-हरिश कुँवर “प्रोमिश”
पाँच हजार बर्ष पुरानो मानव इतिहासमा ढुङ्गे, कृषि, औद्योगिक युग हुँदै विश्व मानव जगत आज आइ.टी. युगमा प्रविष्ट गरेको छ।जहॉ हाम्रो मुलुकपनि प्रारब्धदेखि हालसम्म यहि पङ्तिमा एउटा सहयात्रीको हैसियत राख्दै अविछिन्नरुपमा अघि बढिरहेको छ । शासनकालको सन्दर्भमा गोपालवंशी, किराँतवंशी हुँदै लिच्छिविकाल, मल्लकाल, राजा रजौटाद्वारा शासित बाइसे चौविसे राज्यकाल, २३८ बर्षे शाहवंशीय राज्यकाल, १०४ बर्षे जहाँनीया राणा शासनकाल, ३० बर्षे पञ्चायती ब्यबस्था , बहुललीय प्रजातन्त्र लोकतन्त्र हुँदै आज संघीय गणतन्त्रको अभ्यास गरिरहेको छ ।
साबिकदेखि वर्तमानपर्यन्त राज्य सञ्चालन गर्ने क्रममा “रैती मोटा भया दरबार बलियो रहन्या छ” भन्ने दिव्योपदेशबाट निर्देशित राज्यसत्ता वि.स. १८२५ देखि वि.स.२०६३ सम्म १४ जना राजाहरुले यो देशको बागडोर सम्हाले । शक्तिसम्पनताको हैसियतमा राजा पछिको दोश्रो वरीयताको पद प्रधानमन्त्रीका सन्दर्भमा वि.स. १८५९ देखि वि.स.२०७७ सम्मको २१८ बर्षमा ७ जना कार्यकारी प्रधानमन्त्री वा राजाद्धारा प्रत्यक्ष शासन र ३८ जना प्रधानमन्त्रीहरुद्धारा देशको शाशनसत्ताको बागडोर सम्हाल्ने काम भयो ।
आज संसारभर १९५ वटा देशहरको पङ्तिमा विविध हिसाबले एउट पृथक पहिचान बोकेको देश , सीता र भृकुटीको पवित्र जन्म थलो , पूर्वीय दर्शनको उद्गमस्थल, सनातन हिन्दु धर्मको प्रादुर्भाव यहि भएको हो भने हिन्दुहरुको पवित्र तीर्थस्थल पशुपतिनाथको भूमि हो- नेपाल । भगवान गौतम बुद्धको जन्म थलो , विश्वको सर्वेच्च शिखर सगरमाथाको देश , वीर सपुतहरु बलभद्र कँवर, भक्ति थापा र अमर सिंह थापाहरुको वीरताका कारण विश्वको कुनै पनि साम्राज्यसंग कहि कतै नझुकेको वीरताको गाथाले सुसज्जित देश पनि हो - नेपाल।
साबिकको कुरा गर्दा आज भन्दा ११७ बर्ष अगाडि अर्थात ई.सं. १९०३मा चन्द्र शमसेर राणाले १७०० कोठा सहितको सिंहदरबार निर्माण गरे । उक्त दरबार तत्कालिन समयमा एशियाकै सबभन्दा ठूलो दरबारको रुपमा चिनिन्थ्यो । विद्युतको कुरा गर्दा ई.सं. १९०५मा निर्मित भारतको कर्नाटक राज्यको बेङ्गालुरु जलविद्युत एशियाकै पहिलो जलविद्युत हो भने त्यसको जम्मा ६ बर्ष पछि अर्थात ई.सं. १९११ (वि.स.१९६८)मा निर्मित नेपालको फर्पिङ जलविद्युत एशियाकै दोश्रो जलविद्युत हो । काठमाण्डौमा विजुली बल्दा हाल सम्मन्न भनिएका एसियाका अन्य मुलुकहरु र संसारका अन्य धेरै मुलुकहरुलाई एकादेशको कथा जस्तै थियो। तत्कालीन समयमा नेपाल यति धनी वा सम्पन्न थियो कि प्रधानमन्त्री जङ्ग बहादुर राणाले वि.सं. १९१३ मा शासन छोड्दा रु ११ करोड जम्मा पारेर नव प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए । जुन रकम तत्कालीन एशियाको लागी धेरै ठुलो रकम मनिन्थ्यो ।
अतः साबिकको परिदृश्य हेर्दा हरेक हिसबले विश्व समुदायमा एउटा सवल, सक्षम र उत्कृष्ट पहिचान भएको देश आजका दिनसम्म आइ पुग्दा विकासको हिसाबले अत्यन्तै पिछडिएको अवस्थामा गुज्रनु परेको छ । यो सब जस वा अपजस माथी उल्लेखित केहि पछिल्ला शासकहरुको शासनसत्ता नै हो भन्दा अत्युक्ति नहोला । यसर्थ अव उप्रन्त हाम्रो देशलाइ विकासका दृष्ट्रिले एवं सुःख, शान्ति र समृद्धिका दृष्ट्रिले विश्वका अन्य विकशित मुलुकहरुको दाँजोमा लैजानका लागि देहायका विषयमा सुधार गरि देशको समग्र रि–इन्जिनियरिड गर्न जरुरी छ।
१. व्यवसायिक क्षेत्रमा सुधार
वैदेशिक रोजगार व्यवसाय र पर्यटन व्यवसाय जस्तो कुल गार्हस्थ उत्पादनको ठुलो हिस्सा ओगटेको क्षेत्र कोरोना महामारीका कारण पूर्णरुपमा धरासायी भएको अवस्थामा कृषि व्यवसाय नै हाम्रो देशको लागि निर्विकल्प व्यासाय हो भने कृषिलाई आधुनिक र व्यवसायिक बनाउनु पर्दछ। यसका साथ साथै औद्योगिक क्षेत्रमा पनि राज्यको ध्यान जान जरुरी छ । स–साना लगानीबाट संचालन गरि आफ्नो देशलाइ आवस्यक दैनिक उपभोग्य वस्तुहरुको उत्पादन गरि देशलाई आत्मनिर्भर वनाउनु आजको आवस्यकता हो ।
२. निकासी र पैठारीमा सिलिङ
आफ्नो देशमा उत्पादन नभएको वस्तु वा उत्पादन भए पनि उत्पादित परिमाण अपर्याप्त भएमात्र उक्त वस्तु अन्य मुलुकबाट पैठारी वा आयात गर्ने र आफ्नो देशमा उत्पादित वस्तु उपभोग गरि वढि भएमा उक्त अधिक परिमाणमात्र निकासी वा निर्यात गर्न आवस्यक कानुन, ऐन, नियम र वातावरण बनाई देशलाई आत्मानिर्भर बनाउन जरुरी छ ।
३. स्वदेशी वस्तुको प्रयोग वा उपभोगको नीति
स्वदेशी वस्तुको उपभोगको सन्दर्भमा चाहे त्यो निम्न वर्गको, अत्यन्तै गरिब होस वा चाहे त्यो संभ्रान्त परिवारको होस , झुप्रोदेखि महलसम्म, पियनदेखि हाकिमसम्म, वडा सदस्य देखि प्रधानमन्त्री र राष्ट्रपतिसम्म सबैले स्वदेशी उत्पादन नै प्रयोग गर्नु पर्ने र नेपालमा अन्य मुलुकको सरसमान विक्री वितरण नै नगर्ने नगराउने कानुन र वातावरण वनाइ देशलाई परनिर्भरताबाट विमुक्त गराउन जरुरी छ। तर स्वदेशमा उत्पादन नभएको वस्तु अत्यावस्यक भएमा आफ्नो देशमा उत्पादन नहुँदासम्मका लागि मात्र विदेशी वस्तुको विक्री वितरण र प्रयोग गर्न रोक नलगाउने खालको कानुनी वातावरण बनाउनु पर्दछ ।
४. सामाजिक क्षेत्रमा सुधार
शिक्षा र स्वास्थ्यलाइ निःशुल्क रुपमा उपभोग गर्न पाउनु एउटा सार्वभौमसत्ता सम्मन्न मुलुक भित्र बसोवास गर्ने नागरिकको हैसियतमा अभिलाषा रहन्छ । शिक्षा भनेको मुलुकको भविश्यसंग सम्बन्धित हुन्छ भने स्वास्थ्य भनेको जनताको जीवनसंग सम्बन्धित हुन्छ । यस्तो क्षेत्रलाइ निजीकरण होइन पूर्ण सरकारी बनाइ सम्पूर्ण जनता (अत्यन्त गरिब र निम्न वर्ग समेत) लाई शारिरिक र मानसिकरुपमा स्वस्थ रहन सक्ने वातावरण वनाइनु पर्दछ।
५. रोजगार र व्यवसाय
