धनगढी : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय तत्काल सञ्चालन हुन कठिन रहको बताएका छन् । आर्थिक स्रोत र मानव संशाधनलगायतका कुराले विश्वविद्यालय स्थापना गर्न कठिन हुने स्वास्थ्यमन्त्री पौडेलले बताए ।
‘विधेयक बन्दैमा गेटामा विश्वविद्यालय सञ्चालन हुन सक्दैन,’ मन्त्री पौडेलले भने ‘विश्वविद्यालय निर्माणको कुरामा कसैको असहमति छैन । तर। विश्वविद्यालय बन्न आफ्नै प्रक्रिया छन् । लागत अत्यधिक छ । आर्थिक स्रोत, मानव संशाधनलगायत पूर्वाधार आवश्यक हुन्छ । समय लाग्छ ।’
अस्पताल नै सञ्चालन नभएको र मेडिकल पढाइ पनि नभएको अवस्थामा विश्वविद्यालय बन्न कठिन हुने मन्त्री पौडेलले बताए । तत्काल अस्पताल सञ्चालन गर्ने र एमबीबीएस पढाइ सञ्चालन गर्नेतर्फ जानुपर्ने उनको भनाइ छ ।
मन्त्री पौडेलले गेटामा विश्वविद्यालय स्थापनाको प्रक्रिया लामो हुने र लागत पनि अत्यधिक हुने भएकाले तत्काल विशिष्टिकृत स्वास्थ्य सेवा उपलब्ध गर्ने गराउनेतर्फ आफ्नो जोड रहेको बताए । ‘असारसम्म एक सय बेडको त जसरी पनि बनाउँछौं । सकभर तीन सय बेडकै बनाउँछौं,’ मन्त्री पौडेलले ।
सरकारले २९ माघ २०८० मा कैलालीको गेटामा सहिद दशरथन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा विश्वविद्यालय स्थापना गर्ने विधेयक राष्ट्रिय सभाबाट पारित भएर हाल प्रतिनिधिसभामा विचाराधिन रछ ।