नेपालगन्ज : चिसो र शीतलहरले जनजीवन दिनदिनै कष्टकर बन्दै गएपछि नेपालगञ्जको सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाइएको छ ।
चिसो अत्यधिक बढेपछि बाँकेको कोहलपुर नगरपालिकाले नगरका विभिन्न सार्वजनिक ठाउँमा आगो ताप्ने व्यवस्था मिलाएको हो । विगत केही दिनदेखि हुस्सु, कुहिरो र शीतलहरसँगै बढेको चिसोले जनजीवन प्रभावित बनेपछि बुधबार नगरका विभिन्न स्थानमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाइएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले बताए । उनका अनुसार पालिकाका मुख्यचौराह, साझाचोक, हाइस्कुल, पिपरी, हवल्दारपुर, मदनचोक, कौशिलानगर, चप्परगौडीलगायत मानिस बढी जमघट हुने मुख्य राजमार्ग क्षेत्रका चोकहरूमा दाउरा वितरण सुरु गरिएको हो ।
जिल्ला वन पैदावर आपूर्ति समितिबाट दाउरा खरिद गरी इलाका प्रहरी कार्यालय कोहलपुरसँगको सहकार्यमा वितरण सुरु गरिएको नगर प्रहरी प्रमुख थापाले जानकारी दिए । चिसोबाट मजदुर, ठेला तथा रिक्सा चलाक, बालबालिका, वृद्धवृद्धा तथा विद्यार्थी बढी प्रभावित भएका छन् । शीतलहरसँगै बाक्लो हुस्सु लागेकाले सवारी साधनहरू सञ्चालनमा समेत समस्या भएको छ ।
भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी एवम् इमर्जेन्सी विभाग प्रमुख वरिष्ठ फिजिसियन डा.संकेत रिसालले चिसोका कारण बढीजसो बालबालिका र वृद्धवृद्धामा जोखिम हुने भएकाले सचेत रहन आग्रह गरे । उनका अनुसार पछिल्लो समय बालबालिका तथा वृद्धवृद्धाहरू निमोनिया, दम, फोक्सोको समस्या लिएर उपचार गर्न अस्पताल आउनेको संख्या बढ्दै गएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार शीतलहर तथा चिसोबाट नागरिकलाई जोगाउन जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर वन कार्यालय र सव–डिभिजन वन कार्यालयलाई न्यूनतम दररेटमा दाउरा उपलब्ध गराउन अनुरोध गरिएको बताए ।