बर्दघाट ::नेपालका लागि अत्यन्त दुर्लभ मानिने अलिभ किलब्याक सर्पको पहिलो स्पष्ट तस्बिर बर्दघाटमा खिचिएको छ ।
सर्प उद्धारकर्मी दुर्गा लामिछाने र फोटोग्राफर राज अधिकारीले संयुक्त रूपमा सर्पको फोटो खिचेर ऐतिहास कायम गरेका हुन् । यो सर्प दक्षिण एसियामा पाइने भए पनि नेपालमा बिरलै देखिन्छ । यसअघि यो सर्पको उपस्थिति पुष्टि भए पनि स्पष्ट तस्बिर खिचिएको थिएन । यस पटकको दस्तावेजिकरणलाई नेपालमा यस प्रजातिको पहिलो फोटोग्राफिक प्रमाणका रूपमा लिइएको छ ।
‘अलिभ किलब्याक’ सर्प कोलुब्रिडे परिवारमा पर्ने अविषालु प्रजाति हो । यो सर्प श्रीलंका, बङ्गलादेश, भारत, र नेपालमा पाइने भए पनि नेपालमा यसको उपस्थिति धेरै दुर्लभ छ । भारतको तमिलनाडु र आन्ध्र प्रदेश जस्ता क्षेत्रमा यो सर्प सामान्य रूपमा देखिन्छ ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) को रातो सूचीमा यस प्रजातिलाई कम चासोका प्रजातिका रूपमा वर्गीकृत गरिएको छ ।