काठमाडौं : नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले कार्यक्रमको श्रव्यदृश्य (अडिओ र भिडियो) झिकाउन आदेश गरेको छ ।
न्यायाधीशहरू नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको मंगलवारको इजलासले अध्यक्ष घिमिरेले दिएको भनाइसम्बन्धीको अडिओ र भिडिओ झिकाउने आदेश गरेको हो ।
‘११ असोजमा काठमाडौं जिल्ला अदालत बार इकाइले आयोजना गरेको कार्यक्रममा व्यक्त गरेको भन्ने लिखित जवाफको प्रकरण ४ मा उल्लेख भएको देखिँदा उक्त कार्यक्रमको श्रव्य/दृश्यको छायाङ्कन/अभिलेख आयोजक बार इकाईबाट झिकाई प्रत्यर्थीलाई देखाई÷सुनाई सोको सनाखत गराई मिसिल सामेल गरी नियमानुसार पेस गर्नू’, सर्वोच्चले भनेको छ ।
नेपाल बारका अध्यक्ष घिमिरेले न्यायाधीश नियुक्तिका विषयलाई लिएर विवादास्पद अभिव्यक्ति दिएका थिए । उनले न्यायाधीश नियुक्तिमा प्रधानन्यायाधीशले लेनदेन गर्ने गरेको आरोप लगाएका थिए ।
अदालतको जनआस्थामा असर पुग्ने गरी सार्वजनिक टिप्पणी गरेको भन्दै सर्वाच्चका उपरजिष्ट्रार गोविन्द घिमिरेले उनीविरुद्ध अदालतको अवहेलनामा मुद्दा दिएका हुन् ।