२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

रौतहटमा प्रशासनको आदेश उल्लंघन, अश्लिलता झल्किने खालका नाचगान रोकिएन

ADV
कृष्ण तिवारी
२०८१ भदौ ११ गते २१:१४
रौतहटमा प्रशासनको आदेश उल्लंघन, अश्लिलता झल्किने खालका नाचगान रोकिएन

रौतहट : जिल्ला प्रशासन कार्यालय रौतहटले कुनै पनि चाडपर्वमा अश्लिलता झल्किने खालका नाचगान गर्न पूर्णरूपमा प्रतिबन्ध लगाएको छ । जिल्लामा कुनै किसिमको मेला, महोत्सव वा कार्यक्रम गर्दा समाजमा अश्लिलता फैलिने गरी छाडा भोजपुरी गीतमा उत्तेजित नाचगान गर्न जिल्ला प्रहरी कार्यालय रौतहटले रोक लगाएको हो । 

तर जिल्ला प्रहरी कार्यालय रौतहटले लगाएको प्रतिबन्धको अवज्ञा अर्थात् उल्लंघन गर्दै जिल्लाको ठाउँ–ठाउँमा विभिन्न चाडपर्वको अवसरमा लाग्ने मेलामा खासगरी टिकटकमा अश्लिलता फैलाएका कलाकारलाई बोलाएर अश्लिल भोजपुरी गीतमा नचाउने कार्य भइरहेको देखिएको छ ।

विभिन्न चाडपर्वको नाममा गाउँगाउँमा दिन र रातको समयमा अश्लिलता झल्किने किसिमका भोजपुरी गीत गाउने, आर्केस्टा नचाउने, मनोरञ्जनको नाममा जुवा खेल्ने/खेलाउने जस्ता कारणले गर्दा विभिन्न ठाउँमा एक आपसमा झै–झगडा तथा कुटपिट हुने, ढुंगामुढा गर्ने, विभिन्न मानिसको धन सम्पत्ति क्षति हुन थालेको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटले अश्लिल कलाकारलाई नचाउन प्रतिबन्ध लगाइसकेको छ ।

धार्मिक, सांस्कृतिक, राजनीतिक आदि कुनै किसिमको नाचगान हुने वा भिडभाडजस्ता कार्यक्रम गर्नुपर्दा कार्यक्रम आयोजना गर्नुभन्दा अघि अनिवार्य रूपमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट अनुमति लिइ सम्बन्धित निकायबाट तोकिए अनुसार कार्यक्रम गर्न र गराउन जिल्ला प्रहरी कार्यालय रौतहटले सूचित गराएको छ । तर प्रशासनले दिएको आदेश विपरित सोमबार राति देवाही गोनाही नगरपालिका–९ धरहरी, राजपुर नगरपालिकाको भेडियाही लगायत ठाउँमा टिकटक कलाकारलाई अश्लिल भोजपुरी गीतमा नचाउने कार्य गरिएको पाइएको छ ।

ती अश्लिल कलाकारहरुले सानो कपडा लगाएर अश्लिल भोजपुरी गीतमा डान्स गरेकै कारण राजपुरको भेडियाहिको कार्यक्रममा युवाहरुबीच झैँ झगडा भइ कुटाकुट भएको भिडियो यतिखेर समाजिक सञ्जालमा भाइरल भएको छ ।

टिकटकमा नाच्ने महिला कलाकारले मान्छे उत्तेजित हुने खालका शरिरका संवेदनशील अंग देख्ने गरी सानो कपडा लगाएर अश्लिल भोजपुरी गीतमा नाच्ने गरेका कारण समाजमा वा साना बालबालिकामाथि नकारात्मक असर पर्ने गरेको छ, भने अर्कोतर्फ यसले समाजमा गालीगलौज, झैझगडा र कुटपिट समेत हुने गरेकोले अपराधिक घटना समेत हुने गरेको समाजका अगुवाहरु बताउँछन् ।

टिकटकमा अश्लिलता फैलाएका ती कलाकारहरु अब गाउँ घरमा समेत अश्लिल फैलाइ समाज नै बिगार्ने काम गरेको भन्दै त्यस्ता चाड कलाकारलाई नाच गर्न गर्न रोक लगाउनुपर्ने आवाज जनस्तरबाट समेत उठ्न थालेको छ ।

देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साहले धरहरीमा प्रशासनको आदेश विपरित कार्यक्रम गर्दा उक्त कार्यक्रम नै बहिस्कार गरेका छन् । जिल्ला प्रशासन कार्यालय गौरले धार्मिक कार्यक्रम गर्न दिएको आदेश विपरीत गइ मेला समितिले आफुखुसी टिकटकमा नाचेर अश्लिलता फैलाएका अश्लिल कलाकारलाई बोलाएर कार्यक्रम गर्दा आफू सो कार्यक्रममा सहभागी नभएको मेयर साहले बताए । 

धार्मिक कार्यक्रममा झाँकी, कृष्णलिला आदिको प्रस्तुती देखाउने कलाकारलाई बोलाउन भनेको तर समितिले अश्लिल कलाकारलाई बोलाएर अश्लिलल्ता फैलाउने काम गरेकोले आफुले सो कार्यक्रमका लागि एक रुपैयाँ चन्दा समेत नदिइ कार्यक्रम बहिस्कार गरेको मेयर साहले बताए । 

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एवम् एसपी दिलिप घिमिरेले प्रशासनको आदेश विपरीत कार्यक्रम आयोजना गर्ने र अश्लिल गीतमा नाचेर समाजमा अश्लिलता फैलाउने दुबैलाई कारबाही गर्ने बताएका छन् ।

आयोजक मेला समितिलाई प्रहरीले धार्मिक कार्यक्रम प्रस्तुत गर्न मात्र अनुमति दिने गरेको, तर पछि आयोजकले प्रहरी प्रशासनले दिएको अनुमतिलाई लत्याउँदै अश्लिलल्ता झल्किने खालका प्रस्तुती गराउने गरेको पाइएकोले अबदेखि त्यस्तो हुन नदिने एसपी घिमिरेले बताए । अबदेखि प्रहरी प्रशासनले दिएको अनुमती पालन भए÷नभएको अनुगमन गर्ने र प्रशासनको आदेश विपरीत कार्यक्रम आयोजना गर्ने आयोजक समिति र अश्लिलता देखाइ समाज बिगार्ने अश्लिल कलाकारलाई समेत पक्राउ गरी कारबाही गर्ने एसपी घिमिरेले बताए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise