२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

कीर्तिमानी सपना

ADV
२०८१ साउन ३२ गते ०६:५५
कीर्तिमानी सपना

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्रै दोस्रोपटक निर्देशन दिदै ओलीले मन्त्री र सचिवहरुलाई कीर्तिमानी काम गर्न भनेका छन् । प्रधानमन्त्री ओलीले सय दिनभित्र नयाँ कीर्तिमान राख्नेगरी योजना ल्याउन पनि निर्देशन दिएका छन् । यसअघि प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुलाई ठोस् परिवर्तनको प्रस्ताव ल्याउन निर्देशन दिएका थिए । तर मन्त्री र सचिवहरुको कुरा ओलीले सुनेका थिएनन् । सचिवहरुको ब्यापक हेरफेर गरी निर्देशन दिन बसेका प्रधानमन्त्रीलाई जवाफ कसैले फर्काउने कुरा समेत थिएन । संभवतः यही तथ्य बुझेर प्रधानमन्त्रीले दोस्रो निर्देशनमा सय दिने कार्यसूची मागेका छन् । 

प्रधानमन्त्री ओलीले कीर्तिमानी कामको निर्देशन दिनु अस्वभाविक होइन । किनकि यसअघि प्रधानमन्त्री हुँदा पनि ओलीले कीर्तिमानी कुराकै कारण चर्को आलोचना खेप्नु परेको थियो । २०७४ सालको चुनावपछि झण्डै दुई तिहाइ संसदीय बहुमतबाट प्रधानमन्त्री बनेका ओलीले अघिल्लो कार्यकालमा रेल, पानी जहाज, धरहरा जस्ता परियोजनालाई ‘ड्रिम प्रोजेक्ट’का रुपमा अगाडि सारेका थिए । जबकी त्यसबेला नेपाली नागरिक भने कोरोना महामारीको संकटमा थिए । तर ओलीले कोरोनालाई रुघाखोकीसँग तुलना गरेका थिए । नागरिकलाई सर्तक बन्ने, दुरी कायम राख्न, खोप ल्याउने पहल गर्न जस्तो काम नगरेर सस्तो भाषण गरेको भनेर ओलीको चर्को आलोचना भएको थियो । विशेषगरी जेल, पानी जहाज, धरहरा, अयोध्या जस्ता कुरालाई ओलीले कीर्तिमानी कामकै रुपमा अगाडि बढाउन चाहेका थिए । तर ओलीको त्यो यात्रा बीचैमा दुर्घटनामा परेको थियो । 

यसपटक प्रधानमन्त्री बन्दा भने कोर्स करेक्सनको संकेत गरेका थिए । प्रधानमन्त्री पदमा विश्वासको मत मागिरहँदा प्रधानमन्त्री ओलीले २० प्रतिशत निरपेक्ष गरिबीको रेखामुनि रहेका नागरिकको चिन्ता गरेका थिए । गरीब बालबालिका, बृद्धबृद्धाहरुको पीर गरेका थिए । समृद्ध र कीर्तिमानको ठूलो कुरा गरेर भोकै रहेका नागरिकलाई बिर्सने काम नहुने बताएका थिए । स्वास्थ्य उपचार नपाएका नागरिकहरुलाई हेर्ने प्रतिबद्धता गरेका थिए । सडक बालबालिकालाई भविष्यसँग जोडेर लामै व्याख्या गरेका थिए । निष्कर्षमा प्रधानमन्त्री ओलीले भौतिक संरचनाको कीर्तिमान नभएर नागरिकको खुशीलाई जोड दिने बताएका थिए । तर एक महिना नबित्दै प्रधानमन्त्री ओलीले फेरि कीर्तिमानी कुरा गरेर नागरिक अल्मल्याउने, बहस अर्कैतिर मोड्ने काम गरेका छन् । यसतर्फ प्रधानमन्त्रीले ध्यान दिनुपर्नेछ । कीर्तिमान ढुंगामा होइन, नागरिकको हृदयमा हुन्छ भन्ने बिर्सन हुन्न । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise