२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

मुख्यमन्त्री सिंहको कार्यशैलीप्रति सत्तागठबन्धनको असन्तुष्टि

ADV
कमल कुमाल
२०८१ कार्तिक २९ गते २३:०३
मुख्यमन्त्री सिंहको कार्यशैलीप्रति सत्तागठबन्धनको असन्तुष्टि

जनकपुरधाम । मधेश प्रदेश सरकारको कामकाजलाई लिएर असन्तुष्टि पोख्दै आएका सत्तागठबन्धनका घटक दलहरुले फेरि आफ्नो असन्तुष्टि पोखेका छन् ।
संघीय सत्ता गठबन्धनमा रहेकै कारण मधेश प्रदेश सरकारको नेतृत्व पाएको जनमत पार्टीको सरकारले सन्तोषजनक कामकाज नगरेको भन्दै आलोचना गरेको छ ।

बिहीबार बसेको सत्ता गठबन्धनको बैठकमा सतीशकुमार सिंह नेतृत्वको सरकारले बजेट खर्च गर्न नसकेको, प्रदेश सरकारको काम सन्तोषजनक नभएको, भाषणवाजीमै सीमित रहेको भन्दै विभिन्न विषयहरुमाथि छलफल भएको नेकपा एमाले मधेश प्रदेशका संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिए ।

मुख्यमन्त्री सिंह, प्रदेशका मन्त्रीहरु र गठबन्धन दलका नेताहरु बसेर बजेट खर्च हुन नसक्नुको कारण र प्रभावकारी ढंगले कामकाज हुन नसकेको भन्दै आलोचना भएको उनले बताए ।

मुख्यमन्त्री सिंहको पार्टी जनमतले पनि उनको आलोचना गरेको छ । जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादवले प्रदेश सरकार सुस्त भएको, बजेट खर्च गर्न नसकेको, काम प्रभावकारी नभएको, जनतामा निराश छाएको, जनगुनासो बढ्दै गएको भन्दै विभिन्न आरोप लगाउँदै आलोचना गरे । 
पूर्वमन्त्रीसमेत रहेका नेता यादवले भने, ‘प्रदेश सरकारले काम गर्न नसकेकाले जनतामा सरकारप्रति निकै निराश छ, निकै गुनासाहरु छन्, विगतको सरकारभन्दा पनि खतम छन् भन्ने जस्ता टिप्पणी र नेतृत्वकर्ता दलको हैसियतले बदनामी हुन थालेको छ ।’

उनले जनमत संसदीय दलको आह्वानमै गठबन्धनको बैठक बसेर गम्भीर छलफल गरिएको बताए । लोसपा नेपाल मधेश प्रदेशका संसदीय दलका उपनेता उपेन्द्र महतोले सरकारको गतिविधि विषयमा गम्भीर समीक्षा गर्नु अति आवश्यक भएकोले हामीले दबाब दिएको बताए । चाडवाड सकिए लगत्तै मधेश सरकारको बारेमा सत्तासिन दलहरु एकठाउँमा बसेर आवश्यक विषयवस्तुमाथि छलफल गरिएका घटक दलका नेताहरु बताउँछन् ।

प्रदेश सरकारलाई प्रभावकारी र सफल बनाउनका लागि सत्ता गठबन्धन दलको नियमित बैठक बस्नुपर्ने, कामलाई प्रभावकारी ढंगले अगाडि बढाउनु पर्ने जस्ता विषयवस्तुहरुमाथि पनि सो बैठकमा छलफल भएको थियो ।

सो बैठकमा मुख्यमन्त्री सिंहको आलोचना भए पछि बिहीबार नै अर्थ मन्त्रालयले बजेट रोक्का खुलाएको छ । बिहीबार बसेको बैठकमा भने मुख्यमन्त्री सिंहको उपस्थिति थिएन ।

उनी जनकपुरधाम बाहिरको कार्यव्यवस्तताको कारणले बैठकमा सहभागिता नरहेको स्रोतले जनाएको छ । सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णकुमार प्रसाद यादव, एमाले संसदीय दलका नेता सरोजकुमार यादव, जनमतका प्रदेश सांसद सञ्जय यादवलगायत समेत सहभागी थिए ।
 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise