२०८१ पुष २४ गते बुधवार / Jan 08 , 2025 , Wednesday
२०८१ पुष २४ गते बुधवार
Ads

कांग्रेस नेता विश्वकर्माको निजी लगानीमा बन्यो स्वास्थ्य भवन

ADV
मध्यान्ह
२०८१ पुष २२ गते १६:४५
कांग्रेस नेता विश्वकर्माको निजी लगानीमा बन्यो स्वास्थ्य भवन

सुनसरी : नेपाली कांग्रेसका नेता एवम् पूर्वउद्योग वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले निजी लगानीमा सामुदायिक स्वास्थ्य इकाईका लागि भवन निर्माण गरेका छन् । 

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित बराह मन्दिर परिसरमा नेता विश्वकर्माले आफ्ना स्वर्गीय बुवाआमाको स्मृतिमा ‘टिका–बखत भवन सामुदायिक भवन’ निर्माण गरेका हुन् । 

उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले उक्त भवनको उद्घाटन गर्दै बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीलाई हस्तान्तरण गरे । नगरपालिकाले उक्त भवनबाट सामुदायिक स्वास्थ्य इकाईको सेवा सञ्चालन गर्नेछ । 

हाल कांग्रेसको केन्द्रीय सञ्चार तथा सूचना प्रविधि विभागको प्रमुखसमेत रहेका नेता विश्वकर्माले आफ्ना स्वर्गीय आमा टिकामाया र स्वर्गीय बखत्बहादुरको सम्झनामा उक्त भवन निर्माण गरेका हुन् । 

भवन निर्माणका लागि करिब ६० लाख रुपैयाँ खर्च भएको छ । बराह क्षेत्र मन्दिरमा आउने भक्तजन्, तीर्थालुसहित स्थानीयबासीहरूलाई समेत आधारभूत र आकस्मिक स्वास्थ्य सेवा प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले भवन निर्माण गरिएको नेता विश्वकर्माले बताए ।

‘दुई वर्ष लगाएर भवन निर्माण भएर अब सामुदायिक स्वास्थ्य इकाई सञ्चालनको अवस्था बनेको छ । यसले मन्दिरमा आउने धर्मावलम्बी र स्थानीयबासीहरूलाई समेत आधारभूत र आकस्मिक स्वास्थ्य सेवा प्राप्त गर्नका लागि सहज हुन्छ भन्ने अपेक्षा राखेको छु’ उनले भने । 

भवनमा बिरामी जाँच कक्ष, स्वास्थ्यकर्मी आवास, सभाहल र पाहुना कक्षसमेत छन् ।
 

ADVADV

सम्बन्धित खबर

Advertise