-सुशील पौडेल
अहिले देशमा कोभिड १९ को महामारी सँगै अनलाइन, खुला तथा दूर सिकाइ शैक्षिक प्रणालीले व्यापक चर्चा पाएको छ । अनलाइन प्रणालीबाट विभिन्न शैक्षिक संस्थाहरुले वैकल्पिक रुपमा पठनपाठन गराइरहेको अवस्था पनि छ । यसै महामारीसँगै नेपाल खुला विश्वविद्यालयको प्रचारप्रसार पनि तिव्र गतिमा भइरहको छ ।
नेपाल खुला विश्वविद्यालय परम्परागत उच्च शिक्षा प्रणालीमा समाहित भई उच्च शिक्षा अध्ययन गर्ने अवसरवबाट बन्चित समूहलाई उच्च शिक्षा अध्ययनको अवसर उनीहरुको पायक पर्ने स्थान, समय र सिकाइको गतिमा उपलब्ध गराउने, विभिन्न विधिमा ज्ञान, सीप र दक्षताले परिपक्व, दिगो विकासका लागि तयार सचेत तथा सहअस्तित्वको भावनायुक्त नागरिकहरुको उत्पादनमा आधुनिक सूचना प्रविधिको प्रयोग गरी विद्यार्थी केन्द्रीत तथा अनुसन्धानमा आधारित शिक्षण सिकाइ विधिबाट अध्ययनको अवसर उपलब्ध गराउने, सफल जिवनका लागि सिपयुक्त नागरिक बन्न पाउने मौलिक हकको कार्यान्वयनमा जीवनपर्यन्त शिक्षाको विकास र विस्तार गरी राज्यलाई सहयोग गर्ने, (नेपाल खुला विश्वविद्यालय, कार्यक्रम परिचय) वृहत उद्देश्य लिएर नेपाल खुला विश्वविद्यालयको स्थापना भएको हो ।
वर्तमान नेपाल खुला विश्वविद्यालयको गतिलाई मापन गर्दा उच्च शिक्षाको विकासमा नेपाल खुला विश्वविद्यालयको महत्वपूर्ण भूमिका रहने देखिन्छ । बामे सर्दै गरेको नेखुविको देशमा कति प्रतिशत भूमिका रहेको छ भन्न ठ्याक्कै नसकिएपनि यसको भविष्य निकै उज्जल रहेको अनुमान लगाउन गाह्रो छैन ।
वि.स २०७३ पछि नेखुविको प्रारम्भ भएको हो र नविनतम् प्रविधिको प्रयोग गरी नेपालका दुरदराजसम्म शिक्षाको ज्योति फैलाउने वृहत उद्देश्यसहित यस विश्विद्यालयको पारम्भ भएको हो ।
स्थापनको २, ३ वर्ष पुगेको अवस्थामा यस विश्वविद्यालयमा ३ संकाय सञ्चालनमा रहेका छन जसमा विज्ञान, स्वास्थ्य तथा प्रविधि संकाय, सामाजिक शास्त्र तथा शिक्षा संकाय र व्यवस्थापन तथा कानून संकाय रहेको छन् । जसमा हाल एमफिल तहदेखि स्नातकोत्तर तह र स्नातक तहसम्म सञ्चालनमा रहेका छन् ।
पेशागत संलग्नता, आर्थिक विपन्नता, भौगोलिक विकटता, पारिवारिक संलग्नता तथा अन्य कारणले परम्परागत उच्च शिक्षा प्रणालिमा नसमेटिएका र अध्ययनलाई बीचमै छाडेर रोजगारका लागि विदेसिन बाध्य युवा युवती तथा शिक्षाको अवसरबाट बन्चित वा शिक्षा आर्जनका नयाँ उपायको आवश्यकता बोकेका जनसमुदाय यस नेपाल खुला विश्वविद्यालयको लक्षित समूह हुन् । यी समूहलाई आफ्नै अनुकुलको समय स्थान क्षमता र गतिमा प्राकृतिक रुपमा र प्रविधिको संयोजनमा स्वअध्ययन र स्वअभ्यासबाट सिक्ने परिवेशको सिर्जना यस नेपाल खुला विश्वविद्यालयले गरेको छ ।
मुलतः यसको सेवाग्राही समूह परम्परागत विश्वविद्यालयमा अवसर प्राप्त गर्न नसकेका र विशेषत सीमान्तकृत समूह हुन् र यी समूहलाई उच्चशिक्षा प्रदान गर्ने वसर विश्वविद्यालयले सीमित रुपमा भएपनि प्रदान गरिरहेको छ । स्रोतसाधनको सीमितताका कारणले विश्वविद्यालयले ठूलो संख्यामा विद्यार्थीहरु अध्यापन गराउन सकेको छैन । सबैका लागि पहुँच दिन शैक्षिक कार्यक्रमहरुको विविधिकरणका अर्को मुख्य पाटो हो ।
यसर्थ विश्वविद्यालयले साधारण तथा प्राविधिक व्यावसायिक दुवै किसिमका शैक्षिक कार्यक्रमहरुको सुरुवात गरको छ । विश्वविद्यालयले यसलाई अझ विस्तार गर्दै लैजाने रणनीति लिएको छ । नेखुविले कृषि, उद्योग, व्यापार एंव स्वास्थ्यलगायत अन्य विषय क्षेत्र एंव सम्बन्धित सीपयुक्त पेशागत र प्राविधिक कार्यक्रमहरु सञ्चालन गरी जिवनपर्यन्त शिक्षको अवसर उपलब्ध गराउनुका साथै ज्ञानको अद्यावधिकता र पुर्नसीप प्रदान गर्ने कार्यक्रम तयार गरीरहेको छ । विश्वविद्यालयले ज्ञानको साझा र सहज उपभोगका लागि विस्तारै केहि कोर्षहरु सवैका लागि खुला गर्ने लक्ष्य राखेको छ । ज्ञान र सूचनाहरु विद्युतीकृत डिजिटलाइज गरी सहज ढंगले केन्द्रीयतामार्फत सहज असिमित र अविरल प्रवाहित हुने व्यवस्था मिलाउने प्रयासमा विश्वविद्यालय छ । विद्यार्थीहरुको सिकाइ सहयोगका लागि इ–पूस्तकालय, प्रत्येक विद्यार्थीका लागि सहयोगी ट्यूटर, विद्युतीय सिकाइ व्यवस्थापन प्रणाली, भिडियो कन्फरेन्सिङ, विद्यार्थी सिकाइ समूह लगायत सिकाइ व्यवस्थापन कार्य विश्वविद्यालयले गरिरहेको छ । यी कतिपय नेपालको सन्दर्भमा नयाँ अभ्यास पनि हो ।
विश्वविद्यालयलाई नेपाल सरकारले तय गरेको संघीय ढाँचामा प्रादेशिक अध्ययन केन्द्रमा विस्तार गर्दै विद्यार्थी भर्ना दर बढाउनुपर्ने आवश्यकता छ । विश्वविद्यालयमा प्रयोगात्मक सीप दक्षता अभिवृद्धि गर्ने खालका कार्यक्रहरु सञ्चालन गर्नुपर्दछ । यावत समस्याहरुले अन्य विश्वविद्यालयको तुलनामा नेखुविलाई अझ परिकृत तथा भरपर्दो वैकल्पिक शैक्षिक संस्थाको रुपमा अगाडी बढाउनुपर्ने अवस्था रहेको छ । नेखुविमा नैतिकवान तथा क्षमतावान शिक्षक तथा कर्मचारीको व्यवस्था तथा पठपाठन शुल्क न्युन गराइ बढीभन्दा बढी विद्यार्थीहरु समेट्नु आजको आवश्यकता बनेको छ । कक्षाभारको आधारमा शिक्षक संख्या तथा पठनपाठन उपकरण ल्यापटप लगायतका प्रविधिको व्यवस्था गरिनुपर्दछ, अनुगमनलाई कडाइ गर्दै सुरुमै जानुपर्ने हुन्छ ।
विद्यार्थीहरुलाई शोधकार्य सम्पन्न गराउँदा नेपालको वर्तमान समस्या समाधान गर्ने खालको विषय शिर्षक दिइ कार्य गराउनुपर्दछ, जसले राष्ट्रको वर्तमान आवश्यकता समाधान गर्न सकोस । यसको लागि नेपाल सरकार र नेपाल खुला विश्वविद्यालयबीच समन्वय गर्नु आवश्यक छ ।
प्रविधिको प्रयोग गरी पठनपाठन गर्ने भएको हुँदा विश्वविद्यालयसँग बलियो डाटा सेन्टर हुनु आवश्यक छ भने नविनतम् पठनपाठन सामग्रीको उपलब्धता सहज हुनु पर्ने देखिन्छ । उच्चस्तरिय स्पीड भएको डाटा प्याकेज हुन आवश्यक छ । यसका लागि नेपाल टेलिकम तथा नेपाल सरकारसँग सहकार्य गर्नुपर्ने आवश्यकता रहन्छ । नेपाल खुला विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरुसँग पनि उच्च गुणस्तरिय डाटा हुनुपर्ने अवस्था छ । यसका लागि सरोकारवालासँग छलफल तथा परामर्श गरी निष्कर्षमा पुग्न जोड दिनुपर्दछ । विद्यार्थी सूचना व्यवस्थापन प्रणालीलाई चुस्त दुरुस्त राख्न उच्च गुणस्तरिय सम्बन्धित विषयमा जानकार विज्ञलाई नियुक्ति गरी चुस्त दुरुस्त राख्नुपर्दछ ।
शैक्षिक गुणस्तर कायम राख्दै वर्तमान देशको आवश्यकतासँग मेल खाने जनशक्ति उत्पादन गरी राष्ट्र निमार्णमा टेवा पु¥याउन सकेको खण्डमा नेपाल खुला विश्वविद्यालयको उज्वल भविष्य सुनिश्चित हुन्छ भन्नुमा दुइमत नहोला । यस विश्वविद्यालयमा प्रविधिमैत्री पदाधिकारी नियुक्ति गर्ने परिपाटीको सुरुवात हुनुपर्ने आवश्यकता रहेको छ । नेपाल जब पूर्णरुपमा डिजिटल प्रविधियुक्त हुँदै जान्छ तब नेखुविको भूमिका भविष्य झन् प्रभावकारी हुनेमा दुइमत नहोला ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies