काठमाडौं : नेपाल प्रहरीले काठमाडौंको कालिमाटी स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलनको विषयमा अनुसन्धान अघि बढाएको छ । यही सहकारीको रकम अपचलनको आरोपमा निकिता पौडेलविरूद्व प्रहरीमा जाहेरी परेको छ ।
निकिता स्वर्णलक्ष्मी सहकारीकी पूर्वउपाध्यक्ष हुन् । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा भएको आर्थिक अपचलनसम्बन्धी मुद्दा जिल्ला प्रहरी परिसर काठमाडौंले दर्ता गरेको छ ।
निकिता विरूद्धको जाहेरी दर्ता भएसँगै सहकारी ठगी प्रकरणमाथिको अनुसन्धानमा तानिने भएकी हुन् । निकिताले आफू कार्यरत रहेको बेला सहकारीबाट ऋण लिएको दाबी गरिएको छ ।
तर निकिताले ऋण तिरिसकेकी छिन् । तर, सहकारीबाट नियमविपरीत रकम प्रवाह गरिएको र थुप्रै बचतकर्ताको रकम अपचलन भएको आरोपमा मुद्दा दर्ता भएको हो ।
निकिता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी हुन् । रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेका छन् । लामिछाने यही कातिक २ गते पक्राउ परेका थिए ।
कास्की जिल्ला अदालतको आदेशमा कास्की प्रहरीले उनीसहित १४ जनाविरुद्ध सहकारी ठगी प्रकरणमा पक्राउ पूर्जी जारी गरेको थियो । त्यसआधारमा काठमाडौंको चमतीस्थित पार्टी कार्यालय परिसरबाटै लामिछानेलाई प्रहरीको केन्द्रीय अनुसिन्धान ब्युरो (सीआइबी)ले पक्राउ गरेको थियो ।
कास्कीस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा लामिछाने पक्राउ परेका थिए । रवि लामिछानेविरुठ ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान चलिरहेको छ ।
संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले हिरासतमा राख्न पाउने ६० दिनको हदम्याद हुन्छ भने सम्पत्ति शुद्धीकरणमा ९० दिनको हदम्याद रहन्छ । रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा अगाडि बढेसँगै रवि पत्नी निकिताविरुद्ध समेत सहकारी ठगीमा अनुसन्धान हुन लागेको हो ।
पति पत्नीको बीचमा बैंक कारोबारको रकम समेत संकास्पद रहेको प्रहरीको आशंका छ । तर, संसदीय छानबिन समिति भने सहकारी ठगीमा निकिता संलग्नताको विषयमा मौन रहेको थियो ।
तर, निकिता विगतमा संलग्न रहेको स्वर्णलक्ष्मी सहकारीमा काठमाडौं महानगरपालिकाले छापा मारेको थियो । निकिता निर्वतमान उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा काठमाडौं महानगरपालिकाले गत चैत २१ गते छापा मारेको थियो ।
महानगरपालिकाको सहकारी विभागले लामो समयदेखि बचतकर्ताको उजुरीका आधारमा रेकी गरिरहेको थियो । त्यसआधारमा सहकारीमा विभागका कर्मचारी, महानगर प्रहरी सहित टोलीले छापा मारेको थियो । छापा मारेपछिको अनुसन्धान भने अगाडि बढेको थिएन ।