रित्तिँदो गाउँ, भरिँदो विमानस्थल

नेपालको कुनै पनि गाउँमा बिहान सबेरै पुगेर हेर्नुहोस् । कुनै समय हलोको फालीले जोतेका खेतबारीमा अहिले झारझाडी उम्रिएको छ । विद्यालयका कक्षाकोठा बर्सेनि खाली हुँदै गइरहेका छन् । चौतारामा युवाहरूको गफगाफ र भेटघाट देखिँदैन । मेलापात, रोपाइँ र श्रमदानका दिनहरूमा समेत गाउँलेहरू काम गर्ने मान्छेको अभाव झेलिरहेका छन् । घरका मूल ढोकामा ताला झुन्डिएको छ, आँगनमा वृद्ध बुबाआमा र साना नातिनातिना मात्र देखिन्छन् । त्यसैबेला राजधानीको अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष भने भरिभराउ छ । हातमा पासपोर्ट, काँधमा झोला, आँखामा सपना र मनमा अनिश्चितता बोकेका हजारौं युवा हरेक दिन देश छोडिरहेका छन् । कोही खाडीका मरुभूमितर्फ, कोही मलेसियाका कारखानातर्फ, कोही जापान र कोरियातर्फ, कोही युरोप र अस्ट्रेलियातर्फ । 

सायद आजको नेपालको सबैभन्दा शक्तिशाली सामाजिक, आर्थिक र राजनीतिक दृश्य यही होला– रित्तिँदो गाउँ र भरिभराउ विमानस्थल । यो जनसंख्याको स्थानान्तरणको मात्र कुरा होइन । यो एउटा राष्ट्रको विकास मोडेल, प्राथमिकता, राजनीतिक नेतृत्वको दृष्टि र अर्थतन्त्रको संरचनामाथिको गम्भीर प्रश्न हो । आखिर किन देशका सबैभन्दा ऊर्जाशील, शिक्षित र उत्पादनशील नागरिक आफ्नै देशमा आफ्नो भविष्य देख्न छाडिरहेका छन् ? 

नेपालको आधुनिक इतिहासलाई हेर्दा राणा शासनको अन्त्य, प्रजातन्त्रको स्थापना, पञ्चायती व्यवस्थाको पतन, बहुदलीय लोकतन्त्र, जनआन्दोलन, शान्ति प्रक्रिया, गणतन्त्र र संघीयताको स्थापना, यी सबै राजनीतिक परिवर्तनका महत्वपूर्ण अध्याय हुन् । प्रत्येक परिवर्तनले जनतालाई नयाँ आशा दिएको थियो । अब विकास हुनेछ । अब अवसर बढ्नेछन् । अब राज्य गाउँसम्म पुग्नेछ भन्ने विश्वास जनताले गरेका थिए । तर, समय बित्दै जाँदा एउटा यथार्थ अर्कै प्रकट भयो । व्यवस्था बदलियो, तर धेरै नागरिकको अवस्था अपेक्षित रूपमा बदलिन सकेन । अर्थतन्त्र, सहरीकरण र प्रविधिका अंकगणितमा धेरै परिवर्तन भएका पनि होलान् । तर, भुँइमान्छेले आफ्नो अवस्था बदलिएको भेउ पाउन सकेको छैन । बरु व्यवस्था परिवर्तनलाई नै मुख्य उपलब्धि मानियो । राज्य सञ्चालकको संस्कार, आर्थिक संरचना र विकासको मोडेललाई समानान्तर रूपमा रूपान्तरण गरिएन । नेपालले सत्ताको संरचना परिवर्तन ग¥यो, तर उत्पादनको संरचना परिवर्तन गर्न सकेन । राजनीतिक अधिकार विस्तार ग¥यो, तर आर्थिक अवसर विस्तार गर्न सकेन । 

आजको नेपालको राजनीतिक समीकरण पनि यही असन्तुष्टिको पृष्ठभूमिबाट निर्माण भइरहेको छ । परम्परागत दलहरूप्रतिको मोहभंग, नयाँ राजनीतिक शक्तिप्रतिको आकर्षण र वैकल्पिक नेतृत्वको खोजी यसको प्रतिफल हो । नागरिकले अब सरकार परिवर्तन मात्र चाहेका छैनन् । उनीहरूले शासन संस्कृतिको परिवर्तन खोजिरहेका छन् । भाषणभन्दा परिणाम, नाराभन्दा कार्यान्वयन र प्रतिबद्धताभन्दा उत्तरदायित्व खोजेका छन् । आजको नागरिक मनोविज्ञानलाई यी तीन कुराले व्याख्या गर्छन् । 

