२०८१ मंसिर ११ गते मङ्गलवार / Nov 26 , 2024 , Tuesday
२०८१ मंसिर ११ गते मङ्गलवार

मनमोजी प्रचण्ड

ADV
अस्मिता बम
२०८१ मंसिर ११ गते ०६:३५
मनमोजी प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो विधान सम्मेलनको निर्णय उल्ट्याउनेगरी २ उपाध्यक्ष पद थप्न खोज्दै छन्, जसले पार्टीभित्र असन्तुष्टिसमेत पैदा गरेको नेताहरू बताउँछन् । 

नेताहरूका अनुसार २ कार्यकाल उपराष्ट्रपति भएका नन्दबहादुर पुन ‘पासाङ’लाई उपाध्यक्ष बनाउने प्रचण्डको तयारी छ । उपराष्ट्रपतिबाट हटेपछि नन्दबहादुर पुन माओवादी पदाधिकारी बैठकमा पनि सहभागी भइसकेका छन् । गत २५ कात्तिकमा बसेको पदाधिकारी बैठकमा पुन सहभागी भएका थिए । उनी १३ कात्तिक  २०७२ देखि ६ चैत २०७९ सम्म उपराष्ट्रपति थिए । उपराष्ट्रपतिबाट हटेपछि पुनले पुनः राजनीतिक भूमिका खोजेका छन् । त्यसका लागि प्रचण्डले केन्द्रीय संरचना फेरबदल गर्न लागेका हुन् । 

यही मेसोमा अमिक शेरचनलाई वरिष्ठ उपाध्यक्ष बनाउने तयारी प्रचण्डको छ । शेरचन गण्डकी र लुम्बिनी प्रदेशका पूर्वप्रमुख हुन् । शेरचन २०६२ सालको जनआन्दोलन गरेका ७ दलीय गठबन्धनको एउटा घटक जनमोर्चाको अध्यक्ष थिए । जनआन्दोलन सफल भएपछि उनको दल र माओवादीबीच २०६५ सालमा एकीकरण भएको थियो । त्यतिबेला पनि अध्यक्ष प्रचण्डले उनलाई उपाध्यक्ष बन्न प्रस्ताव गरेका थिए ।

यीलगायतका विषयमा छलफल गर्न आगामी २ पुसमा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै छ । उक्त बैठकमा नेत्रविक्रम चन्द ‘विप्लव’ नतृत्वको नेकपा, महिन्द्र राय यादव नेतृत्वको पार्टीसँग एकता गर्ने, पुन र शेरचनलाई पार्टीमा सक्रिय बनाउनेलगायतका एजेन्डामा छलफल गराउने प्रचण्डको तयारी छ । 

तर, अध्यक्ष प्रचण्डले आफूलाई सहयोग पुग्नेगरी मनमोजी तरिकाले पार्टीमा गतिविधि गर्न खोजेको भनेर असन्तुष्टिसमेत जनाएका छन् । औपचारिक रूपमा प्रचण्डको प्रस्तावको विपक्षमा नेताहरू बोल्न तयार छैनन् । 

हुनत प्रचण्ड आफ्नो पार्टीमा ३३ वर्षदेखि नेतृत्वमा छन् । २०४८ सालमा नेकपा मशालको महामन्त्री भएका प्रचण्ड त्यसयता निरन्तर नेतृत्वमा छन् । २०५२ सालदेखि माओवादी सशस्त्र युद्धको नेतृत्व गरेका प्रचण्ड शान्ति प्रक्रियापछि पनि पार्टीमा एकछत्र नेतृत्व गरिरहेका छन् । 

विगतमा माओवादीमा रहँदा नेतृत्वका लागि मोहन वैद्य ‘किरण’देखि डा. बाबुराम भट्टराईसम्मले प्रयास गरेका थिए तर प्रचण्डले सधैं अर्कोलाई नेतृत्वमा पुग्ष्न दिएनन् र आफैंले नेतृत्व लिइरहे । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपामा २ मध्ये एउटा अध्यक्ष थिए । त्यसबेला पनि प्रचण्डलाई मनमोजी चल्न खोजेको आरोप लागेको थियो ।

नेकपा एकता भंग भएपछि पनि प्रचण्ड माओवादीको नेतृत्वमै छन् । फेरि पनि प्रचण्डले आफूअनुकूल पार्टी चलाउन केन्द्रीय पार्टीको संरचना बदल्न लागिपरेको आरोप खेपिरहेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise