२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

बालविवाह रोक्न सरोकारवालासँग अन्तरक्रिया

ADV
कमल कुमाल
२०८१ असार ८ गते १६:१५
बालविवाह रोक्न सरोकारवालासँग अन्तरक्रिया

कालीकोट : स्थानीय स्तरमा हुने बालविवाह जस्ता घटनाहरु रोक्न सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालीकोटका अध्यक्ष जजराज शाहीको अध्यक्षता तथा आवाज संस्था सुर्खेत र हुरेन्डेक नेपाल कालीकोटको समन्वयमा सरोकारवालहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो । 

हुरेन्डेक नेपाल कालीकोटका अध्यक्ष शाहीले बालविवाह कानूनी अपराध रहेको बताउँदै यसलाई न्यूनीकरण गर्न सबै आ-आफ्नो ठाउँबाट लागिपर्नुपर्नेमा जोड दिए । आर्थिक अवस्था कमजोर, सामाजिक तथा चेतनाको कमीले गर्दा प्राय:जसो दलित समुदायमा बालविवाह हुने गरेको बताउँदै उनले २० वर्ष नपुगी कसैले पनि विवाह गर्न नहुने बताए ।

समाजका लागि बालविवाह एक घातक रोग रहेको बताउँदै शाहीले यसलाई न्यूनीकरण गर्नका लागि प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा जिल्लामा रहेका विभिन्न साझेदार संस्थाको प्रभावले गर्दा पहिलेभन्दा अहिलेको तथ्यांकमा बालविवाहको दरमा कमी आएको बताए ।

विगत केही वर्षदेखि बालविवाहविरुद्ध साझा अभियानले जिल्लाको शुभकालिका गाउँपालिका, महावै गाउँपालिका र खाँडाचक्र नगरपालिकामा बालविवाह न्यूनीकरण गर्नका लागि सरोकारवालाहरुसँग समन्वयात्मक बैठक, बालविवाहसम्बन्धी कानूनी प्रावधानमा अभिमुखीकरण, बालविवाह र जबरजस्ती विवाहजस्ता घटनालाई न्यूनीकरण तथा रोकथामसम्बन्धी अभिमुखीकरणजस्ता कार्यक्रम सञ्चालन गर्नुका साथै कर्णाली प्रदेशका १० जिल्लाका ३० वटा पालिकामा काम गरिरहेको साझा अभियानका जिल्ला संयोजक खडानन्द अधिकारीले बताए ।

गत वर्ष रास्कोट नगरपालिकामा हुन लागेका १७ वटा बालविवाह बदर गर्न सफल भएको हुरेन्डेकका सामाजिक परिचालक अमना कुमारी संज्यालले बताइन् । जिल्ला प्रहरी कार्यालय कालीकोटमा गत वर्ष बालविवाहसम्बन्धी २ वटा मुद्दा आएको थियो भने अहिले कुनै मुद्दा नआएको बताइएको छ । कार्यक्रम बालविवाहविरूद्ध साझा अभियान कालीकोटका सदस्य तथा पत्रकार किरण अधिकारीले सञ्चालन गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise