२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

पश्चिम तराईमा असार ६ सम्म तातो हावाको लहर यथावत रहने

ADV
क्षितिज किरण
२०८१ असार २ गते २१:३९
पश्चिम तराईमा असार ६ सम्म तातो हावाको लहर यथावत रहने

बुटवल : पश्चिम तराईमा अझैं ४ दिन ताता हावाको लहर कायमै रहने भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आइतबार विशेष बुलेटिन जारी गर्दै असार ३ गतेदेखि ६ गतेसम्म तातो हावा तथा तातो हावाको लहर चल्ने जानकारी दिएको हो ।

यसअघि तीन दिनको मात्रै मौसम पूर्वानुमान गर्दै आएको महाशाखाले तातो हावाको लहरको यो पूर्वानुमान भने चार दिनसम्म गरेको छ ।

तातो लहर अर्थात् हिट वेभका असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।

लामो समयदेखि पानी नपर्दा पश्चिम नेपालका तराई तथा भित्री मधेशवासी सुक्खा र खडेरीको मारमा परेका छन् । महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले कोशी प्रदेशमा २८ जेठमा भित्रिएको मनसुन पश्चिमतिर फैलन नसक्दा गर्मी बढेको बताइन् ।

स्थानीय वायु, पश्चिमी वायु र भारतको बिहार आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभावका कारण मनसुन फैलिन ढिलाइ भइरहेको मौसमविद्हरू बताउँछन् ।

त्यसैले काठमाडौंसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लाहरूमा गर्मी उच्च छ । काठमाडौंको अधिकतम तापक्रम शनिबार ३५ वर्षपछिकै उच्च बिन्दुमा पुगेको थियो ।

शनिबार काठमाडौंको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस रेकर्ड भएको छ । यो २०४६ सालयताको सबैभन्दा उच्च अधिकतम तापक्रमको रेकर्ड हो । काठमाडौंमा २०४६ साल वैशाख २५ गते अर्थात् सन् १९८९ मे ७ तारिकको दिन अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस मापन भएको थियो । 

ADVADV

सम्बन्धित खबर

Advertise