अर्घाखाँची : जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले युवा तथा विद्यार्थीलाई लागुऔषध दुरुपयोगविरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
दिनानु दिन बढ्दै गइरहेको लागुऔषध दुर्व्यसनको समस्या समाधान गर्न कार्यक्रम आयोजना गरिएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए ।
नेपालमा बढ्दो गरिवी, बेरोजगारी, अशिक्षा, चेतनाको कमी, सामाजिक परिवेश जस्ता कारण, राजनीतिक असफलताको कारण तथा प्रहरीको कारबाही फितलो हुनुको कारणले यो समस्या दिनानुदिन बढ्दै गएको कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले लागुऔषध, लैंगिक हिंसा र बालविवाह जस्ता चुनौतीको सामना गर्न सबै सचेत हुन जरूरी रहेको बताउँदै प्रहरी प्रशासनले संचालन गर्ने यस्ता किसिमका सचेतनामूलक कार्यक्रमले समाजमा चेतनाको अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले समाजमा शान्ति, सुरक्षा स्थापना गर्न समाज र प्रहरीको हातेमालो हुन जरुरी रहेको बताउँदै अपराध न्यूनीकरण तथा रोकथाम गर्न स्थानीय स्तरबाटै जागरूक हुनुपर्नेमा जोड दिएका थिए ।
लागुऔषध नियन्त्रण सम्बन्धी तीन महिने अभियान अन्तर्गत युवा लक्षित कार्यक्रम ज्ञान प्रकाश माध्यमिक विद्यालयमा सञ्चालन गरिएकोमा प्रअ सूर्य खनालले धन्यवाद ज्ञापन गरेका थिए ।