२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

नेपाल–चीन सम्बन्धका आधार

ADV
२०८१ साउन ३१ गते ०६:२०
नेपाल–चीन सम्बन्धका आधार

–महेन्द्रप्रकाश सिवाकोटी

नेपाल र चीनबिच दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको छ । नेपाल र चीन, दुई पुराना सभ्यताका प्रमुख मित्रराष्ट्रहरू, अनादिकालदेखि नै आपसमा गहिरो सम्बन्ध राख्दै आएका छन् । हिमालय पर्वतको श्रृखंला र विभिन्न भौगोलिक, सांस्कृतिक, आर्थिक, सामाजिक र ऐतिहासिक पक्षहरूले जोडिएका यी दुई देशबिचको सम्बन्ध औपचारिक र अनौपचारिक तहमा विकसित हुँदै आएको छ ।

नेपाल र गणतन्त्र चीनको बिच दौत्य–सम्बन्ध स्थापना गर्ने सम्झौतामा २०१२ श्रावण १२ गते (२७ जुलाई १९५५) मा हस्ताक्षर भएको थियो । दुवै सरकारले पाँच सिद्धान्तलाई आपसको सम्बन्ध सञ्चालन गर्ने मूल सिद्धान्त हुनुपर्छ भन्ने स्वीकार पनि गरेका छन् । यसमा एकले अर्कोको सार्वभौमिकता र राज्य क्षेत्रको अक्षुण्णताको सम्मान गर्ने, अनाक्रमण, आर्थिक, राजनैतिक र सैद्धान्तिकरूपका कुनै कारणबाट पनि एकले अर्कोको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने, समानता र पारस्परिक हित र शान्तिपूर्ण सहअस्तित्वलाई स्वीकार गरिएको थियो ।  

नेपालको परराष्ट्र नीतिको प्रमुख लक्ष्य सुरक्षा हो । नेपालको चीनप्रतिको सम्बन्धको मुख्य आधार भनेको नेपाल दुई ठुला राष्ट्रबिचको राष्ट्र भएकाले सुरक्षा र स्वाधीनता नै यसको मुख्य विषय भएको छ । चीनसँगको सम्बन्धको प्राथमिक आधार पनि यही नै हो । चीनको दक्षिणमा रहेको नेपाल हुँदा नेपालले सधैंँ चीनको सुरक्षाको लागि महत्त्वपूर्ण स्थान लिएको छ । चीन सधैँ हिमालय क्षेत्रमा शान्ति र स्थायित्व चाहन्छ । यस्तै, चीनको नेपालसँगको दोस्रो स्वार्थ भनेको तिब्बतमा स्थायित्व कायम गर्नु हो । तिब्बतमा बारम्बार हुन सक्ने अस्थिरताबाट सुरक्षित हुनका लागि चीनले नेपालबाट चीनविरुद्ध हुने कुनै पनि कदमलाई प्रोत्साहित नगरियोस् भन्ने कुरामा ध्यान दिई यसैका लागि सन्धि–सम्झौताहरूमार्फत यो स्थिति प्राप्त गर्न खोजेको पाइन्छ । चीनको तेस्रो स्वार्थ भनेको अन्तर्राष्ट्रिय क्षेत्रमा चीनको नीतिको राजनीतिक समर्थन चाहेको देखिन्छ । एक चीनको नीतिको रूपमा तिब्बत तथा ताइवानलाई अलग राज्य नमानी एउटै राज्यको रूपमा मान्यता नेपालले कायम राखोस् भन्ने चीनको स्वार्थ देखिन्छ । 

