२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

जंगली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ बिरामी

ADV
मध्यान्ह
२०८१ असार १२ गते १४:५८
जंगली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ बिरामी

हेटौँडा : जंगली च्याउ खाँदा मकवानपुरमा तीन जनाको मृत्यु भएको छ भने १६ जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गत असार ३ गतेदेखि १० गतेसम्मको अवधिमा जंगली च्याउ खाँदा मकवानपुरगढी, कैलाश र राक्सिराङ गाउँपालिकाका १६ जना बिरामी भएका हुन् ।

कैलाश–९ नामटारमा जंगली च्याउ खाँदा चार वर्षीय दिपेश लामा, कैलाश–९ की २५ वर्षीया निरुमाया रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । “बिरामी भई हेटौँडा अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि चितवन लगिएको थियो । परिवारले आफू खुसी अस्पतालबाट घर ल्याउने क्रममा लामाको मृत्यु भएको हो”, उनले भने, “असार ३ गते च्याउ खानुभएकी रुम्बाको उपचारका क्रममा असार ९ गने मृत्यु भएको हो ।”

प्रहरी चौकी कान्द्राङका अनुसार आइतबार बिहान राक्सिराङ–७ दुगुवाङमा जंगली च्याउ खाँदा बलबहादुर प्रजासहित एकै परिवारका पाँच जना बिरामी परेका थिए । बिरामी पाँचै जनाको भरतपुर अस्पतालामा उपचार भइरहेकामा बलबहादुरको मृत्यु भएको प्रनाउ भण्डारीले बताए । 

राक्सिराङ–७ दुगुवाङका स्थानीय बलबहादुर प्रजाले जंगलबाट ल्याएको जंगली च्याउ पकाएर खाँदा एकै परिवारका पाँच जना बिरामी भइ उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा ५५ वर्षीय बलबहादुरको उपचारका क्रममा मृत्यु भएको थियो ।  

अस्थायी प्रहरी पोष्ट गिङुका अनुसार सोमबार जंगलबाट ल्याइएको च्याउ खाँदा राक्सिराङ–८ लाचेमा एकै परिवारका चार जना बिरामी भएका छन् । एक्काइस २१ वर्षीय भुवल प्रजा, २१ वर्षीय रतिमाया प्रजा, तीन वर्षीय समिक प्रजा र पूर्ण प्रजा बिरामी भएका हुन् । उनीहरूको पनि भरतपुरमा उपचार भइरहेको छ । 

प्रनाउ भण्डारीका अनुसार मकवानपुरगढी गाउँपालिका–६ सानुसल्ले र वडा नं ५ कालीवनका आठ जनाले जंगली गोब्रे च्याउ खाई बिरामी भएका थिए । बिरामी आठै जनालाई हेटौँडा अस्पतालमा उपचार पश्चात् घर पठाइएकोे उनले जानकारी दिए ।

“वर्षायाममा जंगलमा च्याउ बढी उम्रने भन्दै सोही च्याउ खाँदा एकसातामा तीन जनाको मृत्यु भएको छ । बिरामी आठ जना घर फर्किनुभएको छ भने अन्यको भरतपुर अस्पतालमा उपचार भइरहेको छ”, प्रहरी नायब उपरिक्षक भण्डारीले भने ।

ADVADV

सम्बन्धित खबर

Advertise