२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

अस्वीकार्य अभिव्यक्ति

ADV
मध्यान्ह
२०८१ मंसिर २ गते ०६:२५
अस्वीकार्य अभिव्यक्ति

शनिबार काभ्रे पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू फेरि प्रधानमन्त्री बन्न सक्ने संभावनाबारे बोलेका छन् । प्रचण्डले आफू चौथो पटक प्रधानमन्त्री बन्न सक्ने सन्देश दिन लोकतान्त्रिक अभ्यास सम्झिएका थिए । प्रमुख विपक्षी दल भनेको ‘गभर्मेन्ट इन वेटिङ’ भएकाले अर्को सरकारको पर्खाइमा माओवादी रहेको उनको भनाइ थियो । विगतमा माओवादीसँग जादू नम्बर रहेको आफ्नो अभिव्यक्तिलाई लिएर भएका टिप्प्णी पनि प्रचण्डले सम्झेका थिए । प्रतिनिधिसभामा ३२ सिटे भए पनि अर्को सरकार बन्दा माओवादीकै नेतृत्वमा बन्ने भएकाले नयाँ सरकार पर्खिरहेको प्रचण्डले बताएका थिए । झण्डै ४ महिनाअघि प्रधानमन्त्रीमा विश्वासको मत गुमाएर प्रतिपक्षी दलको नेता बन्न पुगेका प्रचण्डले अर्को सरकार बन्नेबारे सार्वजनिक अभिव्यक्ति दिएको यो पहिलो पटक हो । यसअघि प्रचण्डले सरकार फेर्ने खेलमा नफर्कने घोषणा गर्दै आएका थिए । 

तर, केही दिनयता प्रचण्डको बोली फेरिएको छ । काभ्रे पुगेर नयाँ सरकारको पर्खाइमा रहेको बताउने प्रचण्डले भारतीय एक आमसंचार माध्यमलाई दिएको अन्तर्वार्ता विवादित बनेको छ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले प्रचण्डले दिएको अन्तर्वार्ताप्रति आपत्ति जनाएको छ । शनिबार वक्तव्य जारी गरी एमालेले मुलुकको सार्वभौमसत्ता र स्वतन्त्रताबारे ख्याल नगरी प्रचण्डले अन्तर्वार्ता दिएको निष्कर्ष निकालेको छ । प्रचण्डको अभिव्यक्ति कुनै पनि सार्वभौम र स्वतन्त्र मुलुकका निम्ति उचित नरहेको एमालेको निष्कर्ष छ । हुनत प्रचण्डले प्रधानमन्त्री भइरहँदा पनि यस्तै विवादित अभिव्यक्ति दिएका थिए । आफूलाई प्रधानमन्त्री बनाउन एक ब्यापारीले नयाँ दिल्ली धाउने गरेको प्रचण्डको अभिव्यक्ति उनी प्रधानमन्त्री भइरहँदै विवादित बनेको थियो । प्रमु्ख प्रतिपक्षमा हुँदा पनि विवादित अन्तर्वाता दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतभन्दा पहिले चीनको भ्रमण गरेर ‘चिनियाँ कार्ड’ खेल्न लागेको प्रचण्डले अन्तर्वार्तामा बताएका छन् । यही अन्तर्वार्ताप्रति एमालेको आपत्ति छ । 

सरकारको नेतृत्व कसले गर्ने ? कुनकुन दल मिलेर प्रतिनिधिसभामा बहुमत जुटाउने ? जस्ता कुरा नेताहरूकै विषय हुन् । त्यसैले वर्तमान सरकार टिक्छ वा ढल्छ जस्ता अभिव्यक्ति दिन नेताहरू स्वतन्त्र छन् । सरकार फेर्ने अधिकार पनि दलहरूसँग छ । प्रतिनिधिसभामा बहुमत जुटाएर अहिले प्रतिपक्षमा रहेका दलहरूले नयाँ प्रधानमन्त्री बनाउन सक्छन्, यो संवैधानिक कुरा हो । तर, नेपालको सरकार फेर्ने कुरा अरू देशको सम्बन्धसँग जोड्नु विल्कुल गलत हो । अझ दक्षिण छिमेकी भारतलाई खुशी बनाएर नेपालको प्रधानमन्त्री बन्ने कुरा कुनै पनि सार्वभौम र स्वतन्त्र देशका नेताले सोच्ने विषय होइन । भलै, हाम्रो राजनीतिक इतिहासमा भारतको हस्तक्षेप अर्थपूर्ण रहँदै आएको छ । तर, विशेष परिस्थितिमा छिमेकी मुलुकले एउटा निर्णय लिनु र निष्कर्ष दिनु विशेष कुरै हो । यसको अर्थ सामान्य अवस्थामा पनि सत्ता स्वार्थकै निम्ति देशबाहिरको समर्थन खोजी हिँड्ने कुरा गलत हो । यस्तो अस्वीकार्य कदम प्रचण्डबाट अथवा अरू कुनै नेताले चाले पनि स्वीकार्य हुन सक्दैन । 

ADVADV

सम्बन्धित खबर

Advertise