रौतहट : रौतहटको गढीमाई नगरपालिकाको विभिन्न वडाका टोलमा राष्ट्रिय मातृभूमि पार्टीले विपन्न परिवारलाई ३०० थान ब्ल्यांकेट वितरण गरेको छ । गढीमाई नगरपालिकामा चिसोबाट नागरिकलाई जोगाउने उद्देश्यले राष्ट्रिय मातृभूमि पार्टी गढीमाईका अध्यक्ष शम्भु प्रसाद साहको नेतृत्वमा एक विशेष कार्यक्रम आयोजना गरेर ब्ल्यांकेट वितरण गरिएको हो । कार्यक्रममा गरिब तथा असाहाय वर्गका ३०० परिवारलाई निःशुल्क ब्ल्यांकेट वितरण गरिएको थियो ।
पार्टीका नगर अध्यक्ष साहले ब्ल्यांकेट वितरण कार्यक्रमको उद्घाटन गर्दै भने, “नगरका कुनै पनि विपन्न नागरिक चिसोका कारण कठ्यांग्रिएर सुत्न नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो । हाम्रो प्रयास गरिब, दलित र असहाय वर्गका लागि राहत पुर्याउनु हो, जसले उनीहरूलाई चिसो मौसममा केही सहजता मिलोस् ।”
गढीमाई नगरपालिकाले यो अभियानलाई नगरका सबै ९ वटै वडामा विस्तार गर्ने योजना बनाएको छ । नगर अध्यक्ष साहका अनुसार प्रत्येक वडामा विपन्न वर्गका परिवारहरूको पहिचान गरी उनीहरूलाई आवश्यकताअनुसार ब्ल्यांकेट उपलब्ध गराइने भएको हो । यस अभियानले नगरका सबै जना नागरिकलाई चिसोबाट जोगाउने उद्देश्यलाई प्राथमिकतामा राखेका हुन् ।
ब्ल्यांकेट वितरण कार्यक्रममा सहभागी स्थानीयहरूले चिसो मौसममा ब्ल्यांकेट पाएपछि हर्षित भएका छन् । दलित समुदायका एक स्थानीयले भने, “हामीजस्ता गरिब परिवारलाई जाडो महिनामा चिसोबाट जोगिन दिइएको यो सहयोग अमूल्य छ । हामी पार्टीका नगर अध्यक्षप्रति आभारी छौं।”