विराटनगर : पूर्वमन्त्री मोहम्मद जाकिर हुसैनले नेपालका मुस्लिम समुदायको आर्थिक, सामाजिक र शैक्षिक स्तर उकास्न ठोस नीति, कार्यक्रम तथा पहलकदमीहरू आवश्यक रहेको बताएका छन् ।
मुस्लिम आयोगले विराटनगरमा आयोजना गरेको सचेतना कार्यक्रममा हुसैनले मुस्लिम समुदायको सामाजिक तथा आर्थिक सशक्तीकरणको विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले मुस्लिम समुदायको शैक्षिक अवस्था सुधार्न निःशुल्क तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने नीति आवश्यक रहेको बताएका छन् । मदरसाहरूको आधुनिकीकरण गरी मुख्यधारको शिक्षासँग समायोजन गर्नुपर्ने उनले बताए । विश्वविद्यालय स्तरसम्मको छात्रवृत्तिको व्यवस्था गरी मुस्लिम विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न प्रेरित गर्नुपर्ने उनले बताए ।
मुस्लिम समुदायका लागि उद्यमशीलता विकास तथा स्वरोजगार कार्यक्रम सञ्चालन गर्नुपर्ने, बैंकिङ तथा वित्तीय सहयोग प्रणालीलाई प्रवद्र्धन गरी मुस्लिम उद्यमीहरूलाई वित्तीय पहुँच दिनुपर्ने, कृषि, पशुपालन तथा साना उद्योगहरूमा लगानी बढाएर आर्थिक सशक्तीकरण गर्नुपर्ने उनले बताएका छन् । यस्तै मुस्लिम समुदायको हकअधिकारको सुनिश्चितताका लागि राजनीतिक सहभागिता आवश्यक रहेको उनले बताए । मुस्लिम समुदायलाई नीति निर्माणको स्तरमा प्रतिनिधित्व दिनुपर्ने, मुस्लिम आयोगको अधिकार क्षेत्रलाई फराकिलो पार्दै त्यसलाई निर्णयात्मक भूमिका दिनुपर्ने उनले बताए । मुस्लिम समुदायलाई सामाजिक न्याय, मानवअधिकार तथा कानूनी अधिकारको बारेमा सशक्त बनाउनुपर्ने, महिला सशक्तीकरणलाई प्राथमिकता दिँदै मुस्लिम महिलाहरूको शिक्षा, स्वास्थ्य तथा रोजगारीका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने उनले बताए ।
धार्मिक सहिष्णुता र अन्तरधार्मिक संवाद प्रवद्र्धन गरी समाजमा सकारात्मक सम्बन्ध बनाउनु आवश्यक रहेको उनले बताए । मुस्लिम समुदायको सामाजिक तथा आर्थिक विकासका लागि सरकारले विशेष नीति तथा कार्यक्रमहरू ल्याउनु आवश्यक रहेको हुसैनले बताए ।
सरकारी तथा गैरसरकारी क्षेत्रबाट मुस्लिम समुदायको सशक्तीकरणका लागि दीर्घकालीन सहयोग आवश्यक रहेको उनले बताए ।
मुस्लिम आयोगका अध्यक्ष शमीम मियाँ अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेश सांसद इसराइल मन्सुरी, हिरनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी लगायतको उपस्थिति रहेको थियो ।