काठमाडौं : नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले कांग्रेस सत्तापक्ष भए पनि अहिले सरकारमा नरहेको टिप्पणी गरेका छन् ।
मंगलवार काठमाडौंमा नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरुले राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै नेता कोइरालाले यस्तो टिप्पणी गरेका हुन् ।
उनले भने, ‘सत्ता पक्षमा छौं तर सरकारमा छैनौं हामी । हामीले यो सरकारलाई खबरदारी गरिरहनुपर्ने आवश्यकता छ ।'
सरकारको कामकारबाही जे कुरामा चित्त बुझ्दैन त्यसमा खबरदारी गर्नुपर्ने उनले बताए ।
कोइरालाले केन्द्रदेखि गाउँपालिकासम्म संयन्त्रबाट शासन गर्ने काम भइरहेको र अब बिस्तारै वडामा पनि संयन्त्र बनाएर शासन गर्ने दुष्प्रयत्न भइरहेको बताए ।
उनले अहिलेको सरकार एमालेकरण भइरहेको त छैन भन्ने चिन्ता लागेको पनि सुनाए ।
संयन्त्रले सरकार चलाउने कुरा कम्युनिष्टहरु र साम्यवादी देशहरुमा मात्रै हुनसक्ने भन्दै उनले लोकतन्त्रमा त्यस्तो नहुने जिकिर गरे ।
नेता कोइरालाले सामाजिक सञ्जाल सम्बन्धी विधेयक मानिसको अभिव्यक्ति स्वतन्त्रताप्रति आघात पुग्नेगरी ल्याइएको बताए । नियमन गर्ने नाउँमा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न नपाइने उनले बताए ।
कुनैपनि हालतमा सरकारले संसदमा पेश गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता गरेर सम्बन्धित सरोकारवालहरुसँग छलफलपछि मात्रै पुनः ल्याउनुपर्ने उनको भनाइ थियो ।
नेता कोइरालाले राजनीतिक स्थायीत्वका लागि यो गठबन्धन बनाउन आफूहरूले पहल गरे पनि सरकारले संसदलाई छलेर अध्यादेश ल्याउने जमर्को गरिरहँदा लोकतन्त्र अफ्ठेरोमा परिरहेको बताए ।