विराटनगर : कोशी प्रदेश सरकार गठन भएको ७ वर्ष पुरा भएको छ । कोशीमा २ फागुन २०७४ मा शेरधन राईको नेतृत्वमा पहिलोपटक सरकार गठन भएको थियो । त्यतिबेला हालको कोशी प्रदेश तत्कालीन प्रदेश १ थियो ।
कोशी प्रदेशमा ७ वर्षको अवधिमा ९ वटा सरकार बनेका छन् । पहिलो कार्यकालमा ३ वटा सरकार बनेका थिए । दोस्रो कार्यकालको २ वर्षको अवधिमा ६ वटा (सर्वोच्च अदालतबाट अवैधानिकसहित) सरकार बनेका छन् ।
सरकार परिवर्तन भइरहने अस्थिर राजनीतिले जनमानसमा वितृष्णा बढाएको छ । प्रदेश दिवसको अवसरमा शनिबार प्रदेश सरकारले ७ वर्षको उपलब्धि सार्वजनिक गरेको छ ।
कोशी प्रदेशमा सरकार गठन भएको ७ वर्ष पूरा भएको अवसरमा प्रदेश सरकारले २ सय ३८ बुँदे उपलब्धि सार्वजनिक गरेको हो । उपलब्धि अनुसार पछिल्लो ७ वर्षमा ७५ वटा कानुन निर्माण भएका छन् । आर्थिक वर्ष २०७४–०७५ देखि २०८०–८१ सम्म प्रदेशका लागि २ खर्ब २९ अर्ब बजेट विनियोजन भएको थियो । चालु आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाखको बजेट छ ।
७ वर्षको अवधि १ खर्ब ६८ अर्ब ३९ करोड बजेट प्रदेशले खर्च गरेको छ । जसमध्ये पुँजीगत खर्च ९६ अर्ब ६९ करोड हो । स्थानीय तहमा २३ अर्ब १० करोड अनुदान हस्तान्तरण गरेको थियो । २०७४–०७५देखि २०८१–०८२ को पहिलो त्रैमाससम्म ४ सय ५३ किलोमिटरका बहुवर्षीय सडक, १ हजार ३ सय ९० किलोमिटर ग्राभेल र ६ सय ८ किलोमिटर सडक कालोपत्रे भएको छ । सोही अवधिमा ९३ वटा पक्की पुल र २ सय २२ वटा झोलुंगे पुल पनि निर्माण भएको उपलब्धी सरकारले सार्वजनिक गरेको छ ।
यस अवधिमा १ सय १३ वटा सामुदायिक भवन, २८ वटा सरकारी भवन, १६ वटा एकीकृत वस्ती निर्माण भएको छ । यस्तै, जनता आवास कार्यक्रमअन्तर्गत ७ हजार २ सय ८४ वटा घर निर्माणसहित २ वटा भ्यू टावरलगायतका संरचना बनेका छन् ।
संघीय सरकारले अहिलेसम्म प्रदेशलाई प्रहरीको अधिकार हस्तान्तरण गरेको छैन । तर, कोशी सरकारले सुरक्षा निकायलाई सहयोग गर्नेदेखि प्रहरीको संरचना बनाइदिने तथा सवारीसाधन खरिद गरेर हस्तान्तरण गर्ने काम गरिरहेको छ । प्रदेश सरकारले ७ वर्षको अवधिमा सुरक्षा निकायको भौतिक संरचना निर्माणका लागि १ अर्ब १२ करोड बजेट खर्च गरेको छ । यो बजेटबाट ९७ वटा प्रहरी कार्यालयको भवन निर्माण भएको छ । २ वटा निर्माणाधीन अवस्थामा छन् ।
प्रहरीलाई ३ सय ७० थान मोटरसाइकल, १० थान स्कुटर, ६ थान डोमिनट साथै १५ वटा चार पांग्रे सवारीसाधन सरकारले उपलब्ध गराएको छ । सशस्त्र प्रहरीका लागि १८ वटा बोर्डर आउट पोस्ट (बीओपी) निर्माण गरिएको छ । सशस्त्र प्रहरी बल नेपाललाई ७० थान मोटरसाइकल र राष्ट्रिय अनुसन्धानलाई १५ थान मोटरसाइकल उपलब्ध गराएको छ ।
२०७६ माघमा कोशीको लोकसेवा आयोग गठन भएपछि अहिलेसम्म स्थानीय सरकारी सेवातर्फ ४ हजार ४३ पद संख्यामा विज्ञापन गरी २ हजार १ सय १४ जनालाई पदपूर्तिका लागि सिफारिस गरिएको छ ।