भालुवाङ : नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन गर्ने बेला दुई दलबीच भएको सात बुँदे सहमति कार्यान्वयन गर्न कांग्रेस–एमाले दुबै पार्टी दृढ विश्वासका साथ अगाडि बढेको बताएका छन् । दाङको दंगीशरण गाउँपालिका वडा नम्बर ३ चखौरास्थित थारु संग्राहलयमा शनिबारदेखि सुरु भएको २ दिने अन्तर प्रदेश स्तरिय थारु सांस्कृतिक तथा रैथाने खाना महोत्सव उद्घाटन गर्दै सभापति देउवाले दुई ठूला पार्टी कांग्रेस–एमाले मिलेर बनेको सरकारको ६ महिनाको अवधिले अर्थतन्त्र लयमा फर्किएको र धेरै राम्रा कामहरुको सुरुवात भएको भएपनि त्यसको प्रतिफल देखिनेक्रम जारी रहेको बताए ।
‘धेरै पार्टी मिलेर विगतमा सरकार गठन हँुदा सरकारहरु स्थिरत हुन नसकेकाले ठूला पार्टी बीचको सहमतिले यो सरकार गठन भएको छ । हामी दुवै दल र अन्य राजनीतिक दलहरूको सरकारलाई समर्थन रहेको छ ।’
सरकारले ल्याएको अध्यादेश पास हने देउवाले दाबी गरे । सात बुँदे सहमति कार्यान्वयनमा नेपाली कांग्रेसमा कुनै विवाद नभएकाले सरकार ८४ सम्म निरन्तर रुपमा अगाडि बढ्ने उनको भनाइ छ ।
‘सरकारमा सहभागी नभएका तर सरकारलाई समर्थन गरेका सबै राजनीतिक दलहरुको निरन्तर सहयोग सरकारलाई हुन्छ,’देउवाले भने । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने यसै व्यवस्थाका माध्यमले मुलुकमा दिगो शान्ति स्थापना गर्दै भ्रष्टाचार नियन्त्रण गर्ने, देशको अर्थतन्त्रलाई चलायमान बनाउँदै आर्थिक प्रगति गर्ने, आर्थिक अवस्थालाई सुदृढीकरण गरी समृद्धि प्राप्त गर्ने सरकारको मुख्य लक्ष्य रहेकोले सोही अनुसार काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएको देउवाले खुलासा गरे ।
दुई दल मिलेर बनेको संघीय सरकार प्रदेश सरकार अहिले बिग्रिएको अर्थतन्त्रलाई लयमा ल्याउँदै विकास निर्माणका कामलाई दु्रत रूपमा अघि बढाइ जनताको विश्वास जित्नुपर्ने गरी अगाडि बढेको र आगामी दिनमा अझै राम्रो प्रभावकारी ढंगले काम गर्दै जाने विश्वास लिएको उनले बताए ।
देउवाले जनमुखी काम गरेर प्रदेश सरकार जनताको घर नजिकको सरकार हो भन्ने पुष्टि हुने गरी काम गर्न समेत मुख्यमन्त्री लगायत प्रदेश सरकारका मन्त्रीलाई निर्देशन दिए । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायको मौलिक कला, संस्कृति संरक्षण गर्दै त्यसलाई आर्थिक आम्दानीसँग जोड्न आवश्यक रहेको बताए ।
‘हाम्रा मौलिक कला संस्कृति संरक्षण गर्दै त्यसलाई थारु समुदायको आर्थिक आम्दानीसँग जोड्न जरुरी छ,’उनले भने,‘प्रदेश सरकारले थारु सांस्कृतिक संग्रहालय, होमस्टे सञ्चालनजस्ता कार्यलाई प्राथमिकतामा राखेको छ ।’ साथै, यो समुदायका लागि सीप हस्तान्तरणलाई समेत प्राथमिकतामा राखिएको दाबी गरे । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्व गृहमन्त्री बालकृष्ण खाड, नेपाली कांग्रेसका नेता देबेन्द्रराज कँडेल, नेता दिपक गिरि, लुम्बिनी प्रदेश सरकारका मन्त्रीहरुले सम्बोधन गरेका थिए ।
कार्यक्रममा अध्यक्ष तथा लुम्बिनी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले थारु भाषा, कला, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले दुई दिने महोत्सव आयोजना गरिएको जानकारी दिए ।
‘हाम्रो संस्कृति, हाम्रो सान–संस्कृति संरक्षणले बढ्छ देशको मान’ भन्ने मूल नाराका साथ कार्यक्रमको आयोजना गरिएको उनले बताए ।
महोत्सवमा दाङ र नवलपरासीको बर्का नाच, कैलालीको मुङग्रहवा र चितवनको थारु नाच प्रस्तुत गरिएको छ । महोत्सवमा सांस्कृतिक प्रतियोगिता एवं थारु लगायत विभिन्न जातजातिका रैथाने परिकारको प्रदर्शनी हुने चौधरीले बताए ।
थारु परिकारमा ढिक्री, अनदी चामलको भात, रोटी, अनदीको झोल, सुँगुरको सेकुवा, सिन्कीका परिकार, आलुको अचार लगायत रैथाने परिकार रहने उनले जानकारी दिए ।
००