काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासलाई हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आग्रह गरेकी छन् ।
बुधबार राजदूत बाससँग भएको भेटवार्तामा मन्त्री राणाले इजरायली राजदूत बासमार्फत् इजरायल सरकारसँग जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरिन् । उनले जोशीको अवस्थाका बारेमा जानकारी लिँदै हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न इजरायल सरकारसँग आग्रह गरिन् ।
हमास समूहले अपहरण गरी लगेकामध्ये ३४ जनालाई रिहा गर्न लागेको भन्ने सूचना आइरहेकाले यस विषयमा मन्त्री राणाले इजरायली राजदूतसँग जानकारी लिएकी हुन् । हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई अपहरण मुक्त गर्न लागेका भन्ने समाचार आएकाले जोशीको रिहाइलाई विशेष प्राथमिकतामा राख्न मन्त्री राणाले राजदूत बासमार्फत् इजरायल सरकारलाई आग्रह गरिन् ।
भेटमा राजदूत बासले हमासको नियन्त्रणमा रहेका वृद्धवृद्धा, महिला तथा बालबालिका समेतका नाजुक स्वास्थ्य अवस्थामा रहेका नागरिकहरूको रिहाइका लागि इजरायल सरकारले केही महिनाअघि हमासलाई सूची पठाएको र पहिलो चरणमा उनीहरूलाई
नियन्त्रणमुक्त गर्ने तयारी भएको भन्ने सूचना आएको जानकारी गराएका थिए । सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गरी प्यालेस्टाइनी हमास समूहले १० जना नेपालीसहित एक हजारभन्दा बढी व्यक्तिको हत्या गरेका थिए । त्यसलगत्तै उनीहरूले केही व्यक्तिलाई अपहरण गरी लागेकामा विपिन जोशी पनि रहेका छन् ।
जोशीको रिहाइका लागि नेपाल सरकारले आफ्ना कूटनीतिक प्रयास जारी राखेको छ । संयुक्त राष्ट्रसंघ, विभिन्न अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरूका साथै विभिन्न द्विपक्षीय एवं बहुपक्षीय बैठकहरूमा समेत परराष्ट्रमन्त्री राणाले अन्तर्राष्ट्रिय समुदायलाई जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै आएकी छन् ।