२०८२ असार ९ गते सोमवार / Jun 23 , 2025 , Monday
२०८२ असार ९ गते सोमवार
Ads

कांग्रेस–एमालेले भन्दा बिचौलिया र दलालहरूले मलाई हटाए : प्रचण्ड

shivam cement
मध्यान्ह
२०८१ फागुन २ गते १७:१३
कांग्रेस–एमालेले भन्दा बिचौलिया र दलालहरूले मलाई हटाए : प्रचण्ड

दोलखा : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्रीबाट कांग्रेस–एमालेले नभई बिचौलियाहरूले हटाएको टिप्पणी गरेका छन् । 

दोलखाको जिरीमा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, ‘प्रचण्डलाई माओवादीको संख्या कम भएर कांग्रेस–एमालेले हटाए भनेर लागेको होला । तर, मलाई हटाउन कांग्रेस र एमालेका नेताहरूले भन्दा पनि भूमाफिया, बिचौलिया र दलालहरूले हटाएका हुन् ।’ 

उनले भने, ‘मैले गरेको काम दलाल पुँजीपतिहरूलाई मन परेन । मैले गरेको काम भ्रष्टाचारीहरूलाई मन परेन । प्रचण्ड नेतृत्वमा रहिरह्यो भने हाम्रो दिन सकियो भनेर भ्रष्टाचारीहरू डराए । भूमाफियाहरूलाई मन परेन । सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिका कामहरूलाई मन परेन । सेटिङमा काम गर्ने एक÷दुई दर्जन मान्छे छन् र बिना मेहनत करोडौँ लुट्छन् । उनीहरूले मेरो नेतृत्वको सरकार ढाले ।’ 

प्रचण्डले कांग्रेस–एमालेको नेतृत्व संविधान च्यातेर जनताका अधिकार उल्ट्याउनमा केन्द्रित रहेको आरोप लगाए ।

‘एमाले नेतृत्व र कांग्रेसका एकथरिले संविधानको प्रस्तावना र धारा उपधारामा माओवादी नै माओवादी देख्ने गरेका छन्,’ अध्यक्ष प्रचण्डले भने, ‘उनीहरू संविधान संशोधन होइन, कुनै पनि बहाना गरेर यो संविधान उल्ट्याउन चाहन्छन् ।’

२/२ पटक संविधान मिचेर संसद विघटन गरेको घटना यसकै उपज रहेको स्मरण गराउँदै उनले अहिले पनि यही प्रवृत्ति र प्रयास नरोकिएको बताए ।

‘मलाई सरकारबाट हटाउँदा संविधान संशोधनलाई मुख्य एजेण्डाको रुपमा अघि सारिएको थियो तर अहिले आएर प्रधानमन्त्रीले नै २०८७ मा मात्रै संविधान संशोधन हुने भन्न थालेका छन्’ प्रचण्डले भने, ‘यसबाट उनीहरू संविधान संशोधनमा इमान्दार छैनन् भन्ने देखिन्छ ।’

संविधान बनाउनै पर्ने बाध्यताका कारण आफ्ना मुद्दाहरूलाई फरक मतको रूपमा राखेर सम्झौतामा अघि बढेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डा अघि बढाउने बताए ।

आफू तेस्रोपटक प्रधाननमन्त्री हुँदा सुशासन, सामाजिक न्याय र समृद्धिको ऐतिहासिक अभियान थालनी गर्न पाएकोमा गर्व महसुस भएको प्रचण्डको भनाइ छ ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise