गलकोट : बागलुङमा ठुला राजमार्गसँग जोडिएका ग्रामीण सडक कालोपत्र भइसक्दा पनि जिल्लाका मुख्य सडक भने कालोपत्र हुनसकेका छैनन् । यहाँका तीन मुख्य सडक वर्षौँदेखि कालोपत्र हुन सकेका छैनन् ।
विसं २०७२ मा कालोपत्र गर्न ठेक्का सम्झौता भएको मध्यपहाडी पुष्पलाल राजमार्ग अझै धुलाम्य अवस्थामा छ । गण्डकी प्रदेश सरकार अन्तरगतका चार सडक सम्पन्नको चरणमा छन् ।
एउटा सडक अझै अधुरै छ । गलकोटको हटियादेखि ताराखोला जोड्ने सडक, बागलुङ नगरपालिका- ४ कुडुलेदेखि मालिका हुँदै पञ्चकोट पुग्ने सडक र ढोरपाटनदेखि म्याग्दी जोड्ने सडक निर्माण सम्पन्न भइसकेका छन् ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तरगत बागलुङ बजारदेखि घोडाबाँधे सम्मको २५ किमि सडक पाँच पटक म्याद थप्दासमेत सम्पन्न हुन सकेको छैन । बागलुङ नगरपालिका- ४ कुडुँलेदेखि मालिका हुँदै पञ्चकोट पुग्ने सडक सम्पन्न भएको छ ।
गलकोटको हटियादेखि ताराखोला जोड्ने सडक र ढोरपाटनदेखि म्याग्दी जोड्ने सडक कालोपत्र गरिएको छ । राङ्खानी-बरेङ सडकमा कालोपत्र गर्ने काम अन्तिम चरणमा छ । पछिल्लो तीन महिनायता ग्रामीण सडक ४० किमि कालोपत्र गरिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले ग्रामीण सडक धमाधम कालोपत्र गरिँदा मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ सदरमुकाम खण्ड र राष्ट्रिय प्राथमिकताको आयोजनाको रुपमा रहेको शालझण्डी ढोरपाटन सडक र राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोर अझै कालोपत्र हुन नसक्नु दुःखद भएको बताए ।
‘कतै निर्माण व्यवसायीको लापरबाही त कतै सरकारले भुक्तानी नदिँदा ठुला सडक कालोपत्र हुन सकेका छैनन्,’ उनले भने । सिगानाको एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक र कालीगण्डकी करिडोरको बागलुङ खण्ड सरकारले भुक्तानी दिन नसक्दा कालोपत्र भएको छैन । कुश्मिसेरादेखि राङ्खानीसम्मको १० किमि सडक पनि अधुरै छ ।
विसं २०७२ मा दुई वर्षमा सक्ने गरी ठेक्का सम्झौता भए पनि पाँच पटकसम्म म्याद थप गर्दासमेत बागलुङ बजारदेखि बिहुँ खण्डको १३ किमि सडक ६ किमि मात्रै कालोपत्र भएको छ ।
निहुँदेखि घोडाबाँधे सम्मको १२ किमि सडक कालोपत्र सम्पन्न नहुँदै ठेक्का रद्द गरेर नयाँ ठेक्का लगाइएको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतका इञ्जिनीयर उज्जल शर्माले जानकारी दिए । उहनले भने,’सम्झौताको नौ वर्षसम्म सडक कालोपत्र भएको छैन ।’