बझाङ : जंगली भालुको आक्रमणबाट बझाङको खप्तडछान्ना गाउँपालिकामा एक महिला गम्भीर घाइते भएकी छन् । खप्तडछान्ना गाउँपालिका–४, माझी गाउँकी २८ वर्षीया अंगिरा रोकायालाई बुधबार बिहान भालुले आक्रमण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार रोकाया वेडेभुवा जंगलमा घाँस काट्ने क्रममा भालुको आक्रमणमा परेकी हुन् । भालुको आक्रमणबाट उनको अनुहार र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ ।
गम्भीर घाइते भएकी रोकायलाई तत्कालै जिल्ला अस्पताल बझाङमा उपचारका लागि पुर्याइएको छ । अस्पताल स्रोतका अनुसार उनको अवस्था गम्भीर भए पनि चिकित्सकको टोलीले आवश्यक उपचार जारी राखेको छ ।