विदेशमा पढ्न र विदेशमै रोजगार वा व्यवसाय गर्न दिइएको स्वतन्त्रताको कारण देशको ठूलो उत्पादनशील जनशक्ति र सीप तथा पूँजी विशेशमा छ भने दक्ष जनशक्ति र पूँजीको अभावमा विकास र समृद्धि विश्वसामु निरिह बनेको छ । तसर्थ वैदेशिक रोजगारलाई पूर्णरुपमा बन्द गरि नेपाली नागरिकता नै त्याग गरि विदेशी नागरिकता लिइ विदेशमा वसेकाबाहेक विदेशमा प्रगोग भइ रहेको पूँजी र श्रमलाइ राष्ट्रियताको भावना जगाएर नेपाल भित्र्याइ आफ्नो देशमा रोजगार र व्यवसाय गर्ने वातावरण बनाइनु पर्दछ ।
६. कोरोना माहामारी (कोभिड-१९) चुनौती र संभावना
कोरोना महामारी (कोभिड-१९)का कारण विश्वभर धेरै मान्छेहरु संक्रमित भएका छन। यो सख्या दिन दिनै वढने क्रममा छ। युरोप र अमेरीकाजस्ता विकशित र शक्तिसम्पन मुलुकहरु पनि यसबाट झन वढि आक्रान्त भएका छन । यो कहिले टुङ्गिने हो र अझै कति धनजनको क्षति हुने हो भन्ने विषयमा कसैले आँकलन गर्न सक्नेवाला छैन । अतः यसका कारण सम्पूर्ण विश्वभरका मानिसहरुको दिनचर्या, जिविकोपार्जनको आधार, व्यापार–व्यवसाय, राजनीति र जीवनशैली नै परिवर्तन भएको छ । तसर्थ २१औं शताव्दीका मान्छेहरुकालागि यो एक चुनौती हो भने हाल भोग्दै आएको जीवनशैली, अबलम्वन गर्दै आएको कार्य व्यवस्थालाई परिवर्तन गरि नयाँ जीवनशैली, नयाँ मान्यता र नयाँ दृष्ट्रिकोणका आधारमा हालसम्म अबलम्वन गर्दै आएको परम्पराको क्रमभङ्ग गरि देश, काल र परिस्थिति अनुकुल मान्यता स्थापित गर्ने अवसर पनि हो । तसर्थ देश र जनतालाइ अप्ठ्यारो वा असहजता महसुश भएका जे जे कुराहरु छन सवैको पहिचान गरि तिनिहरुको परिवर्तन गराउन जरुरी छ । विषेश गरि उत्पादन वितरण, निकासी, पैठारी, र वेदेशिक रोजगारजस्ता विषयमा चाहे डब्लूटिओ र आईएलओबाट विच्छेद हुन किन नपरोस देशले विकासमा एउटा चरण पार नगर्दासम्म देश सुहाउदो नीति नियम वनाइ लागु गर्न यहि एउटा अवसर हुन सक्दछ भन्नेमा शासकवर्गको ध्यान जान जरुरी छ।
७. विविध
सम्पूर्ण राजनेतिक दल र नागरिक समाजद्धारा सर्वस्विकार्य परराष्ट नीति वनाइ जुन सुकै पार्टीको सरकार आए पनि सोही वमोजीम कार्यन्वयन, भूमण्डीकरण , निजिकरण र नवउदारवादलाई हाम्रो देश सुहाउदो तवरले व्याख्या र अवलम्वन, मन्त्री र मन्त्रालयको सख्यामा आवस्यक कटौती, ८८४ जना सभासद, ७५३ जना मेयर ७५३ जना उप–मेयर, ६७४२ जना वडा अध्यक्ष र २६७९० जना वडा सदस्यसहित ३५९२२ जना जनप्रतितिधिहरु जुन राज्यको लागि आवस्यक नै छैन यसमा कटौतीजस्ता विविध विषयमा देश सुहाउँदो परिवर्तन गरि राज्यलाइ नै एक पटक रि- ईन्जिनियरिङ गर्न सके हामी पनि एशियाका अन्य मुलुकहरुको गतिमा अघि वढ्न सकिने र निश्चित समयावधिमा विकसित मुलुकको सूचिमा नेपालको नाम पनि पञ्जीकृत हुने छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies