२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सहकारी पीडितमाथि लाठीचार्ज

ADV
शिव विक
२०८१ भदौ १७ गते ०६:३०
सहकारी पीडितमाथि लाठीचार्ज

काठमाडौं : सहकारी पीडितहरूले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन् । बचत फिर्ताको माग गर्दै काठमाडौंको भद्रकालीमा प्रदर्शनमा उत्रिएका सहकारी पीडितहरूमाथि प्रहरीले लाठी प्रहार गरेको छ । पीडितको माग सम्बोधन गर्नुको साटो लाठी प्रहार गरेको भनेर सरोकारवालाहरूले विरोध जनाएका छन् । 

विभिन्न सहकारी संस्थाबाट बचत रकम फिर्ता नपाएका सर्वसाधारणले लामो समयदेखि  प्रदर्शन गर्दै आएका छन् । विगतमा पनि त्यस्तो प्रदर्शनमा सरकारले अवरोध गर्ने गरेको छ । 

आइतबार रत्नपार्कस्थित शान्तिवाटिकाबाट प्रदर्शन गर्दै सिंहदरबारतर्फ अघि बढेका सहकारी पीडितमाथि प्रहरीले भद्रकालीमा लाठी प्रहार गरेको हो ।

लाठी प्रहारका कारण केही सहकारी पीडित घाइते भएका छन् । बचत फिर्ताका लागि सरकारलाई दबाब दिन सिमसिम झरीका बीच प्रदर्शन गरेका उनीहरुलाई प्रहरीले निषेधित क्षेत्रमा प्रवेश गर्न लागेको भन्दै लाठी प्रहार गरेर रोकेको हो । 

प्रदर्शनकारीहरूका अनुसार सिंहदरबारतिर जाने तयारी थियो । सिंहदरबारतिर जान नदिएपछि सहकारी पीडितहरु शहीदगेटतर्फ मोडिएका थिए । उनीहरु त्रिपुरेश्वर, थापाथली हुँदै माइतीघरसम्म पुग्ने तयारीमा थिए । त्यसमा पनि प्रहरीले अवरोध गरेको हो । 

प्रदर्शनकारीहरूले प्ले कार्ड समेत बोकेका थिए । उनीहरूले ‘मेरो छोराछोरी पढ्ने पैसा सहकारीमा छ, सहकारी पीडितको घरमा भात तिहुन पाक्दैन, सुशासनको कुरा गरेर सरकार कहिल्यै थाक्दैन’ लेखिएका प्ले कार्ड बोकेका थिए ।

‘सहकारी ठगहरू मुर्दावाद, गरिबको खुन पसिनाको कमाइ सहकारीले खाइदियो लुटेर’ जस्ता नारा लेखेको ब्यानर बोकेका थिए ।

सरकार भने सहकारी पीडितको माग सम्बोधन गर्न तयार रहेको बताउँछन् । संसदीय समितिले काम गरिरहेकाले त्यसको प्रतिवेदनका आधारमा एक्सन लिन सरकारको तयारी रहेको छ । 

गत जेठ १५ गते प्रतिनिधि सभाले सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन गरेको थियो ।

एमाले सांसद सूर्यबहादुर थापाको सभापतित्वमा गठित ७ सदस्यीय छानबिन समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र दिलेन्द्र बडू, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान रहेका छन् । 

तीन महिनाको समय पाएको समितिको म्याद यही भदौ २३ गते सकिँदैछ । छानबिन समितिले जेठ २३ गतेबाट काम सुरु गरेकाले भदौ २३ गतेसम्म समयाअवधि रहेको हो । 

ADVADV

सम्बन्धित खबर

Advertise