२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

वन नजिकैको गाउँलाई जोगाउन तारजाली

ADV
रासस
२०८१ भदौ ३० गते १२:३४
वन नजिकैको गाउँलाई जोगाउन तारजाली

नेपालगञ्जः वन नजिकै बसोबास भएको गाउँलाई वन्यजन्तुबाट बचाउन तारजाली लगाइएको छ । मानव वन्यजन्तुबीचको द्वन्द्व रोक्न र स्थानीयका विभिन्न बालीमा नोक्सानी हुन नदिन बाँकेका तीन सामुदायिक वनमा उक्त तार जाली लगाइएको हो । शमशेरगञ्ज सब डिभिजन वन कार्यलयका वरिष्ठ वन अधिकृत सुशील सुवेदीले जिल्लाको राप्तीसोनारी गाउँपालिकामा रहेका अशोक सामुदायिक वन उपभोक्ता समूह, जनकल्याण सामुदायिक वन उपभोक्ता समूह र जनमुखी सामुदायिक वन उपभोक्ता समूहमा तार जाली लगाइएको जानकारी दिए । 

‘वनसँग जोडिएका धेरै गाउँ छन्, तर अहिले चार गाउँलाई ध्यान दिएर तारजाली गरेका हौं, बजेट थप भएपछि अझै विस्तार गरिनेछ’, उनले भने । जनमुखी सामुदायिक वनको तीनतर्फ वन भएको र बीचमा गाउँ रहेको उल्लेख गर्दै सुवेदीले सो स्थानमा बदेलको आतङ्क रहेको उनले जानकारी दिए । 

वन अधिकृत सुवेदीले बाँके राष्ट्रिय निकुञ्ज नजिकका तीन सामुदायिक वन उपभोक्ता समूहका वन क्षेत्रभित्र पर्ने कम्दी जैविक मार्ग अन्तर्गतका मानव बस्तीका चार सयभन्दा बढी घरधुरी लाभान्वित हुने गरी तारजाली लगाइएको बताए । तीन सामुदायिक वनका वन क्षेत्र र बस्तीबीच तीन हजार आठ सय ५० मिटर लम्बाइ रहेको तारजाली जडान गरिएको उनले उल्लेख गरे । त्यसबाट चार सय ६७ स्थानीय घरधुरी लाभान्वित भएको वन अधिकृत सुवेदीको भनाइ छ । 

तारजाली जडान कार्यक्रमअन्तर्गत राप्तीसोनारी–२ टिकुलीपुरस्थित जनकल्याण सामुदायिक वन उपभोक्ता समूहमा एकीकृत भू–परिधि व्यवस्थापन आयोजना (इलम)सँगको समन्वयमा एक हजार पाँच सय मिटर तारजाली जडान गरिएको छ । रु १८ लाख ७८ हजार तीन सय ४० इलम र रु छ लाख ७० हजार दुई सय ८९ समूहको गरी कुल रु २५ लाख ४८ हजार छ सय २९ को लागतमा उक्त तारजाली निर्माण गरिएको उनले बताए । 

त्यसैगरी राप्तीसोनारी–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता समूहमा पनि इलमको सहकार्यमा तारजाली जडान गरिएको छ । सो वन समूहमा एक हजार पाँच सय मिटर लामो तारजाली जडान गरिएको छ । त्यसबाट एक सय ३२ घरधुरी लाभान्वित भएका छन् । इलमको रु १२ लाख २० हजार नौ सय ७६ र समुहको रु नौ लाख ५९ हजार तीन सय ३७ गरी कुल रु २१ लाख ८० हजार तीन सय १३ लागतमा तारजाली निर्माण भएको वन अधिकृत सुवेदीले उल्लेख गरे । 

अशोक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भगानुसिंह थारुले तारजाली निर्माण भइसकेपछि स्थानीय पनि सुरक्षित भएको र बालीसमेत ढुक्कसँग भित्र्याउन पाएकामा खुशी व्यक्त गरे । उनले तारजाली हुनुभन्दा पहिले बाघ, बँदेल, स्याल तथा वनबिरालो लगायतका जनावरबाट क्षति व्यवहोर्नुपरेकाले अहिले त्यसबाट छुटकारा मिलेको बताए । 

ADVADV

सम्बन्धित खबर

Advertise