अर्घाखाँची : रुपन्देहीको शुद्धोधन गाउँपालिकाको नाम ‘शुद्धोदन’ बनाइने भएको छ । अनौपचारिक रुपमा ‘शुद्धोदन’ चलनमा ल्याउन थालिएको भएपनि त्यसलाई औपचारिक र कानूनी रुपमै ल्याउने गरी आवश्यक प्रक्रिया अघि बढाइएको हो । गाउँपालिकाको १७औं अधिवेशनको तेस्रो बैठकले ‘शुद्धोदन’ नाम कानूनी रुपमै पास गरेको गाउँसभाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर घर्तीले जानकारी दिए ।
गाउँसभामा अध्यक्ष विष्णुप्रसाद बस्यालको तर्फबाट प्रवक्ता समेत रहेका कार्यपालिका सदस्य केशवप्रसाद अधिकारीले गाउँपालिकाको नाममा शुद्धीकरण तथा दीर्घकालीन सोचमा परिमार्जन गर्ने सम्बन्धी प्रस्ताव गाउँसभामा पेस गरेका थिए ।
गाउँपालिका स्थापना गर्दा गरिएको नामकरणको अर्थ र सान्दर्भिकतालाई समेतलाई आत्मसाथ गरेर गाउँपालिकाको नामको प्रयोग
सन्दर्भमा नाम शुद्ध बनाउने निर्णय गाउँसभाले पारित गरेको अध्यक्ष बस्यालले बताए । स्थापना गर्दा महामानव गौतमबुद्धका बुबाको नामबाट गाउँपालिकाको नामाकरण गरिएकोमा प्रचलनमा अशुद्ध रुप आएकोले त्यसलाई शुद्धता दिलाउन गाउँसभामा पेस भएको थियोे । जुन सान्दर्भिकता र औचित्यको आधारमा गाउँपालिकाको नामाकरण गरिएको हो । गाउँपालिकाको नाम स्थापनादेखि हालसम्म शुद्धोधन रहेको र सबैतिर शुद्धोधन नै प्रयोग भएको छ ।
गाउँपालिकाको नाम व्याकरणीक सिद्धान्तभन्दा फरक रहेको गाउँपालिकाको भनाइ थियोे । गाउँपालिकाको स्थापनाकालमा नामकरण गर्दा विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धका पिता शुद्धोदनको नामबाट गरिएको हो । शुद्धोधन गाउँपालिकाको १७ औं अधिवेशनले न्यायिक, विधायन र लेखा समितिका अर्धवार्षिक प्रतिवेदनहरू पारित गरेको छ । साथै सामाजिक, आर्थिक, पूर्वाधार, वन÷वातावरण र सुशासन÷संस्थागत गरी ५ वटा विषयगत समितिहरूका अर्धवार्षिक प्रतिवेदनहरू पारित भएका हुन् ।
अधिवेशनले चालू आ.व.को विनियोजन ऐनसहित गाउँपालिकाबाट बनेका १० वटा कानुनहरू अनुमोदन गरेको प्रमुख प्रशासकीय अधिकृत घर्तीले बताए । उनका अनुसार कार्यालयको संगठन तथा व्यवस्थापन अध्ययन प्रतिवदेन २०७७ मा संशोधन प्रस्ताव पारित गर्दै गाउँपालिकाको नाम शुद्धोधनलाई शुद्धोदन बनाउने शुद्धीकरण प्रस्ताव पारित भएको छ ।
शुद्धाशुद्धीमा नियमन गर्ने विभिन्न निकायहरूबाट भाषागत रूपमा त्रुटी हटाइ शुद्धता अपनाउनका लागि सबै स्थानीय तहहरूलाई विशेष ध्यानाकर्षण गराइएकोमा यसरी व्याकरणीक तथा भाषागत हिसाबले शुद्ध गरी लेख्न र प्रयोग गर्न जरुरी देखिएको प्रमुख प्रशासकीय अधिकृत घर्तीको भनाइ छ । त्यसैले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ उपदफा ३ बमोजिम प्रदेश सरकारमार्फत नेपाल सरकारमा पठाउने प्रयोजनार्थ गाउँपालिकाको नाम हालसम्म नेपालीमा शुद्धोधन र अंग्रेजीमा shuddhodhan भएकोमा अब उपरान्त नेपालीमा शुद्धोदन र अंग्रेजीमा shuddhodhan उल्लेख गर्नु उपयुक्त ठानी यो प्रस्ताव सभामा पेश भएकोमा सर्वसहमत पारित भएको हो ।
यस्तै गाउँसभाले गाउँपालिकाको दीर्घकालीन सोच समेत परिवर्तन गरेको छ । हालसम्म कायम रहेको ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार : सुशासन र समृद्धि शुद्धोधन गाउँपालिकाको मूल आधार’ भन्ने दीर्घकालीन सोचलाई परिमार्जन गरी अब उपरान्त ‘आर्थिक विकासमा प्रवद्र्धनः समृद्ध शुद्धोदन’ भन्ने दीर्घकालीन सोचको तय गरी लागू गर्ने गाउँसभाले निर्णय गरेको छ ।