रुकुम पश्चिम : रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । चौरजहारी नगरपालिका वडा नम्बर २ कुमाल गाउँ निवासी ३२ वर्षीया दिपा कुमालले आफ्नै श्रीमान ४० वर्षीय मधु कुमालको हत्या गरेको इलाका प्रहरी कार्यालय चौरजहारीले जनाएको छ ।
मध्यरातमा काठाको दाउराले श्रीमानको टाउकोमा हानेको दिपाले प्रहरीसमक्ष स्वीकार गरेकी छन् । घरमा बुबा आमाबीच विवाद बढेर हातपातको स्थिति सुरु भएपछि छोरा खिम कुमालले प्रहरीलाई खबर गरेका थिए । तर प्रहरी पुग्दा उनको हत्या भइसकेको प्रहरीको भनाइ छ ।
इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक दिपेन्द्र रावलको नेतृत्वमा गएको प्रहरी टोलीले हत्या आरोपी महिलालाई नियन्त्रणमा लिएको छ । मृतकको शव भने पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको बताइएको छ ।
प्रहरीका अनुसार घरायसी विवादको कारण श्रीमानको हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ । प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको जनाएको छ ।