२०८१ असोज ८ गते मङ्गलवार / Sep 24 , 2024 , Tuesday
२०८१ असोज ८ गते मङ्गलवार

अत्यधिक गर्मीका कारण धमाधम बेहोस हुँदै विद्यार्थी

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ असोज ७ गते २२:००
अत्यधिक गर्मीका कारण धमाधम बेहोस हुँदै विद्यार्थी

रौतहट : रौतहटमा अत्यधिक गर्मीका कारण विद्यार्थीहरु धमाधम बेहोस हुन थालेका छन् । सोमबार धेरैजसो विद्यालयहरुमा गर्मीका कारण विद्यार्थीहरु बेहोस भएका हुन् । यस्तै जिल्लाको मौलापुर नगरपालिकास्थित श्री माध्यमिक विद्यालय पथरामा सोमबार ४ जना छात्रछात्राहरु बेहोस भएका छन् ।

श्री माध्यमिक विद्यालय पथराका अनुसार कक्षा ६ का नव्या साह, कक्षा ७ का अर्चना साह, कक्षा ९ का अरबिन्द साह र कक्षा १० का निधि गुप्ता अत्यधिक गर्मीका कारण कक्षाकोठामा बेहोस भएका थिए । बेहोस भएका ती चार जना छात्रछात्राहरुलाई उपचारका लागि राजदेवी नगरपालिकाको एम्बुलेन्समा प्रादेशिक अस्पताल गौर लगिएको छ । विद्यालयमा आइतबार पनि २ जना विद्यार्थी बेहोस भएका थिए । गर्मीबाट विद्यार्थीहरुलाई सुरक्षित राख्नका लागि विद्यालयमा चिसो पानीको व्यवस्थाका साथै विद्यालय सञ्चालनको समय बिहानको १० बजे हटाएर बिहानको ६ः३० बजे बनाएको छ ।

यस्तै चन्द्रपुर नगरपालिकाले यो समस्यालाई जटिल समस्याको रूपमा लिँदै विद्यालय क्षेत्रभित्रका सबै विद्यालयहरुलाई अगामी ८ गतेदेखि १६ गतेसम्मका लागि विद्यालय समय ६ बजेदेखि बनाएको छ । 

साथै देवाही गोनाही नगरपालिकाका विद्यालयहरुले पनि विद्यालय सञ्चालनको समय बिहानदेखि नै गरेको श्री माध्यमिक विद्यालय कर्कच गूठीका प्रधानाध्यापक पवन पण्डितले बताए । साथै रौतहटको शिक्षा शाखा प्रमुख राम विनय सिंहले सबै विद्यालयलाई केहीदिन अत्यधिक गर्मी रहेका कारण सबै व्यवस्था गरेर विद्यालय सञ्चालन गर्न आग्रह गरेका छन् ।  असहज भएमा विद्यालयमा बिदा दिन समेत आदेश दिएको उनले बताए । 

ADVADV

सम्बन्धित खबर

Advertise