काठमाडौं । सत्तारूढ नेकपा एमालेले काठमाडौंको दरबारमार्गमा आज सभा गर्दैछ । सभालाई दिउँसो साढे एक बजे प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।
सभाअघि एमालेले काठमाडौंको भद्रकालीबाट र्याली निकाल्ने छ । र्याली सुन्धारा, रत्नपार्क हुँदै दरबारमार्ग पुगेर सभामा परिणत हुने छ । यो सभालाई एमालेले ‘जागरण सभा’ नाम दिएको छ ।
एमालेले नेतृत्व गरेको वर्तमान सरकारले गरेका कामको प्रचार र भ्रमलाई चिर्ने उद्देश्यले जागरण सभा आयोजना गर्न लागेको एमालेले जनाएको छ । यो सभालाई एमालेको शक्ति प्रदर्शनको रुपमा हेरिएको छ ।
एमालेको सभालाई मध्यनगर गर्दै आज बिहानैबाट ट्राफिक प्रहरीले दरवारमार्गमा यातायात आवागमन बन्द गराएको थियो । जसले गर्दा आसपासका सडकहरूमा सवारीको चाप बढेको छ । केशरमहल, जयनेपालहल, महेन्द्र शालिकबाट गाडीहरु डाइभर्सन गरिएको उपत्यका ट्रफिक कार्यालयले बताएको छ ।
आज काठमाडौंका १२३ वटा ठाउँमा चेक प्वाइन्ट राखिएको छ । ती चेक प्वाइन्टमा ६४४ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ । ट्राफिक प्रहरी सहित कार्यक्रम स्थल र मुख्य–मुख्य ठाउँमा ३ वटै जिल्ला प्रहरी परिसर तथा प्रहरी बृत्तबाट प्रहरी परिचालन भएका छन् ।