विशेषतः युवा पुस्ताको राजनीतिक सोचमा ठुलो परिवर्तन आएको छ । अघिल्लो पुस्ता विचारधारा र संगठनबाट परिचालित हुन्थ्यो । तर, आजको पुस्ता फरक छ, उसले राजनीतिक निष्ठाभन्दा कार्यसम्पादनलाई महत्व दिन्छ । आजको युवालाई सरकार कसले बनायो भन्नेभन्दा सरकारले उसको जीवनमा के परिवर्तन ल्यायो भन्ने कुरा महत्वपूर्ण लाग्छ । उसलाई रोजगारी चाहिएको छ । उद्यम गर्ने वातावरण चाहिएको छ । सीपलाई सम्मान गर्ने अर्थतन्त्र र भविष्यप्रतिको भरोसा चाहिएको छ । जब यी सबै कुरा स्वदेशमा देखिँदैनन्, तब विमानस्थल नै उसको वैकल्पिक योजनाको बाटो बन्छ । धेरैले सजिलै युवाले बिदेसिन चाहेको भनिदिन्छन् । यथार्थ त के हो भने उनीहरू बिदेसिन बाध्य भइरहेका छन् । 

नेपालको अर्थतन्त्र लामो समयदेखि रेमिट्यान्सको आधारमा बाँचेको छ । रेमिट्यान्सले विदेशी मुद्रा सञ्चिति र उपभोग बजारलाई चलायमान बनाएको छ । तर, यो  दीर्घकालीन विकासको विकल्प बन्न सक्दैन । कुनै पनि राष्ट्र आफ्ना युवाहरूलाई विदेश पठाएर समृद्ध बनेको इतिहास छैन । समृद्ध राष्ट्रहरू उत्पादन, नवप्रवर्तन, अनुसन्धान र उद्यमशीलताबाट उठेका छन् । नेपालले भने उत्पादनभन्दा आयात र उद्योगभन्दा उपभोगलाई प्राथमिकता दिएको छ । कृषिप्रधान देशको परिचय बोकेको नेपाल खाद्यान्नदेखि तरकारीसम्म आयातमा निर्भर हुँदै गएको छ । गाउँबाट श्रम हराएको छ, खेतबाट उत्पादन हराएको छ र बजारबाट स्वदेशी वस्तुको उपस्थिति घट्दै गएको छ ।

विश्वविद्यालयहरूले प्रत्येक वर्ष हजारौं स्नातक युवा उत्पादन गरिरहेका छन् । तर, श्रमबजारले खोजेको सीप र शिक्षाले उत्पादन गरेको जनशक्तिबीच ठुलो खाडल छ । शिक्षा प्रमाणपत्र प्राप्त गर्ने माध्यम बन्दै गएको छ । सीप र नवप्रवर्तन विकास गर्ने माध्यम बन्न सकेको छैन । परिणामस्वरूप, विश्वविद्यालयबाट निस्किएको युवा जागिरको खोजीमा भौंतारिन्छ र अन्ततः वैदेशिक रोजगारलाई नै सुरक्षित विकल्पका रूपमा स्वीकार गर्न बाध्य हुन्छ ।

दक्षिण एसियाको राजनीतिक प्रवृत्तिले पनि यही संकेत गरिरहेको छ । बंगलादेशमा विद्यार्थी आन्दोलनले पुरानो राजनीतिक संरचनामाथि प्रश्न उठायो । श्रीलंकामा आर्थिक संकटले स्थापित राजनीतिक परिवारहरूको प्रभाव कमजोर बनायो । भारतमा समेत युवाको बहस रोजगारी, प्रविधि, उद्यमशीलता र आर्थिक अवसरतर्फ सर्दै गएको छ । दक्षिण एसियाका युवाहरू अब विचारधाराको भाषा होइन, परिणामको भाषा बुझ्न चाहन्छन् । नेपालका युवाहरू पनि पछिल्लो समयमा डिजिटल माध्यममार्फत विश्वसँग जोडिएका छन् । उनीहरूले विकसित देशको विकास देखिरहेका छन् र आफ्नो देशलाई पनि त्यस्तै सम्भावनायुक्त रूपमा हेर्न चाहन्छन् । तर, दुर्भाग्यवश नेपालको राजनीतिक बहस अझै पनि प्रायः सत्ता समीकरणको वरिपरि घुमिरहेको छ । गठबन्धनको अंकगणित, मन्त्रालयको बाँडफाँड, सरकार गठन र विघटनका चर्चाले राष्ट्रिय बहसलाई ओगटिरहँदा रोजगारी, औद्योगिकीकरण, शिक्षा सुधार र उत्पादन वृद्धिका विषय पछि परिरहेका छन् । नागरिकले रोजगारी, उत्पादन र भविष्यको कुरा गर्छन्, राजनीति मन्त्रालय, पद र वर्तमानको सत्तामा सीमित रहन्छ । यही नै लोकतान्त्रिक व्यवस्थाप्रतिको विश्वास घटाउने सबैभन्दा ठुलो कारण बनेको छ ।

विश्व अर्थतन्त्र कृत्रिम बुद्धिमत्ता, स्वचालन, हरित ऊर्जा र डिजिटल अर्थतन्त्रतर्फ अघि बढिरहेका बेला नेपाल अल्पकालीन राजनीतिक समीकरणमा अल्झिरहनु चिन्ताजनक हो । नेपालसँग जलस्रोत, पर्यटन, कृषियोग्य जमिन र युवा जनशक्तिको सम्भावना छ, तर अभाव छ त मात्र दीर्घकालीन राष्ट्रिय दृष्टिकोण र राजनीतिक इच्छाशक्तिको । आज नेपाललाई अर्को राजनीतिक आन्दोलनभन्दा बढी आर्थिक रूपान्तरणको आवश्यकता छ । अबको राष्ट्रिय बहस सत्तासमीकरणको होइन, उत्पादनको हुनुपर्छ । राजनीति मन्त्रालय बाँडफाँडको होइन, उद्योग स्थापना र रोजगारी सिर्जनाको हुनुपर्छ । देशलाई कृषि आधुनिकीकरण, सीपमूलक शिक्षा, प्रविधि र नवप्रवर्तन चाहिएको छ । 

परिवर्तनको वास्तविक अर्थ त्यतिबेला मात्र स्थापित हुन्छ, जब युवाले आफ्नो सपना पूरा गर्न विमानस्थलतर्फ डोहोरिन पर्दैन । आफ्नै गाउँ र सहरमै अनेक सम्भावनाका ढोका खुल्छन् । खेतबारीमा फेरि हरियाली फर्कन्छ र वृद्ध बुबाआमाले आफ्ना सन्तानको आवाज भिडियो कलमा होइन, आफ्नै आँगनमा सुन्न पाउँछन् । समयले सोधिरहेको अर्को प्रश्न हो, के हामी रित्तिँदै गएका गाउँहरूलाई फेरि जीवनले भरिने बनाउनेछौं ? कि भरिँदै गएका विमानस्थललाई नै विकासको सूचक मानेर बस्नेछौं ?

कुनै राष्ट्रको समृद्धि बिदेसिएका नागरिकको संख्याले होइन, आफ्नै माटोमा भविष्य देख्ने नागरिकको संख्याले मापन हुन्छ । सरकार युवा जोस र नयाँ राजनीतिक संस्कृतिको वाचासहित निर्माण भएको सय दिनभन्दा बढी समय बितिसकेको छ, तर जनअपेक्षा र सरकारी कार्यसम्पादनबीचको दूरी घट्नुको सट्टा बढ्दै गएको छ । युवापुस्तामा देखिएको उत्साह असन्तुष्टि र अविश्वासतर्फ रूपान्तरित हुने संकेत देखिन थालेका छन् । नेपालको सामाजिक स्मृतिमा प्रेमप्रसाद आचार्यको आत्मदाह व्यक्तिगत त्रासदीको घटना मात्र थिएन । त्यो राज्यप्रति बढ्दो निराशाको संकेत थियो । अवसरको खोजीमा भौंतारिइरहेका हजारौं गणेश नेपाली आज पनि देशभर छरिएर रहेका छन् । यदि राज्यले उनीहरूको सपना र भविष्यलाई सम्बोधन गर्न सकेन भने यो निराशा सामाजिक असन्तोषका रूपमा विस्तार हुन सक्छ । 

जब युवाले भविष्य देख्न छोड्छ, तब समाज अस्थिर हुन्छ । जब राज्यले युवाको आशा गुमाउँछ, तब परिवर्तनका नयाँ अध्यायहरू जन्मिन्छन् । त्यसैले आजको यक्ष प्रश्न यो हो कि नेपालले आफ्ना युवाहरूलाई कहिलेसम्म बिदाइ गरिरहने ? अनि, युवाहरूले कहिलेदेखि आफ्नै माटोमा भविष्य देख्लान् ?

सम्बन्धित खबर