
काठमाडौंः अनलाइनमार्फत सट्टाबाजी गराउने कार्यमा संलग्न रहेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका बस्ने मोरङ उर्लाबारी नगरपालिका–६ हाटखोला घर भएका २६ वर्षीय मोहन लुईटेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
सोसल मिडिया एण्ड अनलाइन पेमेन्ट प्ल्याटफर्ममार्फत अनलाइन जुवा खेलाइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई कागेश्वरी मनोहरा नगरपालिका–८ शिवचोकबाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा मोहनले अनलाइनमार्फत गेम रूम, गेम भल्ट, जुवा, लास भेगस लगायतका बेटिङ साइट मार्फत डिजिटल वालेट खोल्न लगाई विदेशी भुक्तानी संकलन गरी अनलाइन बेटिङ खेलाउने गरेको खुल्न आएको छ ।
साथै प्रहरीले उनको साथबाट मनिटर ३ थान, सिपियु १ थान, आइप्याड १ थान, बागमती प्रदेश ०२–०६० प ०६५६ नम्बरको मोटरसाइकल र नगद ३६ हजार रूपैयाँ समेत बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।