तनहुँ : मुग्लिन–पोखरा सडकअन्तर्गत पृथ्वी राजमार्गको पूर्वी खण्डमा सडक विस्तार कार्य ७७ दशमलव ७ प्रतिशत भौतिक प्रगति भएको छ ।
पूर्वी खण्डमा पर्ने ४१ दशमलव ४५ किलोमिटर दूरी सडकमध्ये ७२ दशमलव १ किमी सडक कालोपत्र गरिएको हो । त्यसमा ३४ दशमलव ५ किमी ४ लेन र ३ दशमलव १ किमी २ लेन सडक कालोपत्र गरिएको हो । आयोजनाका अनुसार ४४ किमी सडकमा दोस्रो (अन्तिम चरण) को कालोपत्र भएको छ । त्यसमा १५ दशमलव ६ किमी ४ लेन र १२ दशमलव ७३ किमी २ लेन रहेको आयोजनाको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।
पहिलो चरणमा ६ सेन्टिमिटर मोटाइको सडक कालोपत्र गरिएको थियो । दोस्रो चरणमा ४ सेमी गरी कुल १० सेन्टिमिटरको सडक
कालोपत्र हुनेछ । जिल्लाको आँबुखैरेनी गाउँपालिकाको मार्कीचोकबाट ‘डबल लेयर’को कालोपत्र कार्य अघि बढाउनाका साथै कालोपत्र नगरिएका स्थानमा पनि काम सुरु गरिएको उनले बताए ।
‘दुईतर्फी सडकमध्ये एकतर्फी कालोपत्र भई बाँकी रहेका अर्को सडक साइडमा पनि कालोपत्रको कार्य अघि बढाइएको छ,’ उनले भने, ‘जिल्लाको सदरमुकाम दमौली खण्डमा अहिले सडक विस्तार कार्यले गति लिइरहेको छ ।’ पृथ्वी राजमार्गको पूर्वी खण्डमा पर्ने आँबुखैरेनी–जामुने १७ माघ २०७७ मा चाइना कन्स्ट्रक्सन कम्पनी कर्पोरेसनले छ अर्ब २१ करोड ३१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
२०८१ वैशाखसम्म काम सम्पन्न गर्नेगरी सम्झौता गरिएको थियो । हाल पुनः म्याद थप गरी निर्माण कार्यलाई निरन्तरता दिइएको छ । एसियाली विकास बैंक एडिबीको ऋण सहयोगमा चार लेनमा सडक विस्तार भइरहेको हो ।