पोखरा : दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग(पीपीएल) क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगिता आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले यही मङ्सिर २८ देखि पुस १२ गतेसम्म पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरेको हो । प्रतियोगितामा विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौँ गोल्डेन्स, पोखरा पल्टन र एक्सपर्ट धनगढी ब्लुज गरी छ टोलीले उपाधिका लागि स्पर्धा गर्नेछन् ।
मङ्सिर २८ गते उद्घाटन खेल साविक विजेता पोखरा पल्टन र काठमाडौँ गोल्डेन्सबीच हुनेछ । मङ्सिर २९ गते विराटनगर टाइटन्स र धनगढी ब्लुज तथा काठमाडौँ गोल्डेन्स र बुटवल ब्लास्टर्स बीच दुई खेल हुनेछ । मङ्सिर ३० गते पोखरा पल्टन र चितवन राइनोज स्पर्धामा उत्रिनेछन् भने पुस १ गते काठमाडौँ गोल्डेन्स र धनगढी ब्लुज तथा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच स्पर्धा हुने खेल तालिका छ । पुस २ गते बुटवल ब्लास्टर र चितवन राइनोज तथा पुस ३ गते पोखरा पल्टन र बुटवल ब्लास्टर तथा धनगढी ब्लुज र चितवन राइनोज भिड्ने छन् ।
पुस ४ गते विराटनगर टाइटन्स र काठमाडौँ गोल्डेन्स आमनेसामने हुनेछन् । पुस ५ गते विराटनगर टाइटन्स र चितवन राइनोज खेल्नेछन् भने सोहि दिन दिउँसो बुटवल ब्लास्टर र धनगढी ब्लुज प्रतिष्पर्धामा उत्रिने छन् । पुस ६ गते धनगढी ब्लुज र पोखरा पल्टन खेल्नेछन् । पुस ७ गते चितवन राइनोज र काठमाडौँ गोल्डेन्स तथा पुस ८ गते बुटवल ब्लास्टर र विराटनगर टाइटन्सबीच स्पर्धा हुने आयोजक संस्थाका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए । पुस १० गते समूहमा दोस्रो र तेस्रोका बीचमा फाइनल प्रवेशका लागि ‘इलिमिनेटर’ खेल हुनेछ ।
सो खेलको विजेता र समूह विजेताबीच पुस १२ गते प्रतियोगिताको उपाधिका लागि स्पर्धा हुने आयोजकले जनाएको छ । गत वर्ष विजेता पोखरा पल्टनले ट्रफीसहित नगद रु २७ लाख तथा उपविजेता चितवन राइनोजले नगद रु १० लाख प्राप्त गरेको थियो । आयोजकले यस संस्करणको पुरस्कार राशी सार्वजनिक गरिसकेको छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies