२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

बढ्दो सवारी दुर्घटना : चार दिनमा २१ जनाको मृत्यु, ८४ घाइते

ADV
२०८१ कार्तिक २७ गते ०६:४०
बढ्दो सवारी दुर्घटना : चार दिनमा २१ जनाको मृत्यु, ८४ घाइते

काठमाडौं : पछिल्ला दिनमा सवारी दुर्घटना बढेको छ । प्रहरीका अनुसार चार दिनको अवधिमा मात्रै देशका बिभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा परेर २१ जनाले ज्यान गुमाएका छन् । ८४ जना घाइते भएका छन् । सोमबार बागलुङ र जाजरकोटमा भएको सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ । ४० घाइते भएका छन् । 

यात्रु बोकेको पिकअप जिप सडकदेखि ५ सय मिटर तल भिरमा खस्दा बागलुङमा एउटै गाउँका ५ जनाको मृत्यु भएको हो । जैमिनी नगरपालिका वडा नम्बर–८ को केवैबाट सदरमुकाम बागलुङका लागि छुटेको ग २ च ९२४७ नम्बरको जिप दुर्घटनामा परेको हो । एक जना गम्भीर घाइले भएका छन् ।

दुर्घटनामा परेर जैमिनी नगरपालिका–८ केवइका ३८ वर्षीय चालक महेन्द्र पुन, उनकै छिमेकी २० वर्षकी रश्मी श्रीष, ५० वर्षकी नन्दकली पुन, १७ वर्षका निरज श्रीष र ७५ वर्षीय कुलप्रसाद श्रीषको मृत्यु भएको हो । 

जाजरकोटमा भएको छुट्टा–छुट्टै दुर्घटनामा परेर ३९ जना घाइते भएका छन् । जाजरकोट सदरमुकामबाट नेपालगञ्जका लागि छुटेको बा ५ ख १८९२ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा ३२ जना घाइते भए । बारेकोट गाउँपालिकाबाट सदरमुकामका लागि छुटेको भे १ ज ५९५ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भए ।

घाइतेहरुको केहीको स्थानीय अस्पताल र केहीको सुर्खेतमा उपचार भइराखेको छ । आइतबार कालीकोटमा जिप दुर्घटना सात जनाको मृत्यु भएको थियो । १२ जना घाइते भएका थिए । 

आइतबार दिउँसो कालीकोटको पलाँता गाउँपालिका वडा नम्बर –३ स्थित राडुनेटामा बोलेरो जिप दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा वडा नम्वर– ३ का दमन रोकाया, ५ का पदम बम, छायाँ शाही, ६ का पुन्नकला शाही, भगवती रोकाया र गणेश शाही रहेका छन् । गत शुक्रबार चितवन, दैलेख र पाँचथरमा भएको सवारी दुर्घटनामा परेर ११ जनाको मृत्यु भएको थियो । ३२ जना घाइते भएका थिए । चितवनस्थित नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सत्रकिलोमा भएको सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको हो ।  मुग्लिङबाट नारायणगढका लागि छुटेको बागमती प्रदेश ०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङका लागि छुटेको बागमती प्रदेश ०३–००१ ख २८१२ नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परेर मृत्यु हुनेमा गोरखाको आरुघाट गाउँपालिका–१ मान्बुका ४२ वर्षीय राजबहादुर गुरुङ र माइक्रोबस चालक चितवनको खैरहनी नगरपालिका–४ का ४० वर्षीय अनोज अधिकारी रहेका छन् ।  विनय त्रिवेणी गाउँपालिका–४ स्थित बगैँचाका ३५ वर्षीय सन्तोष भुसाल, सोही ठाउँकी ३३ वर्षीया सविना भुसाल र भारत घर भई पोखरामा किसाना पसल गर्दै आएका ३६ वर्षीय राजकुमार साहको पनि मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार मृतक सबै माइक्रोबसमा सवार यात्रु हुन् । एक जना घाइते थिए  । 

चितवनमै शुक्रबार बोलेरोले साइकललाई ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको थियो । भरतपुर महानगरपालिका–५ स्थित नयन चोकमा शुक्रबार मध्यान्न १२ बजे ना४च ६९५१ नम्बरको बलेरोले साइकललाई ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको हो । 

मृत्यु हुनेमा पर्सा सखुवापर्सौनी गाउँपालिका–४ घर भई हाल गैँडाकोट नगरपालिका–५ मा डेरा गरी बस्दै आएका १७ वर्षीय इशान अन्सारी रहेका छन् । शुक्रबार नै दैलेखमा यात्रुबहाक फोर्स गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो । २५ जना घाइते भएका थिए । शुक्रबार दिउँसो दैलेख बजारबाट सर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको यात्रुबहाक फोर्स गाडी दुर्घटनामा परेको हो । सुर्खेत–दैलेख सीमाना वीरेन्द्रनगर–१४ रातानाङ्लानजिक फोर्स गाडी दुर्घटनामा पर्दा चार जनाको मृत्यु भएको हो ।  गाडी झण्डै दुई सय मिटर तल खसेर दुर्घटनामा परेको हो । 

पाँचथरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो । ना४खा ७१२३ नम्बरको ट्रक ब्रेक फेल भई दुर्घटना हुँदा दुई जना घाइते भएका थिए । पाँचथरको मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–६ ढकाल गाउँमा दुर्घटना हुँदा पाँचथरकै हिलिहाङ–३ का ५७ वर्षीय भवानीशंकर पौडेलको मृत्यु भएको हो । 

ADVADV

सम्बन्धित खबर

Advertise