नेपालले चीनबाट वर्तमान परिवर्तित सन्दर्भमा पूर्वाधार विकास, व्यापार र बजार पहुँच, पर्यटन, सांस्कृतिक र शैक्षिक आदान–प्रदान, जलवायु परिवर्तन र वातावरणीय सहकार्य, आर्थिक सहयोगमा वृद्धिजस्ता क्षेत्रहरूमा लाभ लिन सक्छ । पूर्वाधार विकासका लागि नेपालले चीनबाट सडक, रेल्वे र ऊर्जा परियोजनामा लगानी वृद्धि गर्न पहल गर्नुपर्छ । चीनसँगको सहकार्यले नेपालको भौगोलिक सम्पर्कमा सुधार ल्याई व्यापार, पर्यटन, र क्षेत्रीय विकासलाई तीव्र बनाउन सक्छ । यो प्रयासले देशभित्रको यातायात प्रणालीलाई पनि आधुनिकीकरण गर्न मद्दत पुर्‍याउनेछ । यसले नेपालको आर्थिक वृद्धि र समृद्धिमा महत्त्वपूर्ण योगदान दिन सक्छ । नेपालले चीनसँगको सम्बन्धबाट पर्यटन, कृषि, र उत्पादन क्षेत्रमा चिनियाँ लगानी आकर्षित गरेर अझै धेरै लाभ लिन सक्छ । व्यापारिक मार्गहरू, जस्तै ट्रान्स–हिमालय बहुआयामिक सम्पर्क नेटवर्क विकास गर्नाले व्यापार र लगानीमा वृद्धि हुन सक्छ । 

यसैगरी, दुई देशबिचको सांस्कृतिक र शैक्षिक सम्बन्धलाई प्रगाढ बनाउनका लागि छात्रवृत्ति, भाषा कार्यक्रम र संयुक्त अनुसन्धान पहलहरू सञ्चालन गर्न सकिन्छ । यसले दुवै देशका नागरिकहरूबिच आपसी समझदारी बढाउनेछ र शैक्षिक सहकार्यले नेपालको मानव संसाधनलाई सुधार गर्नेछ । यस प्रकारको आदान–प्रदानले दुवै देशका युवाहरूमा मित्रता र सहकार्यको भावना बलियो बनाउनेछ । जलवायु परिवर्तन र वातावरण संरक्षणमा नेपालले चीनसँग सहकार्य गरेर साझा चुनौतीहरूको समाधान गर्न सक्छ । हिमालयको संरक्षण, दिगो विकास, र वातावरणीय व्यवस्थापनका क्षेत्रमा संयुक्त प्रयास गर्न सकिन्छ । 

नेपाल र चीनबिचमा विभिन्न किसिमका सन्धि–सम्झौताहरू भएका छन् । नेपाल र चीनबिचको सम्बन्ध प्राग ऐतिहासिक कालदेखि नै भएको थाहा पाइन्छ । नेपाल उपत्यकामा पानीको सतह रहेकै अवस्थामा नेपालमा महामञ्जुश्रीको आगमन भएको थियो । उनले त्यस बेलाका यहाँका कबिला राज्यलाई पराजित गरी नयाँ राज्यको स्थापना गरेका थिए । यो युद्ध हिमाल पारको व्यापार खुलाउन र दक्षिणतर्फबाट आफूलाई सुरक्षित गराउनका लागि महामञ्जुश्रीले आधिपत्य कायम गरी नयाँ राज्यसँग सम्झौता गरेको भन्ने देखिन्छ । त्यसयता दुई देशबीच विभिन्न समयमा दर्जनौँ भएका सन्धि–सम्झौताहरू भएका छन् । हुम्ला राज्यसँग सन्धि, स्रोङचङ गोम्पोसँगको सन्धि, खश चीन सन्धि, नेपाल तिब्बत मुद्रा सन्धि, भीममल्लको भोटसँगको सन्धि, राम शाहको सन्धि, मुद्रा विवाद र गोरखासँगको सन्धि, नेपाल भोट युद्ध र केरूङ् सन्धिहरू भएका थिए ।  

समग्रमा नेपाल र चीनबिचको सम्बन्ध सुमधुर, गहिरो र भरपर्दो हुनुपर्छ । चीनको सुरक्षाका लागि नेपाल र नेपालको सुरक्षाका लागि चीन एक–आपसमा कटिबद्ध, मजबुत र एकताबद्ध हुन सकेको खण्डमा दुवै देश एसियाका चम्किला तारा झैँ स्थापित हुनेछन् । चीनले पनि नेपालको सुरक्षाका लागि योगदान दिएको छ र नेपालले पनि चीनको सुरक्षाका लागि योगदान दिएको छ । हामीले यो इतिहासलाई कहिल्यै भुल्नु हुँदैन । नेपाल र चीनबिचमा बेलाबखत हुने गरेका मतभेदहरूलाई सौहार्दतापूर्वक छलफल–बहस गरेर समाधान गर्नुपर्दछ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise