-रेवती त्रिपाठी
साहित्यिक कृतिको समीक्षा गर्ने हैसियत आफूमा नहुँदा नहुँदै पनि कहिलेकाहीँ परिबन्दमा परेर नसकिने काम पनि गर्नुपर्दो रहेछ । यथार्थमा पढ्दै गर्दा के लहडले टिपेको टिपोटले समीक्षाको रूप धारण गरेपछि साहित्यिक कृतिको समीक्षक हुने अवसर जुट्यो ।
सर्वप्रथम चेतनाथ आचार्यको उपन्यास ‘रूइवा’ पढेपछि सानो टिप्पणी लेखेर फेसबुकमा पोस्ट गरेको, चेतनाथजीलाई मनपरेछ, त्यसलाई अलि विस्तृत पार्न भन्नुभयो र अनलाइन पत्रिकामा छापियो ।
आफूले जीवनको उर्वर उमेर बिताएको निजामती सेवाभित्रको विकृतिको पर्दाफास गरेको प्रकाश तिवारीको ‘९६ गड्डी’ उपर टिप्पणी नलेखी मनले मानेन । त्यो टिप्पणी अर्को अनलाइन पत्रिकामा छापियो । ‘९६ गड्डी’ उपन्यास उपरको छलफल कार्यक्रममा प्रज्ञाप्रतिष्ठानमा पहिलो पटक प्रत्यक्ष भेट भएको अवसरमा अनिता कोइरालाले आफ्नो पहिलो उपन्यास ‘उज्यालो औंसी’ उपहार दिनुभयो ।
सित्तैमा कृति पढेपछि त्यसको पैंचो नतिरी मन मानेन । पढेर सानो टिप्पणी लेखौंला भन्ने सोचेको, व्यस्तताले गर्दा पढ्नै भ्याइएन । हात परेको १ महिनापछि भर्खर उपन्यास पढेर सानो टिप्पणी लेख्न बसें ।
साहित्यका विभिन्न विधामध्ये कसैलाई कथा मनपर्ला, कसैलाई कविता अनि कसैलाई निबन्ध । मलाईचाहिँ समाजलाई प्रतिबिम्बित गर्ने कार्यमा साहित्यका विविध विधामध्ये उपन्यास नै सबैभन्दा सशक्त माध्यम हो भन्ने लाग्छ ।
आख्यान, चाहे उपन्यास होस् वा कथा, लेखकले यसको नायकमार्फत आफूले समाजमा दिन खोजेको सन्देश जति सशक्त ढंगले दिन सक्छ, आख्यानकार उत्तिकै सफल हुन्छ । आख्यान भन्दैमा यथार्थबाट पर हुनुपर्छ भन्ने पनि हुँदैन बरू यथार्थलाई शिल्पको प्रयोग गरेर रोचक बनाएर प्रस्तुत गरिन्छ ।
कोइरालाको उपन्यास ‘उज्यालो औंसी’ म पात्रमार्फत समाजलाई दिन पर्ने सन्देश दिन र सामाजिक कुरीति, आफ्नो अभीष्ट पूरा गर्न अर्काविरुद्ध गरिने षड्यन्त्र र अपराधविरूद्ध दह्रो झापड हान्न सफल भएको छ ।
सिंगो उपन्यास ‘उज्यालो औंसी’ म पात्रको वरिपरि घुमेको छ । म पात्रमार्फत उपन्यासकारले भ्रुणावस्थामै बुबाको हत्याको कारण र पृष्ठभूमिको वर्णन गर्न सफल छन् । गर्भावस्थामै विभेदको सिकार भएकी उनलाई जन्मपछि सामाजिक कुरीति र विद्यमान विभेदपूर्ण व्यवहारको कारण भोग्नुपरेको विभेद, लाञ्छना र दोषबाट गाल्ने प्रयत्न गर्छ समाजले । त्यसबाट उनको मानसिक विकासमा परेको बाधा, उत्पन्न उद्दण्डता, उतारचढाव, उनको अनुभूति बुझिदिने विद्यालयमा यादव सर अनि विद्यालयमा पढाउने लालबहादुर सरको उनीप्रतिको सहानुभूतिपूर्ण व्यवहार जस्ता कुराहरू बडो रोचक ढंगले प्रस्तुत गरिएको छ ।
भ्रूणमै रहँदाको अवस्थामा बुबासँगको संवाद र सेतो घोडामा विचरण जस्ता स्वप्नचित्र (फ्यान्टासी)को प्रयोग सशक्त ढंगले गरिएको छ ।
एकातिर छोरीलाई सन्तान भन्दा बोझ सम्झने सामाजिक परिवेश अनि अर्कातर्फ उनी गर्भमा रहँदा बुबाको हत्या । बुबाको हत्याको पृष्ठभूमि राजनीतिक प्रतिशोध थियो कि रंगनाथको व्यक्तिगत दुष्मनी ? त्यसको उत्तर समग्र उपन्यासको अध्ययनपछि पनि अझै रहस्यकै विषय बनेको छ ।
नायिकाका पिता रघु एक समाजसेवी र गरिबहरूका विधाता थिए भन्ने कुरा धुनी ताप्ने क्रममा साहिँलीले गरेको वर्णन र नायिकाका काका माधवले सुनाएका रघु र रंगनाथबीच आसामी उठाउने क्रममा रंगनाथले गरेको हर्कतका विश्रद्धको उनको अडान र व्यवहारको कथाले पुष्टि गर्छ । रंगनाथले असामीहरूप्रति गरेको निर्दयी व्यवहार देख्न खप्न नसकेका रघुले गरिब असामीहरूलाई गरेको उद्धार नै रघुको हत्याको कारण हुन सक्ने निचोड उपन्यासको कथाबाट निकाल्न सकिन्छ ।
सामन्ती प्रवृत्तिका व्यक्तिहरू व्यक्तिगत रिसइवी साध्न अमूक सशस्त्र दलमा जोडिने र आफ्नो बाटाका काँडा पन्छाउन आफ्ना विरोधीलाई सामन्तीको आरोप लगाएर सफाया गर्ने प्रवृत्तिलाई पनि उपन्यासले उजागर गरेको छ ।
म पात्र गर्भमा रहँदा नै पिताको हत्याको सम्पूर्ण रहस्य थाहा पाएको, काल्पनिकीलाई यथार्थ जस्तै वर्णन गर्न सक्नु उपन्यासको सशक्त पक्ष हो । यो उपन्यास पढिरहँदा इम्यान्युयल कान्टको वास्तविक वा बौद्धिक संसार (इन्टलिजिवल वर्ड)को अस्तित्वलाई उपन्यासमा सशक्त रूपमा प्रयोग गरेको देख्न सकिन्छ । कान्टका अनुसार हाम्रा इन्द्रियले अनुभूत गर्ने संसार अर्थात् फेनोमेनल वर्डदेखि बाहेक अर्को इन्टलिजिवल वर्ड वा विचारको संसार पनि छ, जुन भौतिक संसारभन्दा बढी विश्वासयोग्य छ । त्यहाँ सत्य मात्र हुन्छ ।
कान्टको दर्शनमा जस्तै उपन्यासको म पात्रलाई पनि भौतिक संसारभन्दा काल्पनिक संसार वा बौद्धिक संसार बढी प्रिय लाग्छ । जब उनी आँखा चिम्लेर ध्यानमग्न हुन्छिन् वा काल्पनिक संसारलाई नियाल्छिन्, तब संसार उज्यालो देख्छिन् । जब उनको ध्यान कसैले भंग गरिदिन्छ, उनी अस्वाभाविक व्यवहार देखाउन थाल्छिन् ।
यो काल्पनिकीमा उनी रमाउनुको कारण सुरुमा उनलाई बाबुटोकुवीको लाञ्छना, बाबुको मायाको अभावपछि ध्यान गर्दा प्राप्त हुने तत्त्व ज्ञान र आनन्द हो भन्ने देखिन्छ ।
उनी जता जान्छिन्, विभेद मात्र देखिन्छ । छोरो जस्तोसुकै भए पनि कुलको शान हुने, छोरीचाहिँ दुःखको भकारी । छोरीको जन्म नै पूर्वजन्मको पापले हुने जस्ता (पृष्ठ : ४१) कुराले उनलाई भाउन्न हुन्छ, जसले गर्दा उनमा दाजुप्रति इष्र्या र रिस उठ्छ । पानीमा पौडिरहेको दाजुलाई मर्नेगरी ढुंगाले हिर्काउँछिन् ।
उनले आँखा चिम्लेर प्राप्त गरेको अनुभूति सुनिदिने ३ जना पात्रहरू छन्– यादव सर, आफ्नै आमा र कलेजमा नेपाली पढाउने लालबहादुर सर । यादव सरले उनका कुरा सुनिदिएर विज्ञानको रहस्य बुझाइदिएका कारण उनी आफू सत्य भएको आभास हुन्छ । आमाले आमा र बाबु दुवैको भूमिका निर्वाह गरेर हुर्काएको, उनका सयौं उट्पट्याङ कामहरू सहेर गरेको सम्भार अनि कलेज पुगेपछि नेपाली सरले दर्शाएको माया उनको व्यक्तित्व विकासमा महत्त्वपूर्ण कडी हुन्छन् ।
उपन्यासमा म पात्रले जीवनमा भोग्नुपरेका सास्ती, अवहेलना, विभेद र त्यसको कारण आएका उतारचढाव, संघर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ । उपन्यासमा विज्ञानको चमत्कार र पूर्वीय वैदिक दर्शनका सृष्टि, आत्मा, परमात्मा, बन्धन र मोक्ष, भ्रम र ब्रह्म चिन्तनको फ्युजन छ ।
यादव सरले गरेको ब्रह्माण्डको वर्णन अनि उनले आँखा चिम्लेर देख्ने गरेको दृश्यका बीच तादात्म्य देखाउने प्रयास उपन्यासले गरेको छ । उनले आँखा चिम्लेर गरेको अनुभूति र देखेको दृश्य अरूलाई सुनाउँदा कसैले बुझिदिँदैन तर आमाले सुनिदिन्छिन् । यसले उनमा आत्मविश्वास जगाउँछ ।
उनी आमालाई आफ्नो अनुभूति सुनाउँछिन् र भन्छिन्, ‘मैले आँखा बन्द गर्दा आकाशमा ताराहरूको संसार देखेको साँच्चै थियो, उज्यालोको रिङभित्र हराएको पनि सत्य थियो । उज्यालो सुरुङभित्र एकपछि अर्को अद्भुत दृश्यहरूले मलाई तान्दै लगेको जम्मै कुरा सत्य हो आमा ! मैले झुटो बोलेको होइन । बनावटी त झन् हुँदै होइन ।’
आमा साँच्चै महान् हुन् र हुन्छन् । उपन्यासले आमाको सहनशीलता, धैर्य र सन्तानको भविष्यका लागि गरेका समर्पण अर्को महत्त्वपूर्ण पक्ष देखाउने प्रयत्न गरेको छ । उनको जीवन आमाकै कारण सार्थक बनेको, हरेक कार्यमा आमाको हौसला र प्रेरणा प्राप्त गरेको देखाइएको छ ।
‘अँध्यारो औंसी’ पिताप्रति समर्पित उपन्यास हो । पिताको हत्या, पितृ स्नेहबाट विमुख हुनुपरेको पीडा, त्यसले उनको परिवार र उनको चौतर्फी विकासमा परेको व्यवधान, पितृ स्नेहको अभावमा उनको बाल्यकालमा आएको उतारचढाव उपन्यासको हरेक अध्यायमा प्रतिबिम्बित भएका छन् ।
पिताको हत्या गर्ने समूहले उनलाई सामन्तीको पगरी गुथाएर गरेको भन्ने देखिन्छ । तर, उनको व्यवहार गरिबमुखी र सामन्तविरोधी थियो भन्ने कुरा साहिँलीलगायत छरछिमेकीको भनाइ र स्वयं माधव काकाले सुनाएका अनुभूतिबाट उनी गरिबप्रेमी र दयालु स्वभावका थिए भन्ने देखिन्छ ।
क्रान्तिको नाममा गरिने निर्दोष र समाजसेवीको हत्या, आफ्ना विरोधीको सफाया गर्न फैलाएको अफवाहलाई चिर्ने प्रयत्न उपन्यासले गरेको छ । उपन्यासकारले यदि सामन्त भन्ने पदवी यस्तै दयालु र उदारमनालाई दिइने हो भने आफू पनि सामन्त बन्न चाहेको धारणा उपन्यासमा व्यक्त गर्छिन् ।
उपन्यासको सबैभन्दा महत्त्वपूर्ण पाटो यसको दार्शनिक पक्ष हो । कान्टको अभौतिक वा चेतनाको संसार (इन्टलिजिवल वल्र्ड)को परिकल्पनालाई उपन्यासले सशक्त रूपमा प्रस्तुत गर्न सकेको छ । भ्रुण, टुहुरी बालिका र एउटी पितृ वात्सल्यबाट बञ्चित किशोरीको मुखबाट मुखरित गर्न सक्नु उपन्यासकारको सफलता हो ।
उनी आफैंमा सक्षम र आत्मनिर्भर नहुँदासम्म उनका लागि यो भौतिक संसार अँध्यारो थियो । जब उनी आँखा चिम्लेर ध्यान र विचार गर्थिन्, तब सारा अँध्यारोलाई उज्यालोले पराजित गथ्र्यो । सूर्य उनका लागि अँध्यारो तर आँखा चिम्लेपछि उज्यालो देखिने हुँदा उनका लागि औंसी उज्यालो हुनु स्वाभाविक हो । तसर्थ, ‘उज्यालो औंसी’ शीर्षक सार्थक छ ।
प्रस्तुत उपन्यास अनिता कोइरालाको पहिलो उपन्यास भएकाले सामान्य कमजोरी स्वाभाविक नै हुन् । अखबारी लेखनमा जमेकी लेखिका अनिता कोइराला अब साहित्यमा पनि त्यसरी नै जम्न सकून् । समाजले उनीबाट गर्न सक्ने अपेक्षा यही हो ।