२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बटौली क्षेत्रलाई पुनःस्थापित गर्ने उपमहानगरको तयारी

ADV
सुर्य प्रसाद भुसाल
२०८१ भदौ २३ गते २०:३०
बटौली क्षेत्रलाई पुनःस्थापित गर्ने उपमहानगरको तयारी

बुटवल : बुटवल क्षेत्रलाई पुरानो सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गरिने भएको छ ।  यसका लागि बुटवल उपमहानगर पालिकाले छलफल अगाडि बढाएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १ र २ मा पर्ने पुरानो बटौली क्षेत्रलाई पूरानै अवस्था झल्काउने गरी पुनःनिर्माण गर्ने, सम्पदाहरुको संरक्षण गर्ने र बजारलाई स्थापित गर्ने योजनाका साथ तयारी थालिएको उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार शुरुमा वडा नम्बर १ का केही घरहरुको पुनःनिर्माण गर्ने, मर्मत गर्ने र पहिले जसरी व्यापार व्यवसाय सञ्चालन गर्ने अवस्थामा पुर्‍याउनका लागि अध्ययन गरेर बाँकी काम अगाडि बढाएको प्रमुख पाण्डेयले बताए । 

उनले अहिले माथिल्लो पुलको गणेश थान मन्दिरदेखि सिद्राबजार र लायन्स गेटसम्मको क्षेत्रका ४२ घरलाई पुनस्थापित गर्ने गरी तयारी गरिएको छ । जसका लागि स्थानीयसँग छलफल गर्ने, इच्छुकलाई कार्यक्रममा सहभागी हुन आह्वान गर्ने र नगरले आर्थिक रुपमा सहयोग गर्ने गरी प्रारम्भिक योजना बनेको प्रमुख पाण्डेको दाबी छ ।

‘बुटबल बजारलाई कसरी गुल्जार बनाउन सकिन्छ भन्ने विषयमा हामीले धेरै अघिदेखि छलफल चलाउँदै आएका थियौ’, उनले भने ‘बटौली बजारलाई सांस्कृतिक र पर्यटकीय रुपमा स्थापित गर्न सकिन्छ ।’ 

पुरानो बुटवलका नामले परिचित बटौलीमा थुपै पुराना र ऐतिहासिक घरहरु रहेका छन् । त्यहाँ रहेका घरहरुमध्ये जीर्ण भएका र पुनःनिर्माण गर्न सम्भव हुने घरहरुलाई नयाँ स्वरुप दिएर पूरानो बुटवलको मौलिकतामा लैजाने गरी शहरी विकास मन्त्रालयसँग छलफल भइरहेको प्रमुख पाण्डेयले बताए ।

बटौलीलाई मौलिक शैलीमा जोगाएर यहाँको पहिचानलाई उजागर गर्ने र बटौलीमा परम्परागत शैलीको व्यापारलाई पुनःस्थापित गर्ने योजनामाथि छलफल भइरहेको छ । 

चालु आर्थिक वर्षमा पूरानो बुटवल क्षेत्रमा हाइमास्ट लाइट र परम्परागत फल्चा निर्माणका लागि बजेट छुट्याइएको र अरु क्षेत्रगत विकासका लागि समेत बजेट विनियोजन गरेको प्रमुख पाण्डेयले मध्यान्हलाई  जानकारी दिए । 

शुरुमा ४२ वटा घरहरुलाई नमूनाका रुपमा काम अगाडि बढाउने र त्यसपछि बाँकी घरहरुलाई पुरानै शैलीमा रुपान्तरण गर्ने गरी नगर विकास कोष, बुटवल उपमहानगरपालिका र स्थानीयबासीबीच सहमति गरेर काम अगाडि बढाउने गरी योजना तयार भएको बुटवल उपमहानगरपालिकाका शहरी विकास महाशाखा प्रमुख सुमन श्रेष्ठले बताए । 

तीन पक्षबीच सहमति भइ काम शुरु भएमा २ वर्षमा सबै काम सकेर स्थानीयले बजार सञ्चालन गर्नसक्ने गरी नगर विकास कोषले गरेको अध्ययन रिपोर्टमाथि परामर्शदाता टोली र बुटवल उपमहानगरपालिकाबीच छलफल भएको श्रेष्ठको भनाइ छ ।

बजार धेरै पुरानो भएपनि ६२ वर्षअघि मात्र बुटवलले नगरको मान्यता पाएको हो । बटौली बजारलाई २०१६ साल फागुन ३ गते बुटवल–खस्यौली नगरपालिका नाम राखियो । पञ्चायती व्यवस्था शुरु भएपछि भने यसलाई बुटवल–खस्यौली नगर पञ्चायत भन्न थालियो ।  

२०४६ सालपछि बुटवल नगरपालिका उल्लेख भयो । २०७१ साल मंसिरमा साविक सेमलार र मोतीपुर गाविसलाई समेटेर उपमहानगरपालिकामा स्तरोन्नति भएको हो । बटौली बजार कुनै समय अहिलेको मुख्य बजार भन्दा तिनाउपारि मात्र सीमित थियो । २०२० को दशकतिर तिनाउवारी खस्यौलीमा पनि बस्ती र बजार बिस्तार हुँदै गए । २०३५ सालमा बटौली क्षेत्रमा रहेको नगरपालिकाको कार्यालय पनि अहिलको कार्यालय भएको ठाउँ हाटबजार लाइनमा सरेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise