हुम्ला : हुम्लाको ताँजकोट गाउँपालिका वडा नं. ३ राम गाउँमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान दशैंका लागि घर सजावट गर्न घर लिप्ने सेतो कमेरो माटो खन्ने क्रममा ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको हाे ।
मृत्यु हुनेमा ताँजाकाेट गाउँपालिका रोजगार शाखाका सहसंयोजक रामगाउँका ध्रुव शाही र सोही गाउँका २४ वर्षीया मनसरा मल्लको मृत्यु भएको छ । सँगै माटो लिन गएका रामगाउँका २६ वर्षीय लालबहादुर शाही घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानाएको छ ।
धेरै वर्षदेखि चाडबाडका अवसरमा कमेरो निकाल्दा ठूलो ओढार परेको ठाउँमा भित्र गएका बेला माथिबाटको ढिस्कोले उनीहरुलाई परेको गाउँपालिकाले जनाएको छ । कमेरोको ओढारबाट भाग्ने क्रममा लालबहादुर शाही घाइते भएका हुन् ।