काठमाडौँ : नेकपा (एमाले)ले मङ्सिर ७ गते काठमाडौँको भृकुटी मण्डपमा हुने जागरसभाको तयारीबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएको छ ।
एमाले महासचिव शङ्कर पोखरेलको उपस्थितिमा आज शुक्रबार दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा बृहत् पत्रकार सम्मेलन आयोजना गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
मुलुकमा बढ्दो अराजकता, अस्थिरताका विरुद्ध तथा लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनमत निर्माण गर्ने उद्देश्यले मङ्सिर ७ गते एमालेले जागरण सभा गर्दै छ ।
काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाको आयोजनामा एमालेले जागरण सभा गर्न लागेको हो । जागरण सभालाई भव्य र व्यवस्थित बनाउन जनसङ्गठन र सम्पर्क मञ्च परिचालन गरेको नेकपा एमाले बागमती प्रदेश कमिटी इन्चार्ज राजन भट्टराईको नेतृत्वमा ११ सदस्यीय जागरण सभा संयोजन समिति गठन भैसकेको छ ।