दाङ : रुखबाट लडेर मृत्यु भएका भनिएका दाङको दंगीशरण गाउँपालिका–२ कौवाघारीका २५ वर्षीय प्रेमबहादुर कुसारीको शरीरमा बन्दुकको छर्रा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले घोराहीमा पत्रकार सम्मेलन गर्दै २२ वर्षीय छविलाल डाँगी ढुंगामा चिप्लिएपछि बन्दुक पड्किँदा गोली लागेर कुसारीको मृत्यु भएको जनाएको छ ।
प्रहरीको अनुसन्धानको क्रममा माघ ३ गते दिउँसो साढे ३ बजेतिर मृतकसहित तीन जना राजाकोट सामुदायिक वनबाट घाँस काट्ने र भारी पुगेपछि कालिज हान्ने भनेर भरूवा बन्दुक साथमै लिएर गएको खुलेको छ ।
जंगलमा हिँड्ने क्रममा छविलाल ढुंगामा चिप्लिएर लडे र लोडेड बन्दुक पड्किएर अगाडि हिँडिरहेका प्रेमबहादुरको दुबै तिघ्रा तथा घुँडाहरूमा गोली लागेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले बताए ।
नेपालगन्जबाट २२ वर्षीय छबिलाल डाँगी र तुलसीपुरबाट २७ वर्षीय पुष्पलाल बस्नेतलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । उनीहरुको साथबाट एकथान भरुवा बन्दुक पनि बरामद गरिएको छ । पक्राउ परेकाहरूमाथि कर्तव्य ज्यान र अवैध हातहतियार सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।