काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सत्ता समीकरण र सरकारलाई कसैले हल्लाउन नसक्ने दाबी गरेका छन् ।
काठमाडौंको दरबारमार्गमा आज भएको एमालेको जनजागरण सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले वर्तमान सरकार देश र जनताको पहरेदारको रुपमा रहेको पनि दाबी गरे ।
‘एमालेलाई कसैले हल्लाउन सक्दैन । अहिलेको समीकरणलाई कसैले हल्लाउन सक्दैन । सरकारलाई कसैले हल्लाउन सक्दैन,’ प्रधानमन्त्री ओलीले भने, ‘यो सरकार कमिसन खोरीका लागि होइन । मेरिटोक्रेसीको नाममा आफ्ना कार्यकर्ता भर्नाका लागि होइन । जनताको विकासको चाहना पूरा गर्ने र स्थायित्व दिने गरी बनेको हो ।’
उनले एमाले र नेपाली कांग्रेस प्रतिस्पर्धी पार्टी भएपनि अहिले मुलुकका लागि एक ठाँउमा उभिएको बताए ।
नेपाली जनताले ल्याएको लोकतन्त्र र सार्वभौम जनताको हैसियतविरुद्ध षड्यन्त्र भइरहेकाले यी दुई पार्टी मिलेको उनले जिकिर गरे ।
ओलीले कानुन विपरीत क्रियाकलाप गर्ने जोसुकै भएपनि नछोड्ने बताए । ‘अराजकता, सामाजिक विद्धेष र विकृतिका विरुद्ध, लोकतन्त्र, सामाजिक सद्भाव र राष्ट्रिय एकताका पक्षमा एमालेले जागरण सभा गरेको उनको भनाइ छ ।
‘कसैले पनि कानुन विपरीत गर्न नहुने अपराधिक क्रियाकलाप गर्छ भने एमालेले छोड्दैन । मैले नेतृत्व गरेको सरकारले पनि छोड्दैन । अहिले एमाले र कांग्रेसको मिलिजुली संयुक्त सरकार छ । यसले छोड्दैन’, प्रधानमन्त्री ओलीले भने, ‘यो सरकार देशमा अनुशासन ल्याउनका निम्ति सोचविचार गरेर गठन गरिएको हो ।’
सरकारसँग सहकारी ठगीका अनेक प्रमाण रहेको पनि प्रधानमन्त्री ओलीले दाबी गरे ।
सहकारी ठगीमा दोषी देखिएका जोसुकै भएपनि कारवाही हुने उनले बताए । प्रधानमन्त्रीले भने, ‘सहकारी ठगीका अनेक प्रमाणहरू छन् । आफै सहकारी ठगी गर्ने अरुलाई मुख छाड्ने । अरूलाई गाली गर्ने । कुनै पनि भ्रष्टाचार सह्यै हुने छैन । कुनै पनि प्रकारको ठगी सह्यै हुनेछैन । मानव तस्करी सह्यै हुने छैन । कसैलाई पनि एमाले र अहिलेको सरकारले जुनसुकै पक्षको जोसुकै जुनसुकै होस् अनुहार हेर्दैन । अपराध गर्नेलाई कारबाही गर्छ ।’
ओलीले आफूमाथि भएका दुष्प्रचारहरू निराधार भएको बताए । उनले पछिल्लो समय केही तत्वहरूले भ्रम फैलाएर जनतामा घृणित फैलाउने दुष्चेष्टा गरिरहेको आरोप लगाए । उनले भने, ‘आफू बदमासी गर्ने अरुको टाउकोमा खन्याउने । यस्ता भ्रममा कोही पर्छ भन्ने कुरा मलाई विश्वास लाग्दैन ।’
उनले इतिहासमा बेइमानी नगरेकाले हरेक क्षेत्रमा एमालेको जीत अपरिहार्य हुने बताए ।
प्रधानमन्त्री ओलीले सरकारसँग मुलुकलाई हाक्नका लागि सही नीतिहरू रहेको बताउँदै तिनै नीतिअनुरुप अगाडि बढ्ने बताए ।
प्रधानमन्त्री ओलीले कम्बोडियामा ३२ हजार करोड लगानी गरेको फाल्तु भ्रम फैलिइरहेको बताए । उनले सात पुस्ता पुग्ने अर्बौं सम्पत्तिको मालिक बन्नेहरू पनि यहाँ रहेको बताए ।
‘कम्बोडियामा ३२ हजार करोड, २१ हजार करोड डलर, स्वीस बैंकमा यति हजार, तपाइँहरू हेर्न त जान सक्नु हुन्न । भन्दिए भो । त्योमात्र किन भन्ने अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो ल । भन्देउ न भन्दिनका लागि । यस्तो फाल्तु कुरा गरेर हुँदैन । कसले सात पुस्ता र गोरु बेचेको साइनोसम्मकालाई थुपारेर अर्बौं करोडौंको मालिक बनाएका छन् । त्यसका लागि हामी बहस गर्न तयार छौं,’ उनले भने ।